जापानमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघ्यो,  १७४ को मृत्यु 



Download our app to get more features

टोकियो, ७ वैशाख । जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोना भाइरस संक्रमणका पाँच सय ६८ नयाँ घटना देखिएको जनाएको छ । यो सहित जापानमा आइतबारसम्ममा कूल संक्रमितको संख्या १० हजार तीन सय ६१ पुगेको छ । 

यसवर्षको सुरुमा टोकियो नजिक क्वारेन्टाइनमा राखिएको यात्रुबाहक पानीजहाजका सात सय १२ जना समेत गरी जापानमा ११ हजार ७३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण जापानमा हालसम्म एक सय ७४ जनाको ज्यान गएको छ । अमेरिका र युरोपको तुलनामा जापानमा कोरोना संक्रमणको संख्या न्यून हो ।  तर स्वास्थ्य परीक्षणको संख्या नै कम भएकाले पनि वास्तविक विवरण ठम्याउन कठिन भएको बताइन्छ । 
विज्ञहरुले जापानमा कोरोना संक्रमितको संख्या अझ ठूलो हुन सक्ने दाबी गरेका छन् । जापानले अन्ततः टोकियो र अन्य ठाउँमा अतिरिक्त परीक्षण केन्द्रहरू स्थापना गर्न सुरु गरेको छ । पछिल्ला दिनहरुमा उपचारमा प्रभावकारिता ल्याउन प्राथमिक उपचार चिकित्सकहरूलाई संदिग्ध बिरामीहरूलाई सिधै परीक्षण केन्द्रहरुमा पठाउन अनुमति दिइएको छ । विज्ञहरूले संक्रमित व्यक्तिहरु पत्ता लगाउन विगतमा अपनाइएको रणनीति सफल नभएकाले परीक्षणलाई व्यापक बनाउन सुझाव दिएका छन् । 

जापानी प्रधानमन्त्री शिन्जो आबेले गत बिहीबार टोकियो र ६ वटा शहरी क्षेत्रमा मात्र सीमित राखिएको आपतकालको अवस्था देशव्यापी बनाइएको घोषणा गरेका थिए । जापानका अस्पतालहरुमा संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि प्रधानमन्त्री आबेले आपतकाल घोषणा गरेका हुन् । कोरोना भाईरस जनवरीको मध्यमा पहिलो घटना पत्ता लागेदेखि जापानमा संक्रमित व्यक्तिको संख्या एक हजार पुग्न दुई महिना लागेको छ । तर संक्रमणको प्रसार पछिल्ला सातामा तिब्र रुपमा बढेको छ र १० दिनभित्रै यो संक्रमितहरुको संख्या पाँच हजारबाट दोब्बर भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts