न्यूयोर्कलाई लकडाउन गर्नबाट पछि हटे ट्रम्प, भारतमा घर जाने भन्दै लाखौं मानिस सडकमा



Download our app to get more features

काठमाडौं, १६ चैत । विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ३० हजारभन्दा बढी पुगेको छ ।

पछिल्लो ३ महिनामा भाइरसका कारण संसारभर ६ लाख ६३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने एक लाख ४२ हजारभन्दा बढी स्वस्थ भएर घर फर्कि सकेका छन् ।

चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरस पछिल्लो समय युरोपलाई केन्द्र बनाउँदै अहिले संयुक्त राज्य अमेरिकालाई केन्द्र बनाएको छ । अमेरिकामा संक्रमितको संख्या एक दिनमा ४ गुणासम्म बढ्न थालेको छ । 
भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार पुगेको छ भने संक्रमित हुनेको संख्या एक लाख २२ हजार पुगेको छ । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क क्षेत्रमा लकडाउन नगर्ने निर्णय गरेका छन् । साथै उनले न्यूयोर्कमा क्वारेन्टाइन पनि नबनाउन आदेश दिएका छन् । उनले न्यूयोर्क क्षेत्रमा यात्रा नगर्न कडा निर्देशन पनि जारी गरेका छन् ।

अमेरिकामा दिनप्रतिदिन कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि न्यूयोर्कमा लकडाउन गर्न माग गरिएपनि राष्ट्रपति ट्रम्पले लकडाउन नगर्ने भएका छन् ।

यस्तै नोवेल कोरोना भाइरसका कारण इटलीमा मृत्यु हुनेको संख्या १० हजारभन्दा बढी पुगेको छ भने संक्रमितको संख्या ८५ हजारभन्दा बढी पुगेको छ । इटलीपछि सबैभन्दा बढी प्रभावित बनेको स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ६ सयभन्दा बढी पुगेको छ । 

यसैबीच, स्पेनकी राजकुमारी मारिया टेरेसाको नोवेल कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार मृत्यु भएको हो ।

उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन् । कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको हो । बेलायतका राजकुमार चार्ल्स पनि कोरोना भाइरस संक्रमणका बिरामी छन् ।  
यसैबीच चीनमा थप ४५ जना नयाँ कोरोना भाइरसका बिरामी फेला परेका छन् । 

यस्तै कोरोना भाइरसका कारण संक्रमित बनेकी क्यानेडेली प्रधानमन्त्रीकी श्रीमति सोफी ग्रेगोइर ट्रुड्यू स्वस्थ भएकी हुन् । उनले आफ्नो इन्टाग्राम मार्फत आफू पूर्ण स्वस्थ भएको जानकारी दिएकी छिन् ।

यस्तै भारतमा संक्रमितको संख्या एक हजारभन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या २४ पुगेको छ । यसैबीच भारत सरकारले गरेको लकडाउनको उल्लघंन गर्दै दिल्लीमा लाखौ नागरिक सडकमा उत्रेका छन् ।

घर फर्कन पाउँ भन्दै दिल्ली आनन्द बिहारका झन्डै २ लाखभन्दा बढी मानिसहरु शनिवार रातिदेखि नै सडकमा उत्रेका थिए । भिडभाड नगर्न भारत सरकारले निर्देशन दिएपनि आनन्द बिहारका मानिसहरु सडकमा उत्रेपछि दिल्लीका मुख्यमन्त्री र प्रधानमन्त्रीले घरमै बस्न भन्दै इटली जस्तो अवस्था नबनाउन आग्रह गरेका छन् ।

आनन्द बिहारमा हिजो मात्रै दुई जनामा कोरोना पोजेटिभ पाइएको छ । 

Last modified on 2020-03-29 10:56:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts