मात्र १० मिनेटमा कोभिड–१९ पत्ता लगाउने किट बनाउँदै अफ्रिका, एक डलरमा खरिद गर्न सकिने



Download our app to get more features

एजेन्सी, १५ चैत । विश्वव्यापी महामारी बनेको कोभिड–१९ अर्थान् नोवेल कोरोना भाइरसले तीव्र गतिमा मानिसलाई आफ्नो चपेटमा लिँदै गएको छ । ३ महिनाको अवधिमा भाइरसले संसारभरका झन्डै ६ लाख नागरिकलाई संक्रमित गरेको छ भने २७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यो अवस्थामा भने अहिलेसम्म भाइरसको कुनै ठोस औषधि वा खोप पत्ता लागेको छैन ।

नोवेल कोरोना भाइरसको लक्षण देखिन लामो समय लाग्ने भएकाले वैज्ञानिहरु अहिले कति सकिन्छ छिटो यसको लक्षणबारे पत्ता लगाउने प्रयासमा जुटिरहेका छन् । जति छिटो भाइरसको लक्षणबारे पत्ता लाग्न सक्यो मानिसले त्यसको उपचारपनि छिट्टै पाउने हुँदा मृत्यु हुने दर कम गराउन सकिन्छ भनेर वैज्ञानिकहरु प्रयासरत छन् । वैज्ञानिकहरुको यिनै प्रयासपछि कोभिड–१९ को लक्षण अमेरिकी एक डलर र १० मिनेटमा पत्ता लगाउने टेस्ट किट पत्ता लगाएका छन् ।

अफ्रिकाको सेनेगल र बेलायतका वैज्ञानिकहरुले मिलेर पत्ता लगाएका टेस्ट किटले यदि राम्रो नतिजा दियो भने जुनदेखि वितरण गर्ने तयारी गरेका छन् । 

अफ्रिकाको पास्चर युनिभर्सिटी डकारका निर्देशक अमादोउ सालले अहिले त्यो टेस्ट किट अफ्रिकामा दिने प्राथमिकतामा भएकाले त्यसपछि मात्रै अन्य मुलुकलाई दिनेगरि बनाउने योजना रहेको बताए । 

साल र उनका टिमले यसअघि अफ्रिकामा देखिएका एल्लो फिबर र डेंगु जस्ता रोगका लागि खोप बनाएका थिए । कोभिड–१९ को टेस्ट किटसँगै यसको भ्याक्सिनको विषयमा पनि साल र उनका टिमले अध्ययन अनुसन्धान सुरु गरेको छ । 

सालले यदि यो किटले काम गर्यो भने कोभिड–१९ लाई समयमै पत्ता लगाएर बिरामीको उपचारपनि समयमै हुने र मृत्यु दर कम गर्न सकिने हुनाले यसको उत्पादकत्व बढाउनका लागि स्थानीय उद्योगहरुसँग पनि समन्वय भइरहेको बताए । उनले यदि यो किट सफल भयो भने मात्र एक डलरमा खरिद गर्न सकिने पनि बताए । यसका लागि बेलायत सरकार र बील एण्ड मलिन्डा गेट्स फाउन्डेशनले सहयोग गरेको अन्तर्राष्टिर्य समाचार संस्था अल जजिरामा उल्लेख छ ।

यसअघि चीनले २० मिनेटमा कोभिड–१९ बारे पत्ता लगाउने किट बनाइसकेको छ ।     
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts