विश्व क्यान्सर दिवस

पाठेघरको मुखको क्यान्सर: जानौं कारण र जोगिने उपाय



Download our app to get more features

आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । विभिन्न प्रकारका हुने क्यान्सर मध्ये महिलामा हुने पाठेघरको मुखको क्यान्सर बढ्दो छ । 

महिलामा मात्र हुने क्यान्सरको विषयमा चर्चा गर्दा शरीरको माथिल्लो भागबाट हेर्दा स्तन क्यान्सर, यौनीको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाठेघरको क्यान्सर, अण्डासयको क्यान्सर पर्दछ । तर स्तन क्यान्सर महिलामा मात्र नभई पुरुषमा पनि देखिन्छ । यो क्यान्सर पुरुषको तुलनामा महिलामा धेरै पाइन्छ । महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रुपमा रहेका छ ।

विश्वको आँकडा हेर्ने हो भने पाठेघरको मुखको क्यान्सरबाट करीब ५ लाख २८ हजार महिला प्रभावित भएको पाइन्छ । नेपालमा हालसम्म कुनै आँकडा छैन । तर अस्पतालको आँकडा हेर्ने हो भने सबैै क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सरमा रहेको छ । 

क्यान्सर हुने प्रमुख कारण हालसम्म पत्ता लाग्न सकेको छैन । सुर्तीजन्य पदार्थको सेवन, खानपान, जीवनशैली परिवर्तन, बंशाणुगत जःता कारण भएको पाइन्छ । तर पाठेघरको मुखको क्यान्सर सामान्यतया भाइरल संक्रमणले गर्दा हुन्छ । ह्युमन पापिलोमा नामक किटाणुको कारण हुने गर्दछ । यो संक्रमणलाई प्री क्यान्सर पनि भनिन्छ । पाठेघरको मुखमा बारम्बार संक्रमण हुने महिलामा ह्युमन पापिलोमा किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गरी त्यसलाई अनियन्त्रित बनाउँदा कोषिकाहरु बढ्न जान्छन् जसले गर्दा त्यो विःतारै क्यान्सरमा परिणत हुन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सरको जोखिम उच्च हुन्छ । जसले गर्दा यो क्यान्सर एक जनाबाट अर्कोमा सर्ने संभावना रहन्छ ।

पाठघरको मुखको क्यान्सर एउटा यस्तो क्यान्सर हो जुन क्यान्सर हुनु पूर्वनै थाहा पाउन सकिन्छ । जसका लागि भीआईए तथा प्याप स्मेयर टेष्ट गर्नुपर्ने हुन्छ । 

अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने प्याप स्मेयर टेष्ट गरेको पाइन्छ । तर नेपालमा ल्यावको गुणस्तरका कारण यो अपेक्षित प्रभावकारी छैन । कतिपय अवस्थामा नेगेटिभ रिपोर्ट आएको महिलामा समेत पछि गएर क्यान्सर भएको पाइएको छ । त्यसैले नेपालमा हाल भिआईए जाँच प्रभावकारी रुपमा लिइन्छ । नेपाल सरकारले पनि भिआईए टेष्टलाई नै अंगालेको छ । सरकारले यो टेष्टलाई हेल्थपोष्टसम्म लाने बताएको छ । भिआईए टेष्ट एक प्रकारको सरल जाँच गर्ने प्रविधि हो जसबाट तुरुन्तै रिपोर्ट आउँछ । यो जाँच जुनसकै समयमा पनि गर्न सकिन्छ । महिनावारी भएको समयमा एवं कम रगत बगेको अवस्थामा पनि गर्न सकिन्छ । समयमै संक्रमण पत्ता लगाउन सकेमा १० वर्षपछि हुनसक्ने पाठेघरको मुखको क्यान्सरको जोखिमलाई टार्न सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर हुने सम्भावना
३० वर्षभन्दा कम उमेरका महिलालाई यो क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । ४० वर्ष उमेरमाथिका महिला तथा महिनावारी बन्द भएका महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी रहन्छ ।
शारीरिक यौनसम्पर्क नभएका महिलामा यो क्यान्सर हँुदैन । पुरुषसँग शारीरिक यौनसम्बन्ध भईसकेका महिलालाई मात्र योे क्यान्सर हुने सम्भावना रहन्छ । पुरुषले धेरै महिलासँग असुरक्षित यौन सम्बन्ध राखेमा पनि महिलामा क्यान्सर सर्न सक्छ ।

किन हुन्छ पाठेघरको मुखको क्यान्सर ? 
– महिलाले धेरै पुरुषसँग असुरक्षित यौन सम्बन्ध राखेमा
– सानो उमेरमै विवाह गरेमा
– सानो उमेरमा यौन सम्बन्ध राखेमा
– धेरै बच्चा जन्माएमा
– सानो उमेरमा बच्चा जन्माएमा
– धेरै गर्भाधारण गरेमा
– सुर्तीजन्य पदार्थ तथा रक्सी सेवन गरेमा
– ५ वर्षभन्दा बढी समयसम्म परिवार नियोजनको चक्कि सेवन गरेमा

पाठेघरको मुखको क्यान्सरका लक्षणहरु :
सामान्यतया सुरुको अवस्थामा यो क्यान्सरले कुनै लक्षण देखाउँदैन । क्यान्सर फैलिसकेको अवस्थामा निम्न लक्षणहरु देखा पर्नसक्छ । 

► यौनसम्पर्क गर्दा रगत देखिने
► गन्हाउने पानी आउने
► पटक पटक संक्रमण भइरहने
► महिनावारी नभएको समयमा पनि रगत देखिने
► महिनावारी बन्द भइसकेका महिलामा पुन रगत देखा पर्ने
► पेट फुल्ने
► खुट्टा सुन्निने
► ढाड तथा कम्मर दुख्ने
► दिसा पिसाबमा परिवर्तन आउने

Last modified on 2020-02-04 07:16:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts