अपडेट

पाकिस्तानी प्रधानमन्त्रीको कोरोना परीक्षण, जर्मनीमा मास्क लगाउन अनिवार्य



Download our app to get more features

काठमाडौं, ११ वैशाख । दक्षिण एसियाली मुलुक भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २० हजार नाघेको छ । हालसम्म भारतमा कोरोनाका कारण २० हजार ४ सय ७१ जना संक्रमित भएका छन् । यस्तै ६ सय ५२ जनाको मृत्यु भएको छ । 

यस्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कोरोना परीक्षण गरिएको छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बुधवार गरिएको कोरोना परीक्षणमा रिजल्ट नेगेटिभ भएको बताइएको छ । 

पाकिस्तानी स्वास्थ्यमन्त्री जफर मिर्जाले दिएको जानकारी अनुसार प्रधानमन्त्री खानले विभिन्न व्यक्तिसँग भेटघाट गरेको हुनाले उनको कोरोना परीक्षण गरिएको र रिजल्ट नेगेटिभ आएको हो ।

पाकिस्तानमा हालसम्म कोरोनाका कारण ९ हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २ सय भन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घन्टामा इटलीमा कोरोनाका कारण ४ सय ३७ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २५ हजार ८५ पुगेको छ । इटली युरोपको सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । 

यस्तै फ्रान्समा पछिल्लो २४ घन्टामा ५ सय ४४ जनाको मृत्यु भएको छ । योसँगै फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजार ३ सय ४० पुगेको छ । 

यस्तै बेलायतमा कोरोनाका उपचारमा खटिएका ६९ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बेलायती स्वास्थ्य विज्ञहरुले स्वास्थ्य उपकरण अभावका कारण उपचारमा खटिएका स्वास्थ्यकर्मी सबैभन्दा उच्च जोखिममा रहेकाले समयमै सामग्री उपलब्ध नगराए त्यसले ठूलो खतरा निम्तिने चेतावनी दिएको छ । बेलायतमा विस्तारै कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजारभन्दा बढी रहेको जनाइएको छ ।

जर्मनीमा नागरिकलाई मास्क लगाउन अनिवार्य गरिएको छ । तर, केही राज्यमा भने मास्क लगाउन छुट दिइएकोपनि छ । तर, प्रायःसबै सार्वजनिक स्थान, यातायात लगायतका क्षेत्रमा मास्क अनिवार्य गरिएको छ ।

स्पेनमा कोरोनाका कारण थप दुई साताका लागि लकडाउन थपिने भएको छ । यसैबीच ह्यूम्यान राइट्स वाचले शरणार्थी शिविर र स्वास्थ्य संकटलाई गम्भीरताका साथ नलिएको भन्दै ग्रीस सरकारको आलोचना गरेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस लामो समयसँग रहिरहने भन्दै सचेत रहन चेतावनी दिएको छ । आउने दिनमा अफ्रिका र दक्षिण एसियामा महामारीले स्थिति बिग्रिन सक्ने चेतावनी दिएको हो । संगठनको नियमित प्रेस ब्रिफिंगको क्रममा डा.टेड्रोस घेब्रेयससले आउने दिनमा अफ्रिका र दक्षिण एसियाली मुलुकमा कोरोना महामारीले ठूलो क्षति हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । 

यस्तै डा.टेड्रोसले अमेरिकालाई विश्व स्वास्थ्य संगठनलाई दिइने आर्थिक सहयोग कटौती गरेको विषयमा पुर्नविचार गर्न पनि आग्रह गरेका छन् । महामारीको लडाइलाई सबैले एक साथ भएर लाग्नुपर्नेमा अमेरिकाले आर्थिक सहयोग कटौती गरेपछि उनले पुर्नविचार गर्न भनेका छन् ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोनाका कारण हालसम्म २६ लाख ३६ हजारभन्दा बढी नागरिक संक्रमित भएका छन् भने एक लाख ८४ हजार भन्दा बढीको मृत्यु भएको छर ७ लाख १७ हजारभन्दा बढी कोरोना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts