अपडेट

भारतमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल, यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, १५ वैशाख । नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको युवतीमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा तीन पटकसम्म गरिएको द्रुत परीक्षण जाँचमा ती युवतीमा कोरोना देखिएको थियो । तर, आइतवार आएको उनको पीसीआर नतिजामा भने कोरोना नभएको पुष्टि भएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिकाका २३ वर्षका ती युवतीको पीसीआर जाँचको रिपोर्टमा कारोना नपाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । पारिवारिक स्रोतका अनुसार युवतीको भरतपुर अस्पतालमा उपचारका लागि जाँदा उनमा रक्त क्यान्सर भएको प्रमाणित भएको थियो ।


कतारमा आइतवार एक जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । धनुषाका ४० वर्षका एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोना भाइरसका कारण भारतको महाराष्ट्रमा सबैभन्दा मानिसहरु प्रभावित बनेका छन् । पछिल्लो तथ्यांक अनुसार त्यहाँ २४ घन्टामा ४ सय ४० नयाँ संक्रमित फेला परेका छन् भने १९ जनाको मृत्यु भएको छ । यो सँगै महाराष्ट्रमा मात्रै कोरोनाका कारण ३ सय ४२ पुगेको छ भने संक्रमित हुनेको संख्या ८ हजार ६८ पुगेको छ । समग्र भारतमा कोरोना संक्रमितको संख्या ८ सय २६ पुगेको छ भने संक्रमितको संख्या २७ हजार नजिक पुगेको छ ।

यस्तै भारतमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल भएको छ । राजधानी दिल्लीका ४९ वर्षका एक जना कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो र उनी स्वस्थ भएर घर फर्किएका छन् । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई अक्सिजनमा राखिएको थियो । स्थिति बिग्रिन थालेपछि ८ अप्रिलमा उनलाई भेन्टिलेटरमा राखिएको थियो । पछि उनका परिवारले डाक्टरहरुसँग प्लाज्मा थेरापी विधिबाट उपचार गर्न आग्रह गरेपछि डाक्टरहरुले यो विधिबाट उनको उपचार गरेका थिए । १४ अप्रिलमा उनलाई प्लाज्मा थेरापी दिइएको थियो । उनी पहिलो बिरामी हुन् जसलाई पहिलो पटक प्लाज्मा थेरापी दिइएको थियो र डाक्टरहरुको यो प्रयास सफल भएको छ । डाक्टरका अनुसार एक जना डोनरले ४ सय मिलिलिटर प्लाज्मा दान गर्न सक्छन् । जसबाट २ जनाको ज्यान जोगिन सक्छ । किनकी एक जनालाई २ सय मिलिलिटर प्लाज्माको आवश्यक्ता हुन्छ । भारतको लागि कोरोना उपचारमा यो सबैभन्दा ठूलो उपलब्धी हो ।

पहिलोपटक नोवेल कोरोना भाइरस देखिएको चीनको वुहानमा सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । चीन सरकारले दिएको जानकारी अनुसार वुहानका सबै कोरोना संक्रमित स्वस्थ भएका छन् । सबैभन्दा बढी प्रभावित बनेको वुहानमा कोरोनाका कारण सबैभन्दा धेरै ५ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८० हजारभन्दा बढी संक्रमित भएका थिए । 

अमेरिकाले अग्र स्थानमा रहेका कोरोना विरुद्धको लडाइमा खटिएका स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गर्ने भएको छ । कोरोना संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सहरुको कोरोना परीक्षण गर्ने तयारी गरिएको अमेरिकी सरकारले जनाएको छ ।

यसैबीच, अमेरिकाले कोविड–१९ को जाँचका लागि औषधि पसलहरुलाई अनुमति दिएको छ । पछिल्लो समय केन्द्रबिन्दु बनेको अमेरिकामा कोरोना संक्रमित पत्ता लगाउन जाँचको दायरा बढाउने उदेश्यले औषधि पसलहरुलाई पनि कोरोना जाँचको अनुमति दिइएको हो । अमेरिकाको न्यूयोर्क राज्य कोरोनाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र भएकाले त्यहाँ सबैभन्दा पहिले पाँच हजार औषधि पसललाई कोरोना परीक्षणको जिम्मा दिइने त्यहाँका गभर्नर एन्ड्रयू कौमोले बताए । उनका अनुसार एक दिनमा कम्तिमा पनि ४० हजार जनाको कोरोना परीक्षण गर्ने उदेश्यका साथ औषधि पसललाई जाँचका लागि अनुमति दिइएको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण संक्रमित हुने संख्या ९ लाख ३८ हजार पुगेको छ । जसमा न्यूयोर्कका मात्रै ५३ हजार ७ सय ५१ जना नागरिक संक्रमित छन् । यस्तै अमेरिकामा मृत्यु हुनेको संख्या ५३ हजार नजिक पुगेको छ ।

मेक्सिकोमा कोरोना कारण पछिल्लो २४ घन्टामा ९ सय ७० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १३ हजार ८ सय ४२ पुगेको छ । जसमा १३ सय ५ जनाको मृत्यु भइसकेको छ । 

सिंगापुरमा कोरोना संक्रमितको उपचारका लागि अस्पताल निर्माणको कामलाई तिव्रता दिइएको छ । सिंगापुरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँ अस्थायी अस्पताल बनाउने कामलाई तिव्रता दिइएको हो । हालसम्म सिंगापुरमा कोरोनाका कारण १२ हजार संक्रमित भएका छन् ।

क्यानेडामा कोरोना संक्रमितको उपचारका लागि मलेरिया विरुद्ध प्रयोग गरिने औषधि प्रयोग गर्न थालिएको छ । मलेरियाका बिरामीलाई दिइने हाइड्रोक्सिक्लोरोक्वीन नामक औषधिको प्रयोग अब कोरोना विरुद्धको उपचारमा क्यानेडा सरकारले गर्ने भएको छ । क्नेडाको स्वास्थ्य विभागका अनुसार डाक्टरले प्रेस्क्राइब गरे अनुसार मात्रै औषधि दिन पाइनेछ । क्यानेडामा हालसम्म कोरोनाका कारण ४५ हजार ७ सय ७८ जना संक्रमित भएका छन् भने २४ सय ८९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ हजार ८ सय ५६ पुगेको छ । पछिल्लो २४ घन्टामा २ सय २४ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार नजिक पुगेको हो । यस्तै संक्रमितको संख्या २ लाख नाघेको छ ।

जी ट्वान्टी मुलुकहरुको समूहले कोरोना भाइरस विरुद्धको लडाइका लागि ८ अर्व डलर सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरमा कोरोना भाइरससँग लड्नकालागि जी ट्वान्टी मुलुकहरुले स्वास्थ्य सुविधाको आवश्यक्ता पूरा गर्नका लागि ८ अर्व डलर अर्थात् झन्डै १० खर्ब नेपाली रकम सहयोग गर्ने भएको हो । समाचार संस्था एजेन्सी रोयटर्सका अनुसार जी ट्वान्टीका वर्तमान अध्यक्ष देश सउदी अरबका अर्थमन्त्री मोहम्मद अल जदानले कोरोना विरुद्धको महामारी विरुद्धको लडाइमा सबै जी ट्वान्टी मुलुकलाई सहयोगका लागि अघि बढ्न आग्रह गरे । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts