अपडेट

कोविड-१९ : युगान्डामा ११ जना गर्भवतिको उपचार नपाएर मृत्यु

यस्तो छ विश्वका गतिविधि



Download our app to get more features

काठमाडौं, १० वैशाख । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीले आउने दिनमा अझ बढी खराबस्थिति उत्पन्न हुने चेतावनी दिएको छ । अमेरिका र चीनबीच कोरोना भाइरसको उत्पति र विश्व स्वास्थ्य संगठनको भूमिकाका विषयमा आरोप प्रत्यारोप चलिरहेका बेला विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका बारेमा गम्भीर चेतावनी दिएको हो । संगठनका महानिर्देशक डा.टेड्रोस घेब्रियससले कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेकाले त्यसबाट लड्न सबै तयार हुनुपर्ने चेतावनी दिएका छन् । संगठनको नियमित मिडिया ब्रिफिङको क्रममा उहाँले विश्वमा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता भएको दावी गर्दै भाइरस विरुद्धको खोप नबनेसम्म अवस्था निरन्तर बिग्रँदै जाने बताए ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण मृत्यु हुने दर बेलायतमा २० वर्ष यताकै उच्च रहेको जनाइएको छ । बेलायत सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार बेलायतमा कोरोनाका कारण गत १० अप्रिलमा ४० प्रतिशत बढीले मानिसहरुको मृत्यु भएको थियो । युरोपिय मुलुक इटलीपछि सबैभन्दा बढी प्रभावित बनेको बेलायतमा १० अप्रिलमा ९ हजार २ सय ८८ बाट एकैपटक १३ हजार १ सय २१ जनाको मृत्यु भएको त्यहाँको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बेलायत युरोपकै सबैभन्दा बढी प्रभावित मुलुक बन्नुका साथै सबैभन्दा कमजोर स्वास्थ्य सेवा दिने मुलुक बनेको त्यहाँका वैज्ञानिकहरुको भनाइ छ । २० वर्ष अघि देखिएको फ्लूभन्दा पनि धेरै मानिसले कोरोनाका कारण अहिलेसम्म मृत्युवरण गरेका छन् । हिजोसम्म बेलायतमा कोरोनाका कारण २३ हजारभन्दा बढीको मृत्यु भएको छ भने २ लाखभन्दा बढी संक्रमित भएका छन् । 

यसैबीच बेलायतका विभिन्न उद्योगहरुले कोरोना विरुद्धको लडाइमा सरकारलाई सहयोग गर्दै भेन्टिलेटर प्रदान गर्ने भएको छ । हप्तामा १५ सय भेन्टिलेटर बनाएर सरकारलाई प्रदान गर्ने जनाएको छ ।
यस्तै युरोपीय मुलुक इटलीमा पछिल्लो २४ घन्टामा ५ सय ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार ६ सय ४८ पुगेको छ भने एक लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् । ४९ हजार कोरोना संक्रमित स्वस्थ भएर घर फर्किएको इटली सरकारले जनाएको छ ।

क्यानेडामा कोरोना संक्रमितको संख्या एकैदिन २ हजारले वृद्धि भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या ३५ हजार ३ सय ९२ बाट ३७ हजार ३ सय ८२ पुगेको छ भने १७ सय २८ जनाको मृत्यु भएको छ ।

यस्तै टर्कीको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण संक्रमित हुनेको संख्या ९५ हजार ५ सय ९१ पुगेको छ भने २२ सय ५९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा एकैदिन कोरोनाका कारण १७ जनाको मृत्यु भएको छ । पाकिस्तान स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पाकिस्तानमा हिजो एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै पाकिस्तानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९२ पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या ९ हजार २ सय १४ पुगेको छ । 

दक्षिणपूर्वी एसियाली मुलुक भारतमा पछिल्लो समय कोरोनाका कारण मानिसहरु प्रभावित हुन थालेका छन् । हालसम्म त्यहाँ कोरोनाका कारण झन्डै १९ हजार संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ६ सय भन्दा बढीको मृत्यु भएको छ ।
यसैबीच चीनमा कोरोना संक्रमित दुई जना डाक्टरहरुको अनुहारको रंग बदलिएको छ । वुहानमा कोरोना संक्रमितको उपचार गर्ने क्रममा संक्रमित भएका चीनका दुई जना डाक्टरहरुको रंग कालो हुन थालेको डेली मेलले जनाएको छ । कोरोनाका कारण संक्रमित भएका दुबै जनालाई उपचारपछि स्वस्थ बनाइएको भएपनि उनीहरको कलेजोमा कोरोनाले नराम्रो प्रभाव पारेकोले रंग नै कालो हुन थालेको बताइएको छ ।

मोरक्को कारागारमा ६८ जना कैदीलाई कोरोना संक्रमण भएको बताइएको छ । उत्तरी मोरक्कोमा रहेको ओउरजाजाट कारागारका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको सरकारले जनाएको छ । योसँगै मोरक्कोमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ५६ सय ४५ पुगेको छ ।

युगान्डामा कोरोनाका कारण यातायात बन्द हुँदा ११ जना गर्भवतिको मृत्यु भएको छ । युगान्डामा कोरोनाको महामारीबाट जोगिन भन्दै गरिएको बन्दका कारण समयमै उपचार नपाउँदा ११ जना गर्भवतिको मृत्यु भएको बताइएको छ । युगान्डामा हालसम्म ५६ कोरोना संक्रमित भेटिएपनि मृत्यु भने कसैको भएको छैन ।

सउदी अरब सरकारले रमदानको बेला लकडाउन खुलाउने भएको छ । विभिन्न सहरमा लगाइएको लकडाउन मुस्लिम धर्माबलम्बीहरुको महान पर्व रमदानका लागि खुलाइने सउदी सरकारले तयारी गरेको छ । यस्तै इरानमा पनि रमदानको बेला बजार खुलाउने तयारी गरिएको छ । 

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ । अमेरिकाको जन हपकिन्स विश्व विद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलवारसम्म कोरोना भाइरसका कारण २५ लाख १ हजार १ सय ५७ जना संक्रमित भएका छन् । यस्तै भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ८ सय १० पुगेको छ । 


 

Last modified on 2020-04-22 07:12:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts