अपडेट

बेलायतमा स्वास्थ्यकर्मीका लागि सरकारको बीमा प्याकेज, विश्वभर संक्रमितको संख्या ३० लाख नाघ्यो



Download our app to get more features

काठमाडौं, १६ वैशाख । भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरुले जारी बन्दाबन्दीलाई निरन्तरा दिन सुझाव दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग हिजो भएको छलफलको क्रममा मुख्यमन्त्रीहरुले कोरोना भाइरसको महामारीको जोखिमलाई ध्यानमा राखि बन्दाबन्दीलाई निरन्तरता दिन सुझाव दिएका हुन् । सम्वादको क्रममा प्रधानमन्त्री मोदीले बन्दाबन्दीको बेला मुलुकको आर्थिक अवस्थाको बारेमा चिन्ता नलिन भन्दै जारी गरिएको बन्दाबन्दीलाई केहि क्षेत्रका लागि मात्रै खुकुलो बनाउन सकिने बताएका थिए । भारतीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालका अनुसार भारतमा हिजोसम्म कोरोनाका कारण २८ हजार ३ सयभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या बढेर ८ सय ८६ पुगेको छ ।

महामारी बनेको नोवेल कोरोना भाइरसबाट लड्न लापबाही गरेको आरोप विश्व स्वास्थ्य संठगठनले खण्डन गरेको छ । संगठनका महानिर्देशक डाक्टर टेड्रोस अधोनोम घेब्रेयसेसले ३० जनवरीमा जारी गरिएको स्वास्थ्य आपतकाललाई विश्वका विभिन्न मुलुकहरुले वेवास्ता गरेका कारण आज स्थिति भयावह बनेको बताए । उनले जुन समय संगठनद्वारा विश्व स्वास्थ्य आपतकालको घोषणा गरेको थियो त्यो समय चीन बाहिर केहि मुलुकमा ८२ जनामा मात्रै संक्रमण देखिएको र एक जनाको पनि मृत्यु नभएको उल्लेख गरे । डा. टेड्रोसले विश्व स्वास्थ्य संगठनले सँधै राम्रो कै सल्लाह दिने तर, मुलुकले मान्ने नमान्ने उनीहरुको दायित्व रहेको भन्दै संगठनको सल्लाह र निर्देशिका मान्ने मुलुकमा आज अवस्था राम्रो रहेको दावी गरे ।

बेलायत सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीको सम्झनामा आज एक मिनट मौन धारण गर्ने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि सहभागि हुने छन् । बेलायती प्रधानमन्त्रीका प्रवक्ताका अनुसार बेलायती समय अनुसार आज बिहान ११ बजे एक मिनटको मौन धारण गरिनेछ र त्यसमा सरकारका सबै निकाय सहभागि हुनेछन् । स्कटन्याण्डका एक मन्त्री निकोला स्ट्रैजेनपनि यो मौन धारणमा सहभागि हुने भएका छन । उनले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी र डाक्टर मुलुको सबैभन्दा ठूलो व्यक्ति भएकाले उनीहरुलाई श्रद्धाञ्जली दिनु ठूलो सौभाग्य भएको बताए ।

यसैबीच बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले नेशनल हेल्थ स्किम (एनएचएस) सँग सम्बन्धीत डाक्टर र अन्य कर्मचारीका लागि जीवन बीमा पोलिसीको घोषणा गर्नुभएको छ । कोरोनासँग जोडिएको नियमित प्रेस वार्तामा स्वास्थ्य मन्त्रीका साथै बेलायतका प्रमुख मेडिकल असफिसर क्रिस व्हिट्टी अ एनएचएसका मेडिकल निर्देशक स्टिफन पोभिस पनि थिए । 

स्वास्थ्य मन्त्रीले कोरोना भाइरसका कारण एनएचएसका ८१ जना स्वास्थ्यकर्मी र १६ जना कर्मचारीको मृत्यु कोरोनाका कारण भइसकेको भन्दै कोरोना भाइरसले गर्दा ज्यान गुमाउने कर्मचारीका परिवारलाई ६० हजार पाउन्ड बराबरको आर्थिक सहयोग गरिने बताए । उनले बेलायतमा हालसम्म कोरोनाका कारण २१ हजार भन्दा बढीको मृत्यु भइसकेको र १ लाख ६० हजारभन्दा बढी संक्रमित भएको पनि जानकारी गराए । 

सबैभन्दा बढी प्रभावित युरोपको इटलीमा कोरोना भाइरसको महामारीका कारण २६ हजारभन्दा बढीको मृत्यु भएको छ । सोमवारसम्मको तथ्यांक अनुसार इटलीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ हजार ९ सय ७७ पुगेको छ । पछिल्लो २४ घन्टामा त्यहाँ २ सय ३० जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या १ लाख ७० हजारभन्दा बढी पुगेको छ । इटली सरकारले त्यहाँ ४ मे देखि मुलुकमा जारी लकडाउनलाई खुकुलो बनाउने तयारी गरिरहेको छ ।

रूसमा कोरोना संक्रमितको संख्या ८७ हजार नाघेको छ । सोमवारसम्मको तथ्यांक अनुसार रुसमा कोरोनाका कारण ९७ हजार १ सय ४७ जना संक्रमित भएका छन् । मार्च अन्त्यसम्मका लागि लगाइएको लकडाउन अन्तिम चरणमा आएर हटाएपछि त्यहाँ संक्रमित हुनेको दर तीव्र रुपले बढ्न थालेको छ ।

इरानमा रक्सी सेवनका कारण ७ सयभन्दा बढीको मृत्यु भएको छ । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसले संक्रमित गर्न सक्दैन भन्दै रक्सी सेवन गर्दा पछिल्लो ३ महिनामा ७ सय २८ जनाको मृत्यु भएको जनाइएको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानौस जहानपुरका अनुसार रक्सी सेवन गरेका मध्ये ५ हजार व्यक्तिमा मिथानोल अल्कोलले गम्भीर समस्या देखिएको र ९० जनाको आँखाको दृष्टि गुमेको छ ।

अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख १० हजार नाघेको छ । कोरोना भाइरसबाट ५६ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको विभिन्न सञ्चारसंस्थाहरुले जनाएका छन् । सोमबार मात्र १ हजार ७१ जनाको मृत्यु भएको छ भने करिब २० हजार नयाँ विरामी थपिएका छन् । १ लाख २० हजारभन्दा बढी मानिस उपचारपछि निको भएर फर्किएका छन् ।

विश्वव्यापी महामारी बनेको कोविड–१९ का कारण विश्वभर संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । अ‍ेमेरिकाको जोन हपकिन्स विश्व विद्यालयका अनुसार हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या ३० लाख ५९ हजारभन्दा बढी पुगेको छ भने यस्तै २ लाख ११ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोनाका कारण संक्रमित भएकामध्ये ९ लाख १९ हजारभन्दा बढी स्वस्थ भएका छन् । 

Last modified on 2020-04-28 07:35:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts