अपडेट

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा जिम्बावेका स्वास्थ्यमन्त्री पक्राउ

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, ६ असार । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको नयाँ र खतरनाक चरण सुरु हुँदै गएपछि चेतावनी दिएको छ । नियमित मिडिया ब्रिफिङको क्रममा शुक्रवार एकैदिन हालसम्मकै धेरै कोरोना संक्रमित फेला परेको भन्दै संगठनले कोरोना महामारीको नयाँ संकट सुरु हुन लागेको भन्दै चेतावनी दिएको हो । संगठनका महानिर्देशक डा. टेड्रोस अधोनम घेब्रेयससले शुक्रवार हालसम्मकै धेरै एक लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेको र यसले नयाँ खतरा उत्पन्न हुने संकत गरेको भन्दै चेतावनी दिएका हुन् । उनले अमेरिका, दक्षिण एसिया र मध्यपूर्वमा कोरोना भाइरसका कारण संक्रमित हुने दर उच्च भएको बताए । डा. टेड्रोसले विभिन्न मुलुकहरुले अर्थ व्यवस्थालाई सुधार्नका लागि लकडाउन खुकुलो बनाएको र मानिसहरु अझैपनि घरमै बस्न मन पराएपनि बाध्यताका कारण बाहिर निस्कदा त्यसले खतरा बढाएको भन्दै अवस्था झन् जटिल बन्दै गएकोले सचेत रहन पनि आग्रह गरे ।

ब्राजिल विश्वको दोस्रो मुलुक बनेको छ जहाँ कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रवार एकैदिन ब्राजिलमा कोरोना भाइरसका कराण ५४ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । जुन हालसम्मकै उच्च संख्या हो । ब्राजिलमा लगातार चौथो दिन कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ सयभन्दा बढी छ । योसँगै ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ हजार ९० पुगेको  छ । विशेषज्ञहरुका अनुसार ब्राजिलमा जाँचको संख्या अझै कम भएका कारण यतिमात्रै संक्रमित पुष्टि भएका छन् । 

जिम्बावेका स्वास्थ्यमन्त्री ओबादियाह मोयोलाई पक्राउ गरिएको छ । कोरोना महामारीको क्रममा स्वास्थ्य सामग्री आपूर्तिमा भ्रष्टाचार गरेको आरोपमा उनलाई पक्राउन गरिएको समाचार संस्था अल जजिराले लेखेको छ । जिम्बावेको भ्रष्टाचार विरुद्धको आयोगका प्रवक्ता जोन मकामुरेले स्वास्थ्य तथा बालबालिकामन्त्री मोयोलाई शुक्रवार पक्राउ गरिएको र आज अदालतमा पेश गर्ने तयारी भएको बताएका छन् । कोरोना महामारीसँग लड्नका लागि सामान खरिदको क्रममा मन्त्री मोयोले कम्पनीसँग २० लाख डलर बराबरको भ्रष्टाचार गरेको प्रतिपक्षी दलले आरोप लगाएपछि उनलाई पक्राउ गरिएको पनि प्रवक्ता मकामुरले बताएका छन् ।

भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको प्रत्येक दिन नयाँ रेकर्ड बन्दैछ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा शुक्रवार हालसम्मकै धेरै १४ हजार ५ सय भन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संखया ३ लाख ९५ हजार नाघेको छ । भारत कोरोना भाइरस संक्रमितमा विश्वकै चौथो मुलुक हो । यस्तै भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म १२ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण हालसम्म संक्रमित हुनेको संखया ८७ लाख ६५ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण ४ लाख ६२ हजारको मृत्यु भइसकेको छ भने संक्रमित भएकामध्ये ४६ लाख २७ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2020-06-20 14:00:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts