अपडेट

इटलीमा कोरोना उपचारमा खटिएका डाक्टरहरुको मृत्यु हुने संख्या सय पुग्यो



Download our app to get more features

बेलायत, २८ चैत । कोरोना पुष्टि भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनको स्वास्थ्य स्थिर बनेपछि उनलाई सघन उपचार कक्षबाट वार्डमा सारिएको छ । 

प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रिटले दिएको जानकारी अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि उनलाई वार्डमा सारिएको छ । 

५५ वर्षका जोनसोनलाई आइतवार बेलायतको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसबाट संक्रमित भएका प्रधानमन्त्री जोनसोनको स्वास्थ्य बिग्रिन थालेपछि उनलाई सघर उपचार कक्षमा राखेर उपचार हुँदै थियो । 

प्रधानमन्त्री जोनसोनमा गत मार्च २६ मा कोरोना भएको पुष्टि भएको थियो । त्यसपछि उनी सेल्फ आइसोलेसनमा थिए । तर, स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । 

यसैबीच, कोरोनाको उपचारमा खटिएका बेलायतका एक जना डाक्टरको व्यक्तिगत सुरक्षा उपकरणको अभावमा मृत्यु भएको छ । बेलायतको क्वीन एलिजावेथ अस्पतालमा कार्यरत  ५३ वर्षका अब्दुल ममुद चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ । डाक्टर ममुदले प्रधानमन्त्री जोनसोनलाई अग्रस्थानमा रहेर काम गर्ने स्वास्थयकर्मीका लागि  व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराउन भन्दै आएका थिए । 

यस्तै बेलायतमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण ८ सय ८१ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या ५८ हजार नाघेको छ ।

भारत
दक्षिण एसियामा चीनपछि सबैभन्दा प्रभावित बनेको भारतमा पनि एकजना डाक्टरको कोरोनाको कारण मृत्यु भएको छ । भारतको इन्दौर शहरमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर सत्रुद्धन पाञ्जवानीको बिहीवार मृत्यु भएको हो । फिजिसियन डाक्टर पाञ्जवानीमा कोरोना संक्रमितको उपचारको क्रममा कोरोना संक्रमण भएको बताइएको छ । भारतमा कोरोना संक्रमितको उपचारमा खटिएर मृत्यु भएका उनी पहिलो डाक्टर हुन् ।

भारतमा हालसम्म कोरोनाका कारण साढे ६ हजारको हाराहारीमा मानिसहरु संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ सय ९९ पुगेको छ । सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्र, दिल्ली, उत्तरप्रदेश, तमिलनाडु लगायतका केहि जिल्लालाई पूर्ण रुपले बन्द गर्ने भारत सरकारले तयारी गरेको छ ।

अमेरिका
युरोपपछि केन्द्र बनेको संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ हजार ५० नाघेको छ । तर, बिहीवार नयाँ संक्रमित हुनेको संख्यामा भने कमि आएको बताइएको छ । 

कोरोना भाइरसका कारण सबैभन्दा बढी संक्रमित हुनेको संख्या अमेरिकामा छ । बिहीवारसम्म अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या ४ लाखको नजिक पुगेको छ ।

स्पेनमा रहेका पाकिस्तानी नागरिकहरुले स्वास्थ्यकर्मीलाई घर र अस्पताल पुर्याउने काम गरिरहेका छन् । युरोपीयन मुलुक स्पेनमा इटलीपछि धेरै मानवीय क्षति भएको भएपनि संक्रमित हुनेको संख्या इटलीको भन्दा बढी छ । पाकिस्तानका शिराज शइद सहित बार्सिलोनामा रहेका एक सय ९५ जना पाकिस्तानी नागरिकले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई बेलुका घर पुर्याउने र बिहान हस्पताल पर्याउने काम गरिरहेका छन् ।  

इटली
युरोपीयन मुलुक इटली कोरोनाका कारण सबैभन्दा क्षति व्यहोरेको मुलुक हो । जहाँ हालसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति पुगेको छ । चीनपछि कोरोना भाइरसको केन्द्र बनेको इटलीमा हालसम्म १८ हजार नागरिकले ज्यान गुमाइसकेका छन् भने १ लाख ३० हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसको उपचारमा खटिएका झन्डै एक सय स्वास्थ्यकर्मीको मृत्यु भएको छ । 
फरबरी महिनामा इटली प्रवेश गरेको कोरोनाको उपचारमा खटिएका झन्डै १८ हजारभन्दा बढी स्वास्थयकर्मी कोरोनाका कारण संक्रमित भएका थिए ।

मेक्सिकोमा पहिलोपटक कोरोना भाइरसको संक्रमणका कारण दुई जना गर्भवति महिलाको मृत्यु भएको छ । त्यहाँ कोरोनाका कराण हालसम्म १ सय ९४ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ५ हजार पुगेको छ ।

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा पछिल्लो २४ घन्टामा मात्रै ४२ जना नयाँ संक्रमित फेला परेका छन् । पहिलोपटक कोरोना देखिएको वुहानमा ७७ हजार नागरिक स्वस्थ भएर घर फर्किएका छन् । यस्तै कोरोनाको आशंका गरिएका ११ सय ६९ जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरुमा लक्षण नदेखिएपछि जाँचका लागि आइसोलेसनमा राखिएको हो । 

यसैबीच चीनमा कुकुरको बिक्रिवितरणमा रोक लगाइएको छ । जनावरबाट रोग सर्ने सम्भावना भएका कारण चीन सरकारले कुकुर र कुकुरको मासु किक्रिवितरणमा रोक लगाएको हो ।

जर्मनीमा हालसम्म कोरोना कारण २ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ज्ञ लख १३ हजार भन्दाबढी पुगेको छ । यस्तै फ्रान्समा कोरोनाका रकाण १० हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख ३९ हजार पुगेको छ ।

गत डिसेम्बर ३१ मा देखिएको कोरोनाभाइरसका कारण हालसम्म विश्वभर १६ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ९५ हजार ७ सयभन्दा बढी पुगेको छ । यस्तै कोरोनाका कारण संक्रमित भएका ३ लाख ५६ हजारभन्दा बढी स्वस्थ भएर घर फर्किएका छन् । 

Last modified on 2020-04-10 10:42:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts