अपडेट

कोविड-१९ का कारण विश्वभर मृत्यु हुनेको संख्या साढे एक लाखभन्दा बढी



Download our app to get more features

काठमाडौं, ६ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोविड-१९ का कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ ।

अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभर कोरोनाका कराण मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २ सय ४२ पुगेको छ । 

यस्तै संक्रमित हुनेको संख्या २२ लाख ५० हजार १ सय ९९ पुगेको छ भने कोरोनाका कारण संक्रमितमध्ये ५ लाख ७१ हजार ५ सय ७७ जना स्वस्थ भएर घर फर्किएका छन् । 

यस्तै अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ लाख नाघेको छ । कोरोनाका कारण सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा अमेरिका विश्वमै पहिलो मुलुक बनेको छ । जहाँ सबैभन्दा धेरै मानवीय क्षति भएको छ । हालसम्म अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ हजार पुगेको छ ।

मेक्सिकोमा कोरोनाको ५ सय ७० नयाँ संक्रमित फेला परेका छन् । योसँगै मेक्सिकोमा कोरोना संक्रमितको संख्या ६ हजार ८ सय ७५ पुगेको छ भने ५ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

भारतमा कोरोनाका कारण संक्रमितको हुनेको संख्या १३ हजार नाघेको छ भने मृत्यु हनेको संख्या ४ सय ५२ पुगेको छ ।

यसैबीच चीन सरकारले वुहानमा कोरोनाका कारण मृत्यु हुनेको तथ्यांक अद्यावधिक गरेको छ । चीन सरकारले वुहानमा कोरोनाका कारण मृत्यु हुनेको दर जनवरी र मार्चमा ६ दशमलव ८ प्रतिशत रहेको जनाएको छ । यस्तै वुहानमा एकैदिन १२ सयको दरले कोरोनाका कारण संक्रमितको संख्या बढेको छ । योसँगै चीनमा नयाँ कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ६९ पुगेको छ । वुहानमा हालसम्म कोरोनाका कारण ४ हजार ६ सय ५८ जनाको मृत्यु भएको छ । यसअघि चीन सरकारले ३ हजार ३ सय ३२ जनाको मात्रै मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । 

मुस्लिम धर्माबलम्बीहरुको सबैभन्दा ठूलो पर्व रमदानमा यसपटक घरमै बसेर प्रार्थना गर्न सउदी अरब सरकारले निर्देशन जारी गरेको छ । कोरोनाको महामारीबाट जोगिन सउदी अरब सरकारले यसपटकको रमदानमा घरमै प्रार्थना गर्न भनेको हो ।

ट्यूनिशियामा लकडाउनको समयावधि थप गर्न लागिएको छ । राष्ट्रपति काइसले कोरोनाको महामारीबाट जोगिन भन्दै आज लकडाउन थप गर्ने तयारीमा छन् । यसअिघ २० मार्चबाट त्यहाँ पहिलोपटक लकडाउन जारी गरिएको थियो । ट्यूनिशियामा हालसम्म कोरोनाका कारण ३७ जनाको मृत्यु भइसकेको छ भने ८ सय २२ जना संक्रमित भएका छन् ।  

Last modified on 2020-04-18 07:25:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts