अपडेट

ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, ३१ जेठ । कोरोना भाइरसका कारण मृत्यु हुनेमा ब्राजिल विश्वकै दोस्रो प्रभावित मुलुक बनेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार ब्राजिलमा मृत्यु हुनेको संख्या बेलायतको भन्दा बढी नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ सय ९ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार ८ सय २८ पुगेको छ । जबकी बेलायतमा कोरोना भाइरस संक्रमणका कारण ४१ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ । यस्तै २४ घन्टामा २५ हजार ९ सय भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । योसँगै ब्राजिलमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्उा ८ लाख २८ हजार नाघेको छ । ब्राजिलका  राष्ट्रपति जायर बोलसोनारोको कोरोना भाइरस महामारीको गम्भीरताका साथ नलिएको भन्दै आलोचना हुँदै आएको छ ।

यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलिनस्कीका श्रीमति ओलेना जेलिन्स्कामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । श्रीमतिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि राष्ट्रपति भोलोदिमीरले आफ्ना सबै कार्यक्रम स्थगित गरेका छन् । राष्ट्रपति ओलेनाले आफ्नो कोरोना पोजेटिभ रिपोर्ट आएपछि आफ्ना पति र दुबै बच्चाको परीक्षण गराएको र सबैको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको बताए । ओलेनाले आफू स्वस्थ रहेको र अस्पताल भर्ना भन्दा पनि घरमै सेल्फ आइसोलेसनमा रहेको बताइन् । 

विश्व स्वास्थ्य संगठनले विश्वभर फैलिँदै गएको कोरोना संक्रमणलाई लिएर चिन्ता व्यक्त गरेको छ । संगठनका कार्यकारी निदेशक डाक्टर माइकल र्यानले विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको र युरोपका केहि मुलुक, अमेरिकाका केही राज्य, दक्षिण पूर्वी एशिया लगायतका क्षेत्रमा कोरोना तीव्र गतिमा फैलिन थालेपछि चिन्ता व्यक्त गरेका छन् । यस्तै महानिर्देशक टेड्रोस अधोनम घेब्रेयसुसले कोरोना भाइरस विरुद्धको लडाईं अहिले नै नसकिने भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । उनले मानिसहरु यस भाइरसप्रति संवेदनशिल नभएको भन्दै विभिन्न मुलुकले लकडाउन खुकुलो बनाउने, भौतिक दूरी कायम नगर्ने जस्ता काम गर्ने क्रम जारी रहेकाले कोरोना भाइरसको दोस्रो चरणको शंकटका लागि तयार रहन सचेत गराएका छन् ।

चीनमा संक्रमण बढ्दो 
चीनको वुहानपछि अब राजधानी बेइजिंगमा लगातार दोस्रो दिन कोरोना भाइरसका कारण संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँका विभिन्न क्षेत्रमा बन्देज लगाएको छ । कोरोना संक्रमणको केशहरु थपिँदै गएपछि स्थानीय प्रशासनले ६ होलसेल खाद्य बजार पूर्ण रुपले र केहीलाई आंशिक रुपमा बन्देज लगाएको छ । शुक्रवार बेइजिंगमा नयाँ संक्रमित थपिएपछि प्रशासनले विद्यालय नखोल्न पनि आदेश जारी गरेको छ ।

दक्षिण कोरियामा पनि संक्रमण बढ्दो
कोरोना भाइरसका कारण दक्षिण कोरियामा पनि संक्रमित बढ्दै गएका छन् । दक्षिण कोरियाले आफ्नो इन्टेसिभ प्रीभेन्शन र स्यानिटेशनको कामलाई अनिश्चितकालका बढाइ दिएको छ । दक्षिण कोरियाली सरकार अनुसार जबसम्म कोरोना भाइरस संक्रमणको केस एक दिनमा दसभन्दा कममा झर्दैन तबसम्म यो कार्यक्रम जारी रहन्छ । दक्षिण कोरियाका विभिन्न राज्यमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

दक्षिण अफ्रिकामा एकैदिन ३ हजार ३ सय ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दक्षिण अफ्रिकि स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रवार नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६१ हजार ९ सयभन्दा बढी पुगेको छ भने १३ सय ५४ जनाको मृत्यु भएको छ । पछिल्लो समय अफ्रिकी महादेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । ५४ मुलुक रहेको अफ्रिकी महादेशमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ भने ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वव्यापी महामारीका कारण विश्वभर संक्रमितको संख्या ७७ लाख ३२ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख २८ हजार नाघिसकेको छ भने विश्वभर संक्रमित भएका मध्ये ३९ लाख ५६ हजारभन्दा बढी स्वस्थ भएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts