युरोपमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढ्यो, एक दिनमा अहिलेसम्मकै सर्वाधिक



Download our app to get more features

बीबीसी, ३ चैत । कोरोनाभाइरस महामारीबाट नराम्ररी प्रभावित युरोपका तीन वटा देशबाट प्राप्त तथ्याङ्कमा उक्त भाइरसका कारण त्यहाँ एकै दिनमा मृत्यु हुने मानिसको सङ्ख्या अहिलेसम्मकै उच्च भएको देखिएको छ।

यूकेमा पनि एकै दिनमा ज्यान गुमाउने बिरामीको सङ्ख्या सर्वाधिक पुगेको छ। आइतवार १४ जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३५ पुगेको छ। महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप युरोपका देशहरूले नागरिकहरूको हिँडडुलमा प्रतिबन्ध लगाएका छन् तथा सीमामा कडाइ गरेका छन्।

जर्मनीले सोमवार बिहानदेखि फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, डेनमार्क र लक्सम्बर्गसँगको सीमामा नियन्त्रण गर्न लागेको छ। पोर्चुगलले पनि स्पेनसँगको सीमा बन्द गर्दैछ। चेक सरकारले काममा जान, आवश्यक सामग्री किनमेल गर्न र कसैलाई आकस्मिक रूपमा भेट्नुपरेमा मात्र जान पाइनेगरी आइतवार मध्यरातिदेखि हिँडडुलमा प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्ध मार्च २४ सम्म लागु हुनेछ।  अस्ट्रियामा पाँच जनाभन्दा बढी मानिस भेला हुन पाउनेछैनन्। रिपब्लिक अफ आयरल्यान्डमा मार्च २९ सम्म सबै मदिरालय बन्द गर्न निर्देशन दिइएको छ।  युरोपभरि विद्यालयहरू बन्द रहनेछन्। चीनबाट फैलिएको कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। उसले कोभिड(१९ लाई प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारी घोषणा गरिसकेको छ।

कोरोनाभाइरस कहाँकहाँ फैलिएको छ ?

सङ्कट कति गम्भीर छ भन्ने कुराको सङ्केत स्विट्जरल्यान्डमा २४ घण्टा भित्र सङ्क्रमित व्यक्तिको सङ्ख्या ८०० बाट २,२०० पुग्नुबाट पाइन्छ। त्यहाँ अहिलेसम्म कोभिड(१९बाट १४ जनाको मृत्यु भएको छ। सर्वाधिक सङ्क्रमण इटलीमा भेटिएको छ। त्यहाँ लोम्बर्डीमा मात्र २४,७४७ जना सङ्क्रमित भएका छन् र १,२१८ जनाको मृत्यु भएको छ। 

गत सोमवारदेखि सरकारले इटलीभरि मानिसहरूको आउजाउमा प्रतिबन्ध लगायो। त्यहाँ खाद्यान्न र औषधि पसलबाहेक अन्य सबै व्यावसायिक केन्द्र बन्द छन्। विद्यालय, व्यायामशाला, सङ्ग्रहालय, रात्रिक्लब र अन्य स्थान त्यसअघि नै बन्द गरिएको थियो। स्पेनमा ७,७५३ जनामा सङ्क्रमण देखिएको छ भने फ्रान्समा ५,४०० जनामा।  युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन्।

सङ्कटकाल घोषणा गर्दै स्पेनले सर्वसाधारण नागरिकलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ। शनिवार रातिदेखि फ्रान्समा रेस्टुराँ, क्याफे, चलचित्रघर र रात्रिक्लब तथा अत्यावश्यकबाहेक अन्य सबै व्यवसायहरू बन्द भएका छन्।

अन्यत्र कस्तो स्थिति छ ?
विश्वभरि अहिलेसम्म १,६२,६८७ मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। त्यसको झन्डै आधा ९८१,००३० चीनमा भेटिएका हुन्।  कोभिड(१९ बाट मृत्यु हुने मानिसको सङ्ख्या ६,००० नाघेको छ। त्यसमा आधा अर्थात् झन्डै ३,०८५ जनाले चीनमा ज्यान गुमाएका हुन् ।

दक्षिण अफ्रिकाले बुधवारदेखि कोरोनाभाइरसको महामारी फैलिएका देशका नागरिकलाई प्रवेश नदिने घोषणा गरेको छ।  त्यहाँ ६१ जनामा सङ्क्रमण देखिएपछि देशभित्र भाइरस फैलिन दिन सङ्घर्ष भइरहेको भन्दै राष्ट्रपतिले ुराष्ट्रिय प्रकोपको स्थितिु घोषणा गरेका छन्।  कोरोनाभाइरसको विश्वव्यापी प्रकोपले पारेका प्रभावबाट आफ्नो अर्थतन्त्रलाई जोगाउन अमेरिकाको केन्द्रीय ब्याङ्कले दुई सातामा दोस्रो पटक ब्याजदर घटाएको छ।

विश्व बजारमा उत्पन्न मन्दी घटाउन केन्द्रीय ब्याङ्कहरूले ब्याजदर कम गरिरहेका बेला अमेरिकी फेडरल रिजर्भले विश्वकै ठूलो अर्थतन्त्रलाई बचाउन पछिल्लो कदम चालेको हो। त्यो कदमको अमेरिकी राष्ट्रपतिले पनि स्वागत गरेका छन्।  कोरोनाभाइरस सङ्क्रमण रोकथामप्रतिको आफ्नो प्रतिक्रियाको लगातार आलोचना खेपिरहेका ट्रम्पले अहिले आफ्नो देशले निकै राम्रो गरिरहेको बताउँदै मानिसहरूलाई आत्तिएर धेरै नकिन्न र धेरै नथुपार्न आग्रह गरेका छन्। उनले किराना पसलहरूलाई पर्याप्त खाद्यवस्तु राख्न र ग्राहकलाई चौबिसै घन्टा सेवा दिन समेत आग्रह गरे।

अमेरिकामा ३,२०० भन्दा बढी मानिसमा सङ्क्रमण देखिएको छ भने ६२ जनाको मृत्यु भइसकेको छ। दक्षिण एशियाली देशहरूको सङ्गठन सार्कले कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गर्न एउटा कोष स्थापना गर्ने निर्णय गरेका छन्।  त्यसका लागि भारतले एक करोड डलर उपलब्ध गराउने घोषणा गरेको छ। उनीहरूले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  अहिलेसम्म भारतमा १०० जनाभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भएको छ। त्यहाँ दुई जनाको ज्यान गइसकेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts