अपडेट

कोभिड-१९ बालबालिकामा हुने एक दुर्लभ रोगसँग सम्बन्धीत रहेको प्रमाणित

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, ४ जेठ । नेपालमा पहिलो पटक कोरोना भाइरसका कारण मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको छ । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएपछि सरकारले बनाएको कार्यविधि अनुसार दाह संस्कार गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि–२०७६ अनुसार कोरोना संक्रमितको दाह संस्कार गरिएको हो । 

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुन सक्ने जोखिमलाई ध्यानमा राखि गत चैत २८ मा कार्यविधि बनाएर सार्वजनिक गरिएको थियो । जस अनुसार नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने, शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्नेछ । 

यस्तै अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने, मृतकको शवलाई कमभन्दा कम चलाउने, शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउदाँ सर्तकता अपनाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्ने, मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिन्छ तर, सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनुपर्ने, ६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने पनि कार्यविधिमा उल्लेख छ । 

अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने, मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउने पनि कार्यविधिमा उल्लेख गरिएको छ । सोही अनुसार नेपालको पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको पनि दाह संस्कार गरिएको हो । 

मृतकको शव धुलिखेल अस्पतालबाट नेपाली सेनाको टोलीले काठमाडौं ल्याएको थियो । सुरुमा एम्बुलेन्समा परिवारको सदस्यलाई राखिएको थियो, जसमा उनका श्रीमान थिए । त्यसपछि प्रहरीको स्कटिङ र शव बाहनमा मृतकको शव राखिएको थियो । त्यसपछि फेरि सेनाले स्कटिङ गरेको थियो । मृृतकको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । 

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस बालबालिकामा हुने दुर्लभ रोगसँग पनि सम्बन्धीत रहेको जनाएको छ । संगठनको नियमित प्रेस ब्रिफिङको क्रममा संगठनले बालबालिकामा हुने दुर्लभ रोगहरु मध्ये एक कावासाकी रोगसँग कोरोना भाइरसपनि सम्बन्धीत रहेको प्रमाणित भएको बताएको हो । पछिल्लो समय विभिन्न मुलुकले बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको रिपोर्ट गर्न थालेपछि विश्व स्वास्थ्य संगठनले यसलाई बालबालिकामा हुने उक्त दुर्लभ रोग कावासाकी रोगसँग लक्षणहरु मिल्दोजुल्दो रहेको बताएको हो । संगठनका प्रमुख डा.टेड्रोस अधोनम घेब्रेयससले बालबालिकामा देखिएको कोरोना भाइरसको बारेमा प्राप्त सुरुवाति रिपोर्टको आधारमा यसलाई दुर्लभ रोग भनिएको बताए । उनले यो विषयमा तुरुन्तै हस्तक्षेप गर्नुभन्दापनि यसको गम्भीरता बुझेर सावधानी पूर्वक अध्ययन गरेर मात्रै उपचार र रोकथाम गर्न सकिने उल्लेख गरे । डा.टेड्रोसले बच्चाहरुमा “मल्टिस्टिम इन्फ्लामेटरी सिन्ड्रोम“ का लक्षणहरु देखिन थालेकाले यस विषयमा सावधान रहेर यसको पहिचान र उपचारका लागि ध्यान दिन आह्वान गरे ।

कोरोना भाइरसका कारण सुरुमा सबैभन्दा बढी प्रभावित बनेको इटलीमा यात्रामा लगाइएको प्रतिबन्ध हटाइने भएको छ । इटलीका प्रधानमन्त्री जुजप्पे कोन्टेले मुलुकमा जारी लकडाउनमा राहत दिँदै आगामी जुन ३ तारिखदेखि मासिनहरुले यात्रा गर्न पाउने घोषणा गरेका हुन् । उनले सम्भावित खतरालाई ध्यानमा राखेर यात्रामाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरिएको बताए । यसका साथै युरोपियन यूनियनमा आबद्ध देशका नागरिकहरुले मात्रै इटलीको यात्रा गर्न पाउनेछन् । तर, दुई हप्ता क्वारेन्टाइनमा बसेपछि मात्रै उनीहरुलाई इटलीमा घुमफिर गर्न दिइनेछ । इटली विश्वको तेस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ कोरोना भाइरसका कारण हालसम्म ३१ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ भने दुई लाख २५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

कोरोना भाइरसका अमेरिकामा मृत्यु हुनेको संख्या ८९ हजार नाघेको छ । कोरोना भाइरसका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८९ हजार ४ सय ४ पुगेको अमेरिकी विश्वविद्यालय जन हपकिन्सले जनाएको छ । यस्तै भाइरसका कारण संक्रमित हुनेको संख्या १५ लाख नाघेको छ । यसैबीच, अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिइने सहयोगबारे पुर्न विचार भइरहेको बताएका छन् । शनिवार पत्रकारसँगको कुराकानीमा उनले संगठनलाई दिइने आर्थिक सहयोगबारे अमेरिकाले पुर्न विचार गरिरहेको र १० प्रतिशतसम्म भुक्तानि गर्न सकिने बताए ।

ल्याटिन अमेरिकी मुलुक ब्राजिल विश्वकै तेस्रो कोरोना संक्रमित मुलुक बनेको छ । स्पेन र इटलीभन्दा पनि बढी कोरोना भाइरसका संक्रमित फेला परेपछि ब्राजिल विश्वकै तेस्रो कोरोना संक्रमित मुलुक बनेको हो । दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा निरन्तररुपमा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट दुई लाख ३३ हजार १ सय ४२ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा १४ हजार ९ सय १९ नयाँ संक्रमित फेला परेका हुन् । यस्तै ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ६ सय ३३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ८ सय १६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण सबैभन्दा बढी संक्रमित हुनेमा अमेरिका विश्वकै पहिलो स्थानमा छ भने रुस दोस्रो, स्पेन तेस्रो र इटली चौथों स्थानमा छ ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण विश्वभर संक्रमित हुनेको संख्या ४७ लाख १५ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरसका कारण ३ लाख १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित मध्ये १८ लाख ९ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2020-05-17 09:54:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts