अपडेट

अमेरिकामा एकैदिन २२ सयभन्दा बढीको मृत्यु, डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्का



Download our app to get more features

अमेरिका, ३ वैशाख । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोकेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।

कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको उनको आरोप छ । 

चीनमा कोरोनाभाइरस देखिएपछि सङ्क्रमणसम्बन्धी विषयलाई सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको पनि राष्ट्रपति ट्रम्पले आरोप लगाए ।

डब्ल्यूएचओलाई जवाफदेही बनाउनैपर्ने उनको भनाइ छ । यसअघि ट्रम्पले डब्ल्यूएचओले चीनप्रति आग्रह राखेको आरोप लगाएका थिए । 

अमेरिकाको संक्रामक रोग विशेषज्ञ र युनिट एट बोस्टन युनिभर्सिटिका मेडिकल डाइरेक्टर डा.नाहिद भदेलियाले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोगमध्ये १५ प्रतिशत कटौती गरेको बताइन् ।

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुर्टेरसले यो समय बहस गरेर आर्थिक सहयोग रोक्ने नभएर सबै एकजुट भएर महामारीसँग लड्ने रहेको बताएका छन् ।

संयुक्त राष्ट्र संघ अन्तर्गतकै संगठन रहेको डब्लूएचओलाई सबैभन्दा ठूलो आर्थिक सहयोग अमेरिकाले गर्दै आएकोमा विश्वभर फैलिएको महामारीलाई रोक्न सबै अन्तर्राष्ट्रिय समुदाय एक हुनुपर्नेमा अमेरिकाले सहयोग रोकेर गलत निर्णय गरेको महासचिव गुर्टेरसको वक्तव्यमा उल्लेख गरिएको छ ।

यसविषयमा हालसम्म विश्व स्वास्थ्य संगठनले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

यस्तै अमेरिकामा हालसम्मकै सबैभन्दा धेरै मानिसको एक दिनमा मृत्यु भएको अमेरिकी सरकारले रिर्पोटिङ गरेको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा कोरोना भाइरसका कारण २२ सय २८ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकरामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ हजार ३ सय पुगेको छ । यस्तै संक्रमण हुनेको दर ६ लाख नाघेको अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ ।

यस्तै बेलायतमा पछिल्लो २४ घन्टामा ७ सय ७८ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार १ सय ७ पुगेको छ ।

युरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा पछिल्लो एक महिनामा सबैभन्दा कम मानिस कोरोनाका कारण संक्रमित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इटलीको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनामा मात्रै २९ सय ७२ नयाँ कोरोनाका कारण संक्रमितको केस फेला परेको छ । युरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा हालसम्म २१ हजारभन्दा बढी मानिसको कोरोना कारण मृत्यु भइसकेको छ । 

यसैबीच भारतमा लकडाउनको उल्लघंन गर्दै हजारौं आप्रवासी मजदुरहरु घर जान माग गर्दै सडकमा उत्रिएका छन् । मुम्बईको बान्द्रा रेल्वे स्टेशनमा मंगलवार हजारौंको संख्यामा आप्रवासी मजदुरहरु लकडाउनको उल्लघंन गर्दै घर जान पाउ भन्दै सडकमा जम्मा भएका थिए । यसअघि भारतको राजधानी दिल्लीमा लाखौंको संख्यामा श्रमिकहरु घर जान पाउँ भन्दै सडकमा उत्रेर आन्दोलन गरेका थिए ।
चीनपछि बढी प्रभावित बनेको भारतमा हालसम्म कोरोनाका कारण ३ सय ६० जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १० हजार नाघेको छ ।

अमेरिकी विश्वविद्यालय जोन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोनाका कारण १ लाख २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने  झन्डै २० लाख नजिक पुगेको छ । जबकी ४ लाख ७८ हजारभन्दा बढी मानिस स्वस्थ भएर घर फर्किका छन् । 

Last modified on 2020-04-15 09:50:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts