कोरोना भाइरसको थप सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य सङ्गठनद्वारा आह्वान



Download our app to get more features

एजेन्सी, १४ चैत । नोवेल कोरोना भाइरसको थप संक्रमणबाछ बच्न विश्व स्वास्थ्य संगठनले आह्वान गरेको छ । 

संगठनले कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिँदै गएका कारण सबै नागरिक र मुलुकलाई सचेत भएर काम गर्न आग्रह गरेको हो ।

महामारीबाट जोगिन विश्वका सबै मानिसले डब्लुएचओले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन् । 

डब्लुएचओले क्रमशः पटक–पटक साबुनपानीले हात धुने, खोक्दा वा हाच्छयूँ गर्दा रुमाल वा कुइनोले मुख ढाक्ने, सामाजिक दूरी कायम राख्ने, सधैँजसो मास्कको प्रयोग गर्ने तथा स्यानिटाइजरको भरपुर उपयोग गर्न सार्वजनिक आह्वान गर्दै आएको छ । 

डब्लुएचओले महामारी रोग नियन्त्रण शाखाकी प्रमुख वेनिदेत्ता एलिग्रेन्जिले सन् २०२० मार्च १८ को अन्तिम दिन उक्त विषयमा सार्वजनिक भनाइ व्यक्त गर्दै गर्दा विश्वका १ सय ६४ देशमा महामारी फैलिसकेको थियो भने आठ हजार ५ सय ९३ व्यक्तिले ज्यान गुमाइसकेका र दुई लाख छ हजार २ सय ५० व्यक्तिमा सङ्क्रमण फैलिएको थियो । डब्लुएचओले नियमितरूपमा विश्वमा तीव्र गतिमा फैलिदै गइरहेको कोरोना भाइरसको अवस्था विवरण सार्वजनिक गर्दै आएको छ । सो तथ्याङ्क ‘विश्व स्वास्थ्य सङ्गठन अवस्था विवरण–५८’ मा उल्लेख गरिएको छ । 

चीनको हुवेइ प्रान्तको उहान शहरमा सन् २०१९ डिसेम्वर ३१ मा देखिएको कोरोना भाइरसबाट जोगिन डब्लुएचओले उक्त पाँच विधि १८ मार्च २०२० सम्म लगातार ७८ दिनसम्म सार्वजनिक गर्दै आएको छ । उक्त दिनसम्म पुग्दा आठ हजार ५ सय ९३ को मृत्यु भएको थियो भने १८ मार्चपछि सात दिनको अन्तरालमा अर्थात् २५ मार्चसम्म पुग्दा विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या कूल २० हजार ६ सय ४२ पुगेको छ । सात दिनमा सो मृत्युदर २ सय ४० प्रतिशत हुन आउँछ । २५ मार्च पुग्दासम्म कोरोना भाइरस १ सय ९६ देशमा फैलिसकेको र चार लाख ५४ हजार ८ सय ९१ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

मार्च २५ मा मात्र सङ्क्रमणको सङ्ख्या ४० हजार ७ सय १२ पुगेका छन् । सात दिनमा सङ्क्रमणको वृद्धिदर २ सय २० प्रतिशत र फैलावट १ सय २० प्रतिशत हुन आउँछ । २७ मार्चसम्म आइपुग्दा महामारी फैलिएको ८८ दिनहुन्छ । यस अवधिसम्म आइपुग्दा नेपालमा भने तीन व्यक्तिमा मात्र सङ्क्रमण देखिएको छ । एक जना नेपाली उपचारपछि घर फर्किसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणको अवस्थालाई बुझेर विश्व आपतकाल घोषणा गरेको छ । वल्र्डमिटरले मार्च २७ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमण १ सय ९९ देशका पाँच लाख ३१ हजार ६ सय ३० मा फैलिसकेको, २४ हजार ६५ को मृत्यु र एक लाख २४ हजार ३ सय ९१ उपचारपछि घर फर्किसकेका उल्लेख छ । नयाँ सङ्क्रमणको अवस्था तीन लाख ८४ हजार १ सय ७४ मा फैलिएको छ । तीन लाख ६४ हजार ६ सय १६ को अवस्था सामान्य छ । १९ हजार ५ सय ५८ को अवस्था चिन्ताजनक रहेको तथ्याङ्कमा उल्लेख छ । 

वल्र्ड मिटर संयुक्त राष्ट्रसङ्घ (युएन) डब्लुएचओ, खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्रा्ष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञ समूह सहभागी संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्ने गर्दै आएको छ । 

कोरोनो भाइरस देखिएको ८८ दिनसम्म आइपुग्दा सबैभन्दा धेरै मानिसको सङ्क्रमण अमेरिकामा देखिएको छ । आजका दिनसम्म पुग्दा अमेरिकामा सङ्क्रमण हुनेको सङ्ख्या ८५ हजार ३ सय ७७ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसअघि नै अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण तीव्रगतिमा फैलिनसक्ने् चेतावनी दिएको थियो । तर उसले सम्पूर्ण राज्य नै लकडाउन नगरेका कारण रोगको सङ्क्रमण फैलिएको चिकित्सकले बताएका छन् । मार्च २७ तारिखमा मात्र अमेरिकामा थप १७ हजार १ सय ६६ मा नयाँ सङ्क्रमण फैलिएको दाबी गरिएको छ । सोही दिन अमेरिकापछि स्पेनमा आठ हजार २ सय ७१, जर्मनीमा छ हजार ६ सय १५, इटालीमा छ हजार २ सय ३, फ्रान्समा तीन हजार ९ सय २२, इरानमा दुई हजार ३ सय ८९, बेलायतमा दुई हजार १ सय २९, स्वीटजरल्याण्डमा ९ सय १४, दक्षिण कोरियामा १ सय ४ र चीनमा जम्मा ५५ व्यक्तिमा नयाँ सङ्क्रमण देखिएको छ । 

अहिले यतिखेर विश्वका करोडौँ मानिस कोरोना भाइरसबाट जोगिन घरभित्र क्वारेन्टाइनमा सुरक्षित छन् । विश्व स्वास्थ्य सङ्गठनले भनेअनुसार सबै मानिसले घरभित्र आ(आफैले तोकिएको स्वास्थ्य सुरक्षा विधि अपनाउने हो भने कोरोना भाइरस क्रमशः नियन्त्रणमा आउने दाबी गरिएको छ ।

Last modified on 2020-03-27 12:12:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts