दक्षिण कोरियामा कोभिड १९ बाट संक्रमित हुनेको संख्या बढ्दै, ९ हजार नागरिक क्वारेन्टाइमा



Download our app to get more features

बीबीसी, १० फाल्गुन । दक्षिण कोरियाले घातक नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ ।

त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिएको छ ।
 
प्रधानमन्त्री चुङ स्ये–क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन् ।

दक्षिणी सहरहरू डाएगु र चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ । डाएगुका सडकहरू अहिले प्रायः सुनसान छन् । परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ ।

दक्षिण कोरियाको स्थिति के छ ?
एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९ हजार सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन् ।

त्यहाँ शुक्रवार ५२ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ । अघिल्लो दिन ५३ मानिसमा सङ्क्रमण भएका बताइएको थियो ।

दक्षिण कोरियामा अब कुल १ सय ५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि भएको छ । चीनबाहिर र जापानको तटनजिकै रोकिएको एउटा क्रूज पानीजहाजमा भएका सङ्क्रमित मानिसको सङ्ख्यापछि त्यो ठूलो सङ्ख्या हो ।

यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको मृत्यु कोरोनाभाइरसका कारण भएको जनाएका थिए ।

ती पुरुष एउटा मानसिक स्वास्थ्य उपचार केन्द्रमा लामो समयदेखि उपचाररत बिरामी थिए । त्यहाँ उनीसहित अन्य १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।

अहिले अन्यत्रको स्थिति के छ ?
विश्वमा अहिलेसम्म ७६ हजार भन्दा बढी मानिसमा कोभिड–१९ भएको पुष्टि भएको छ भने २ हजार २४७ जनाको मृत्यु भएको छ ।

अधिकांश सङ्क्रमण र मृत्युका घटना चीनमा भएका छन् ।

चीनमा ७५ हजार जनामा सङ्क्रमण भएको र २ हजार २ सय ३६ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

उक्त भाइरस विश्वका विभिन्न देशमा पनि फैलिएको छ । एशिया, युरोप, अमेरिका र अफ्रिकामा केही व्यक्तिको मृत्यु पनि भएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts