अपडेट

'इबुप्रोफेन' औषधि कोरोना भाइरस संक्रमितको उपचारका लागि लाभदायक हुन सक्ने

यस्ता छन् विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, २२ जेठ । भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८ हजारका दरले बढ्दै गएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोभिड–१९ का कारण पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै ९ हजार ३ सय ४ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख १७ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण २ सय ६० जनाको मृत्यु भएको छ । योसंख्यासँगै भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७५ पुगेको छ ।

पाकिस्तानमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८५ हजार नाघेको छ । स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घन्टामा पाकिस्तानमा कोरोना भाइरसका कारण ४६ सय ८८ जना संक्रमित फेला परेका छन् । योसँगै पाकिस्तानमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या बढेर ८५ हजार २ सय ६४ पुगेको छ । सबैभन्दा धेरै सिंधमा ३२ हजार ९ सय १० र त्यसपछि पञ्जाब प्रान्तमा ३१ हजार १ सय ४ कोरोना संक्रमित छन् । पाकिस्तान सरकारका अनुसार कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा ८२ जनाको मृत्यु भएको । योसँगै पाकिस्तानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ सय ७० पुगेको छ । 

कोरोना भाइरसबाट संक्रमित भएपछि हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगले कुनै लाभ नहुने वैज्ञानिकहरुले बताएका छन् । बुधवार क्लिनिकल परीक्षणको नतिजा सार्वजनिक गर्दै वैज्ञानिकहरुले हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगले कोरोना संक्रमितका बिरामीलाई कुनै फाइदा नहुने बताएका छन् । यूनिभर्सिटी अफ मिनेसोटाका वैज्ञानिकहरुले गरेको अध्ययनमा हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगको कुनै राम्रो नतिजा नआएको प्रयोग नगर्न भनेको र यो अध्ययन रिसर्च पेपर न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसीनमा प्रकाशित गरिएको छ । 

यसैबीच, विश्व स्वास्थ्य संगठनले अस्थायी रुपमा प्रतिबन्ध लगाएको हाइड्रोक्सीक्लोरोक्वीनको  प्रयोग गर्न फेरि अनुमति दिएको छ । कोरोना भाइरसको बिरामीको उपचारमा मलेरिया रोगको यो औषधि प्रयोग गर्न संगठनले अनुमति दिएको हो । एक अध्ययनमा हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग गर्दा त्यसले बिरामीलाई झन् बिरामी बनाउने र मृत्यु हुने जोखिम बढाउने हुनाले प्रयोग नगर्न सुझाव दिइएको थियो । त्यसैलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगमा अस्थायी प्रतिबन्ध लगाएको थियो । 

बेलायतका वैज्ञानिकहरुले इबुप्रोफेन औषधि कोरोना भाइरस संक्रमितको उपचारका लागि लाभदायक हुन सक्ने बताएका छन् । बेलायतको दुई अस्पतालमा डाक्टरहरुको टिमले गरेको उपचारमा ज्वरो र दुखाईमा राहत दिने इबुप्रोफेन औषधिले स्वासप्रश्वासको समस्या भएको व्यक्तिलाई दिन सकिने बताएका छन् । बेलायतको गायजÞ एन्ड सेन्ट थोमस हस्पिटल र किंग्स कलेजका डाक्टरहरुले कम खर्च हुने यो औषधिले बिरामीलाई भेन्टिलेटरबाट टाँढा राख्नमा सहयोगी हुने आशा गरेका छनु । परीक्षणको क्रममा आधे बिरामीलाई सामान्य रेखदेखको साथै  इबुप्रोफेन पनि दिइएको छ । परीक्षणमा इबुप्रोफेनको सामान्य ट्याबलेटको साटो त्यसको विशेष  फर्मुलेशनको प्रयो गरिरहेका छन् । केही बिरामीलाई अर्थराइटिसको समस्यापनि यो औषधि दिने गरिन्छ । जनावरमाथि परीक्षण गर्दा स्वासप्रश्वासको समस्यामा यो सहयोगी हुने पत्ता लागेको हो । कोरोना भाइरस संक्रमित बिरामीलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले यसको परीक्षण सुरु गरिएको हो । 

यूनिभर्सिटी अफ अक्सफर्डले कोरोना संक्रमणको रोकथामका लागि विकास गरिएको नयाँ खोपको परीक्षण ब्राजिलमा गर्ने भएको छ । मध्य जूनदखि ब्राजिलमा नयाँ विकास गरिएको खोपको परीक्षण सुरु हुने बीबीसीले लेखेको छ । यो साता अस्पतालमा भर्ना गरिने दुई हजार स्वयंसेवकमाथि खोपको परीक्षण गरिनेछ । यूनिभर्सिटी अफ साओ पाउलोका अनुसार  १८ देखि ५५ वर्ष उमेर समुहका स्वयंसेवकलाई परीक्षणमा समावेश गराइने छ । कोविड–१९ अस्पतालमा सरसफाई क्षेत्रमा काम गर्ने स्वयंसेवकलाई पनि परीक्षणमा सहभागि गराइने छ । यूनिभर्सिटीका अध्यक्ष सोराया स्माइलीका अनुसार अध्ययनका ब्राजिल नै चयन गर्नुको कारणबारे बताउँदै अहिले कोरोना संक्रमणको केन्द्र ब्राजिल बनेको हुनाले ब्राजिलमा परीक्षण गर्न लागिएको बताए । ब्राजिल विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो जहाँ कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ३२ हजार ५ सय नाघिसकेको छ ।

संसारका विभिन्न मुलुकमा जारी बन्दाबन्दीले बालबालिका र युवाहरुमा लामो समयसम्म मानसिक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । बेलायतको बाथ यूनिभर्सिटीका अनुसार  बालबालिका र युवारहरुको मानसिक स्वास्थ्यमा एक्लोपनको विषयमा अध्ययन गर्दा यस्तो तथ्य बाहिर आएको हो । युनिभर्सिटिका अनुसार लकडाउनले गर्दा अहिले नै विश्वभर तीन गुणा बढी तनाव, चिन्ता जस्ता मानसिक समस्या बालबालिका र युवाहरुमा बढेको र आउने वर्षहरुमा यो समस्या ७ देखि १० गुणाले बढ्न सक्नेछ । 

इजरायलमा कोरोना भाइरसको संक्रमण विद्यालयहरुमा बढ्दै गएको छ । इजरायल सरकारका अनुसार विद्यालयमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण झन्डै ७ हजार बालबालिका र शिक्षकहरुलाई क्वारेन्टाइनमा राखिएको छ । विद्यालयमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि त्यहाँका ४० विद्यालय बन्द गरिएको छ । इजारयलमा हालसम्म कोरोना भाइरसका कारण १७ हजारभन्दा बढी संक्रमित भएका छन् भने २ सय ९० जनाको मृत्यु भइसकेको छ ।

स्पेन सरकारले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी मुलुकमा जारी आपतकाललाई जून २१ सम्मका लागि लागू गरेको छ । तर, स्पेनको मध्यपन्थी मुख्य विपक्षी पार्टी र दक्षिणपन्थी भोक्स पार्टीले आपातकाललाई निरन्तरता दिएकोमा सरकारको विरोध गरेको छ ।  विपक्षी पार्टिहरुले महामारीको क्रममा समाजवादी प्रधानमन्त्री पेड्रो साञ्चेजका नीतिहरुको पनि आलोचना गरेका थिए । तर, प्रधानमन्त्री साञ्चेजले विश्व नै कोरोना महामारीको चपेटामा आइसकेको अवस्थामा स्पेनले सावधानी र सतर्कतालाई अझै केही समय निरन्तरता दिनुपर्ने बताएका छन् । स्पेन कोरोना भाइरसका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक मध्येको एक भएकाले अन्तिम चरणको लागि आपतकालको समय थप गरेको उनको भनाइ छ । आवश्यक परे र स्थिति फेरि नियन्त्रणभन्दा बाहिर गए सरकारले दोहोर्याएर समय थप गर्न सक्ने उनले बताए । स्पेनमा पछिल्लो ५ दिनदेखि एक जनाको पनि कोरोना भाइरसको कारण मृत्यु नभएको र नयाँ संक्रमितपनि थपिएको छैन । हालसम्म स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २७ हजारभन्दा बढी छ भने २ लाख ४० हजारभन्दा बढी संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसका कारण पाँच जना नयाँ संक्रमित फेला परेको छ । समाचार संस्था  रोयटर्सका अनुसार चीनको स्वास्थ्य विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार हिजो चीनमा पाँच जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । जसमा एक जनामा कोरोनाको लक्षण देखिएको छ भने चार जनामा कुनैपनि लक्षण देखिएको छैन । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा भेटिएका सबै संक्रमित बाहिरबाट आएका हुन् । चीनमा हालसम्म कोरोना भाइरसका कारण हालसम्म ८४ हजार १ सयभन्दा बढी संक्रमित भएका छन् ४ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ । 

नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वभर संक्रमित हुनेको संख्या ६५ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार गन डिसेम्बरदेखि हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६५ लाख ७५ हजार १ सय नाघेको छ । कोरोना महामारीका कारण हालसम्म विश्वभर ३ लाख ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यस्तै महामारीका कारण संक्रमित भएकामध्ये झन्डै ३१ लाख ७१ हजार ७ सयभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2020-06-04 13:02:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts