अपडेट

विश्व स्वास्थ्य संगठनसँग अलग्गिने अमेरिकी राष्ट्रपतिको निर्णय दूर्भाग्यपूर्ण

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, १८ जेठ । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण विश्वभर संक्रमित हुने र मृत्यु हुनेको दर बढ्दै गएको छ । यो अवस्थामा चीन सरकारले भने यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरस विरुद्धको खोप तयार भएर बजारमा आइसक्ने बताएको छ । चीनको एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेशन कमिशनले शनिवार   चीनमा बनेको कोरोना भाइरसको भ्याक्सिन यो वर्षको अन्यसम्म वितरण गर्नका लागि बजारमा आइसक्ने बताएको छ । वुहान इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र बीजिंग इंन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्टसले तयार पारिएको भ्याक्सिन हालसम्म २ हजार मानिसहरुमा परीक्षण गरिसकिएको छ । २९ मे मा चीनी सोशल मीडिया प्लेटफर्म वी च्याटमा खोप सम्बन्धी जानकारी दिइएको थियो । भ्याक्सिन अब दोस्रो चरणको परीक्षणमा रहेको र यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरुवातसम्म बजारमा आइसक्ने पोस्टमा उल्लेख गरिएको छ ।
 
यता रूसमा पनि कोरोना विरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षणको तयारी तीव्र बनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार रूसका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले रूसी वैज्ञानिकहरुले आउने दुई हप्ता भित्रमा कोरोना भाइरसको भ्याक्सिको क्लिनिकल परीक्षण सुरु गर्ने बताए । कोरोना भाइरसको संक्रमणको संख्यामा रूस अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । हालसम्म रूसमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख ९६ हजार नाघेको छ भने ४ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतमा पाँचौ चरणको लकडाउन एक महिनाका लागि थपिएको छ । भारत सरकारले पाँचौं चरणको लकडाउन जुन ३० तारिख अर्थात् असार १६ गतेसम्मका लागि थप गरेको हो । तर, भारतमा पाँचौ पटकको लकडाउनको समयावधिमा सरकारले विभिन्न कुरामा छुट दिने निर्णय गरेको छ । जसमा कोरोना प्रभावित राज्य र क्षेत्र बाहेक अन्य क्षेत्रमा चरणवद्ध रुपमा धार्मिक स्थल, होटल, रेस्टुरेन्ट, किनमेल केन्द्र, शैक्षिक संस्था, तालिम केन्द्र लगायतका खोलिने छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो समय ६ देखि ७ हजारका दरले बढ्दै गएको छ । हालसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ७४ हजार नाघेको छ । भाइरसका कारण ४ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
 
यूरोपियन यूनियनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्व स्वास्थ्य संगठनसँग सम्बन्धीत निर्णयमा पुर्नविचार गर्न अपिल गरेको छ । यूरोपियन यूनियनले हिजो जारी गरेको बयानमा संसार  महामारीको चुनौतीसँग लड्नका लागि अनेक प्रयास गरिरहँदा अमेरिका विश्व स्वास्थ्य संगठनसँग अलग्गिदा त्यसले समस्या झन् निम्तिन सक्ने बताएको छ । साथै संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने लगायतका विषयमापनि पुर्नविचार गर्न युनियनले आग्रह गरेको छ ।

जर्मनीले विश्व स्वास्थ्य संगठनबाट अलग्गिने अमेरिकी निर्णयलाई दूर्भाग्यपूर्ण रहेको बताएको छ । शुक्रवार मात्रै अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबै किसिमको सम्बन्ध अन्त्यका साथै संगठनको सदस्यबाट अलग्गिने घोषणा गरेको थियो । अमेरिकाको यो घोषणापछि जर्मनी सरकारले विश्वव्यापी महामारीको बेला अमेरिकाको यो निर्णय सबैका लागि नोक्सानदेह हुन सक्ने प्रतिक्रिया दिएको छ । 

यता, अमेरिक सीनेटका स्वास्थ्य समितिले विश्व स्वास्थ्य संगठनबाट अलग्गिने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले कोरोना भाइरसको खोप विकास गर्नमा समस्या हुने भन्दै चेतावनी दिएको छ । रिपब्लिकन सीनेटर लेमर एलेक्जेन्डरले अमेरिकी सरकारको यो निर्णयले कोरोना भाइरस अमेरिकासम्म पुग्नबाट रोक्नका लागि विश्वका अन्य मुलुकसँग मिलेर काम गर्नमापनि समस्या हुने बताएका छन् । उनले भने, “विश्व स्वास्थ संगठनबाट यदि कुनै भूल भएको छ भने त्यसको समिक्षा गर्नु आवश्यक छ । तर, महामारीको बीचमा गर्नु भन्दा पनि महामारी सकिएपछि गर्नु उचित हुन्छ ।’ 

त्यस्तै, अमेरिकन मेडिकल एसोसिएशनका प्रमुख प्याट्रिस ह्यारिसले पनि डब्ल्यूएचओसँग सम्बन्ध तोडेकोमा अमेरिकी सरकारलाई चेतावनी दिएका छन् । संगठनसँग सम्बन्ध तोड्नुको कुनै कारण नै प्रस्ट नभएकाले यसले स्वास्थ्य संकटबाट छुट्कारा पाउनका लागि झन् चुर्नाती थपिने उनको भनाइ छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले विश्वका विभिन्न २१ कम्पनीलाई भेन्टिलेटर बनाउन अनुमति पत्र (लाईसेन्स) उपलब्ध गराएको छ । जसमा भारतको तीन वटा कम्पनि पनि समावेश छ । भारतको अल्फा डिजाइन टेक्नोलोजीज प्राइभेट लिमिटेड, भारत फोर्ड लिमिटेड र मेधा सर्वो ड्राइभ्स प्राइमेट लिमिटेड रहेका छन् । यस्तै अमेरिकाको ८ वटा कम्पनीले पनि भेन्टिलेटर बनाउन लाइसेन्स प्राप्त गरेको छ । नासाले कैलिफÞोर्निया स्थित जेट प्रोपल्शन लेबोरेट्रीमा कोरोना संक्रमित बिरामीका लागि भेन्टिलेटर निर्माण गरेको छ । भाइटल नामक  विशेष भेन्टिलेटर लगभग एक महिनामा बनेको र ३० अप्रिलदेखि यसलाई इमर्जेन्सी परिस्थितियमा प्रयोग गर्नका लागि अमेरिकी सरकारले यसलाई स्विकृति दिएको थियो । यो भेन्टिलेटर कोरोनाका गम्भीर प्रकृतिका बिरामीका लागि बढी फाइदाजनक हुने र सामान्य अवस्थाको भेन्टिलेटरभन्दा फरक रहेको नासाले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक ब्राजिलमा एकैदिन ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ब्राजिलमा ३३ हजार २ सय ७४ नयाँ कोरोना संक्रमित फेला परेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै ब्राजिलमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५ लाख नजिक पुगेको छ । यस्तै शनिवार ब्राजिलमा कोरोना भाइरस संक्रमणका मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २८ हजार ८ सय ३४ पुगेको छ । जुन फ्रान्सकोभन्दा बढी हो । फ्रान्समा हालसम्म कोरोना भाइरसका कारण २८ हजार ७ सय ७७ जनाको मृत्यु भइसकेको छ ।  

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ६१ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोना महामारीका कारण हालसम्म संक्रमित हुनेको संख्या ६१ लाख ५६ हजार ९ सय नाघेको छ । यस्तै भाइरसका कारण विश्वभर ३ लाख ७० हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित भएका मध्ये झन्डै २७ लाख ३६ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2020-05-31 09:22:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts