माघे सङ्क्रान्ती

जानौं चाकु, तिल र तरुल खानुका स्वास्थ्यवद्र्धक फाइदा



Download our app to get more features

आज माघ १ गते अर्थात् माघे संक्रान्ति । बिहानै नुहाईधुवाई गरि यो पर्व मनाइँदैछ । माघे संक्रान्तिको दिन विशेष रूपमा घ्यू, चाकु र तिलको लड्डु खाने परम्परा छ । 

माघे संक्रान्ति मनाउनुको वैज्ञानिक कारणका साथसाथै स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक मानिन्छ । चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ भने काँचो घ्यू र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति पनि प्राप्त हुने आयुर्वेद डा. सविन दवाडीको भनाइ छ । 

आजको दिन खाइने यस्ता खानेकुराले शरीरलाई शक्ति दिनुका साथै, आवश्यक पोषकतत्वसमेत पूर्ण गरिदिन्छ । 

जाडो मौसममा शरीरमा अन्यबेलाको तुलनामा मोटाबोलिजम धेरै हुने र खाना रुच्ने हुन्छ । त्यस कारण जाडो मौसममा प्रायः मानिसलाई भोक पनि धेरै लाग्ने हुन्छ । माघे सक्रान्तिमा मासको दाल, घिउ र चामल मिसाइ पकाइएको खिचडी खाने चलन तराई र पहाडी भेगमा छ । खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई छालासम्बन्धी र अन्य रोग सन्चो हुन्छ । 

यसका साथै मास आजकै दिन खाइने पिडालु, सखरखण्ड समेत शरिरको लागि अत्यन्तै पोषक तत्व भएको खाने कुरा हो । पिडालुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड, क्याल्सियम हुने भएकाले  शरीरका लागि फाइदाजनक खानेकुरा हो । 

चाकु : सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ । चाकुमा हुने कालो पदार्थमा प्रशस्त आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ । डा. दवाडीले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने जानकारी दिए । बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने उनको सुझाव छ ।
बालबालिकालाई चिनीको साटो चाकु वा सक्खर दिन सके धेरै राम्रो हुने भन्दै उनले जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउनुपर्ने सुझाव बताउँछन् । 

त्यतिमात्र नभई चाकुको सेवनले पाचन प्रणाली पनि बलियो हुने हुँदा जाडो मौसममा चाकु खाँदा खाना अपच हुने समस्याबाट राहत मिल्ने डा. दवाडीले बताए । शरीरमा उर्जा र शक्ति प्रदान गर्ने काम चाकुले गर्ने हुँदा जाडो मौसममा नियमित चाकु सेवन गर्नुपर्ने भन्दै उनले विशेषगरी वृद्धवृद्धालाई चिसोबाट जोगाउन चाकु खान दिनुपर्ने बताउँछन् ।

तरुलः तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड हुने हुनाले यसलाई शक्तिवद्र्धक खाने कुराको रूपमा लिइन्छ । अन्य मौसमको तुलनामा जाडो मौसममा शरीरलाई न्यानो राखिराख्न धेरै शक्ति चाहिने हुँदा तरुलको सेवनबाट पूरा हुन्छ ।

तरुल रेसादार खानेकुरा भएकाले पनि हाम्रो शरीरमा कब्जियतको समस्या कम गर्न सहयोग गर्छ । तरुलमा मानव शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्वहरू म्याग्नेसियम, क्याल्सियम, फस्फोरस आदि पनि पाइन्छ । तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै फाइदा गर्छ । साथै तरुलमा हुने एन्टी अक्सिडेन्ट, भिटामिन सी, ई तथा बी क्यारोटिनले क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्छ । 

क्यान्सरको कारक तत्वको रूपमा रहेका फ्री रेडिकल्ससँग लड्ने काम पनि तरुलले गर्छ । चिसो आहारको रूपमा रहेको तरुल मधुमेह भएका बिरामीहरुले भने नखानु नै उचित हुन्छ ।

तिलको लड्डुः तिललाई हिन्दु धर्ममा पवित्र अन्नको रूपमा लिइन्छ । तिल हामीले खानुका साथै धार्मिक कार्यमा पनि प्रयोग गर्छौ । तिलको प्रयोग दुई तरिकाले विशेष गरि गर्न सकिन्छ । बियालाई खानाको रुपमा वा तेलको रुपमा । अचारमा मिसाएर विशेषगरी तिल खाने गरिन्छ भने तिलको तेलमा खाने कुरा बनाएर पनि सेवन गर्न सकिन्छ । 

तिलमा प्रशस्त मात्रामा क्याल्सियम र भिटामिन 'बी' बढी हुने हुनाले हाम्रो शरीरलाई उर्जा दिन्छ । तिलमा क्याल्सियम बढी हुने हुनाले गर्भवती महिलाका लागि फाइदाजनक हुन्छ । तिलमा हुने क्याल्सियमले बच्चालाई दूध चुसाउने महिलाहरूको लागिसमेत राम्रो हुन्छ । यस्तै तिलमा हुने क्याल्सियम हड्डीलाई बलियो बनाउने हुदाँ हड्डी सम्बन्धी बिरामी भएकाहरुलाई समेत तिलले फाइदा गर्न गर्छ । 

आयुर्वेदिक दृष्टिले हेर्दा तिलको सेवनले खोकिलाई कम गर्छ । तिल ढिला पच्ने भएकाले शरिरलाई लामो समयसम्म शक्ति दिइन्छ । यसले शरीरको कमजोरीपना पनि हटाउँछ । मुख गन्हाउने समस्या भएमा पनि तिलको सेवन फाइदाजनक हुन्छ । जाडोमा तिलको सेवनले शरीर तथा मस्तिष्क दुवैलाई फाइदा पुर्याउँछ ।

Last modified on 2020-01-19 11:52:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts