कोरोनाभाइरसलाई लिएर दिइएको चेतावनीलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना



Download our app to get more features

बीबीसी, २ वैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमहरूको आक्रोशपूर्ण ढङ्गले बचाउ गरेका छन् ।

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा असंयमित रूपमा प्रस्तुत भएका ट्रम्पले भेन्टिलेटर चाहिएकाहरूलाई दिइएकै बताए ।

पत्रकारहरूसँग तर्कवितर्क गर्दै चुनावी अभियानमा जस्तो उनी उपस्थित भए ।

पत्रकार सम्मेलनमा उपस्थित संवाददाताहरूले कोरोनाभाइरसलाई लिएर दिइएको चेतावनीलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरे ।

गभर्नरहरूले लकडाउन कहिले हटाउने भन्ने अधिकार प्रशासनसँग रहेको ट्रम्पले उल्लेख गरे। तर कानुनविद्हरूले त्यो अधिकार खासमा राज्यहरूसँग रहेको तर्क गरेका छन् ।

अनुमोदन
अमेरिकी राज्यहरूले राष्ट्रपतिको अनुमोदनविना केही पनि गर्न नसक्ने ट्रम्पको भनाइ छ ।

हाल संयुक्त राज्य अमेरिकामा पाँच लाख ७७ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमणका घटना देखिएका छन् भने २३ हजार व्यक्तिको ज्यान गएको छ । यी दुवै सङ्ख्या अन्य देशको तुलनामा सबैभन्दा बढी हो ।

अमेरिकाले गरेका गल्तीहरूको कुरा गर्नुपर्दा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले राज्यका प्रयोगशालाहरूलाई त्रुटिपूर्ण परीक्षणहरू गर्न लगायो जसका कारण कोरोनाभाइरस नियन्त्रणमा ढिलाइ हुन पुग्यो ।

देशभरिका चिकित्सक तथा अस्पतालहरूले चिकित्सकीय सामग्रीको अभाव रहेको औँल्याएका थिए ।

राष्ट्रपति ट्रम्पले आफ्ना उच्च स्वास्थ्य अधिकारीहरूलाई फरकफरक सुझावहरू दिइरहे ।

कदम
कोरोनाभाइरसलाई लिएर अमेरिकाले गरेका राम्रा कामहरू भन्नुपर्दा २० खर्ब डलर बराबरको राहत कार्यक्रम ल्यायो ।

अमेरिकास्थित औषधि उत्पादक लगायत कम्पनीहरू कोरोनाभाइरसको उपचार र त्यसका लागि खोपको विकाससम्बन्धी अनुसन्धानमा अगाडि देखिएका छन् ।

अमेरिकी सङ्घीय प्रणालीको फाइदा उठाउँदै अधिकांश राज्यका नेताहरूले कोरोनाभाइरस नियन्त्रणको दिशामा निर्णायक कदमहरू चालेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts