कोरोनाभाइरसको आशंकामा बुबालाई अलग्याएपछि एक किशोरको मृत्यु, दुई अधिकारी कारबाहीमा

चीन, २१ माघ । चीनमा कोरोनाभाइरस सङ्क्रमणको आशङ्कामा बुबालाई छोराबाट अलग्याइएपछि एक किशोरको मृत्यु भएको छ ।
एक व्यक्तिलाई सेरब्रल पोल्जी अर्थात् मस्तिष्कको पक्षाघात भएका छोराबाट अलग्याइएपछि ती किशोरको मृत्यु भएको हो । अपाङ्गता भएका ती १६ वर्षीय किशोरको स्याहारसुसार गर्ने अरू कोही थिएनन् ।
पिता र भाइबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो । सो अवधिमा उनलाई दिनमा दुई चोटि मात्र खुवाइएको बताइएको छ । ती किशोरको मृत्यु भएपछि दुई अधिकारीलाई पदमुक्त गरिएको छ ।
कारबाहीमा पर्नेमा चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय सचिव र हुएच्याहका नगरप्रमुख छन् । उनको परिवार कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तको बासिन्दा हो ।
कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि चीनमा कम्तीमा ४ सय २५ जनाको मृत्यु भइसकेको छ भने २० हजार जनाभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भएको छ ।
चीनबाहिर विभिन्न देशमा पनि सङ्क्रमित व्यक्तिहरू फेला परेका छन्। तर ती देशमा अहिलेसम्म फिलिपिन्समा एक जनाबाहेक अरूको मृत्यु भएको छैन ।
विश्व स्वास्थ्य सङ्गगठनले कोरोनाभाइरस सङ्क्रमण भएका मानिसको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ ।