बिरामीका साथी: दिनरात नभनी उपचारमा खट्ने नर्स



Download our app to get more features

नर्सिङ क्षेत्र मानवीय सेवाका निमित्त सबै भन्दा ठुलो अवसर हो । नर्स र बिरामीको सम्बन्ध नङ र मासु जस्तै हो । यही कारण अस्पतालमा बिरामी भर्ना हुनासाथ उसको सम्पूर्ण रेखदेख र जिम्मेवारी नर्समा आउँछ । 

दिनरात नभनी नर्सहरु बिरामीको सेवामा खट्छन् । घरका सदस्य कुरुवाका रुपमा भए पनि कुन औषधि कुन समयमा खाने, आहार खाँदा के खाने कति मात्रामा खानेलगायत सम्पूर्ण काम नर्सले गर्छन् । यो कुरा कसैबाट लुकेको छैन । तर, तिनै नर्सलाई कसैले चिन्दैनन् । अस्पतालमा बसिन्जेल बिरामीले चिने पनि डिस्चार्ज भएर गइसकेपछि बिरामीले सँधै डाक्टर र अस्पतालकै गुनगान गाउँछन् । तर, नर्सले गर्ने काम र सेवा निकै नै सराहनीय काम हो । जसको महत्व हामी सबैले बुझ्नु पर्ने हुन्छ ।

‘सेवा नै धर्म हो’ मान्यताका साथ नर्सिङ पेशामा आउने ती हजारौं नर्सको महत्व के हो भन्नेबारे कसैले बुझ्दैनन् । हो, डाक्टरले भने अनुसार नर्सले बिरामीको औषधि, खानपानको ध्यान दिन्छन् तर, उनीहरुले गर्ने सेवाको कदर हतपत्त कतै कसैबाट गरिएको देखिँदैन । 

नेपालको सन्दर्भमा हेर्ने हो भने नर्सिङ पेशा यस्तो पेशा हो जहाँ सेवा अनुसारको पारिश्रमिक पनि हुँदैन । बेलाबेलामा सञ्चार माध्यममा नै आउने गर्छ नर्सिङ क्षेत्रमा लागेकाहरुको  पीडा कसैले सुन्दैन । र त आज नेपालमा हजारौं नर्सहरु लाखौं खर्चेर बेरोजगार बनेका छन् । या त विदेश पलायन भएका छन् । 

बिरामीले न्यानो साथ, सहयोग, माया र हेरचाह नर्सबाटै पाउछन् । नर्स नै यस्तो व्यक्ति हो जो बिरामीसँग सबैभन्दा नजिक हुन्छन् । तर, नर्सले गरेको कामको न अस्पतालबाट र सरकारबाट नै पाउनुपर्ने सम्मान पाएका छन् ।  अस्पतालमा हुने हरेक राम्रा काममा मुस्किलले १० प्रतिशतको जस नर्सले पाउँछन् भने नराम्रा जति दोष सबै नर्सलाई नै थोपारिन्छ ।

नर्सको यो पीडा र उनीहरुको अस्तित्वलाई जोगाउन र उनीहरुको पहिचान र योगदानको विषयमा ब्लुक्रस हस्पिटलले नर्सिङ दिवसको अवसरमा नर्सको भूमिका र महत्व के छ भन्ने सबैमा जानकारी दिने काम सुरु गरेको छ ।

हेरौं ब्लु क्रस हस्पिटलले तयार पारेको नर्सको काम र योगदान बारेको यो भिडियो :

Last modified on 2020-01-27 18:02:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts