अपडेट

कोरोना भाइरस विरुद्ध चीनले बनाएको खोपको क्लिनिकल परीक्षणका लागि ब्राजिलले दियो अनुमति

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, २० असार ।नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारको क्रममा शनिवार मृत्यु भएको हो । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण  मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन राति ९ः५५ बजे आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो । उनी मधुमेहका दीर्घरोगीसमेत थिए । असार १६ गते कतारबाट नेपाल फर्किएपछि उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ लगातार खोकी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो ।

यसैबीच, गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरु नवलपुरका ७, म्याग्दीका ३, कास्कीका २, बागलुङका २, स्याङजा र तनहुँका एक÷एक जना रहेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुर जिल्लाको देवचुली नगरपालिकाका ३१, ३९, ३५, २० र ४२ वर्षीय ५ जना पुरुष र ३० र २५ वर्षीया २ जना महिला, कास्कीको पोखरा महानगरपालिकाका ३३ र २७ वर्षीया २ जना पुरुष, म्याग्दीको रघुगंगा गाउँपालिकाका २७ र ४७ वर्षीय २ जना पुरुष र मंगला गाउँपालिकाका २४ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण भएको हो । यस्तै बागलुङको ढोरपाटन नगरपालिकाका २२ वर्ष र बरेङ गाउँपालिकाका ४२ वर्षीय पुरुष पनि कोरोना संक्रमित भएका छन् । तनहुँको भीमाद नगरपालिकाका ३६ वर्षीय पुरुष र स्याङजाको पुतलीबजार नगरपालिकाका ३८ वर्षीय पुरुष पनि कोरोनाबाट संक्रमित भएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ७९ पुगेको छ ।  

भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ लाख ४८ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ४ सय ४१ जनाको मृत्यु भएको छ ।  योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ हजार ६ सय नाघेको छ । 

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी कोरोना भाइरसका कारण संक्रमित भएका छन् । मन्त्री कुरैशीले सामाजीक सञ्जाल ट्विटरमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिए । उनले आफूमा कोरोना संक्रमण पुष्टि भएपछि हाल होम क्वारेन्टाइनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि उल्लेख गरेका छन् ।

ब्राजिल सरकारले कोरोना भाइरस विरुद्धको चीनियाँ खोपको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको  छ । ब्राजिलको नियमित स्वास्थ्य जाँच संस्थानले चीनले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका अनुमति दिएको हो । यस क्लिनिकल परीक्षणमा चीनको सिनोभेक र ब्राजिलको एक औषधि उद्योग सहभागि हुने छन् । ब्राजिलको ६ राज्यमा चीनले विकास गरेको खोपको परीक्षण हुने जनाइएको छ । ब्राजिल विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसका कारण १५ लाख ४० हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट लड्नका लागि सरकारद्वारा अपनाइएको तरिकाको जाँचका लागि फ्रान्समा छुट्टै अदालत गठन गरिएको छ । यूनियनका सदस्यहरु र चिकित्सकहरुको गुनासोपछि निवर्तमान प्रधानमन्त्री एडवर्ड फिलिपसहित तीन अन्य वरिष्ठ अधिकारिलाई केन्द्रमा राखेर जाँच गरिने फ्रान्स सरकारले जनाएको छ । यसअघि शुक्रवार मन्त्रीपरिषदमा भएको फेरबदलपछि फ्रान्सका प्रधानमन्त्री फिलिपले पदबाट राजीनामा दिएका थिए । महामारीको क्रममा चिकित्सा उपकरणमा कमी आएको भन्दै सरकारको आलोचना भएको छ ।

अमेरिकामा पछिल्लो २४ घन्टामा ५३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाका विभिन्न राज्यमा कोरोना संक्रमितको नयाँ रेकर्ड कायम हुँदै गइरहेको छ । अमेरिकाको अलबामा, अलास्का, इडाहो, मिसीसिपी, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना र टेनेसीमा शुक्रवार बढी संक्रमित फेला परेका छन् । विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २८ लाखभन्दा बढी संक्रमित भएका छन् भने एक लाख ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न मुलुकहरुले कोरोना संक्रमणको तथ्यांक लुकाउन थालेको भन्दै चेतावनी दिएको छ । संगठनको नियमति जानकारीको क्रममा आपतकालिन विभागका प्रमुख माइकल जे र्यानले कोरोना संक्रमणको तथ्यांक लुकाउँदा त्यसले भयावह अवस्था आउन सक्ने भन्दै चेतावनी दिएका हुन् । उनले मुलुकको अर्थ व्यवस्थालाई सुदृद्ध गर्नका लागि लकडाउनमा छुट दिएको भएपनि सावधानी अपनाउने कुरामा वेवास्ता गरेको पाइएको बताए । उनले कोरोना संक्रमणको कम जोखिम रहेको स्थानमा सावधानी अपनाउँदै लकडाउनमा छुट दिनुका साथै संक्रमण बढी भएको स्थानमा कडा कदम उठाउनुको विकल्प नरहेको बताए । उनले संक्रमणलाई वेवास्ता गर्ने मुलुकमा स्वास्थ्य उपचार गर्न नसक्ने मुलुकमा ज्यान जाने जोखिम उच्च हुने र त्यसले ठूलो क्षति हुने भन्दै सबैलाई सचेत गराएका हुन् ।

दक्षिण अफ्रिकामा लकडाउनमा छुट दिँदै गर्दा त्याहाँको गरिब बस्तीहरुमा कोरोना महामारी तीव्र गतिमा फैलिँदै गएको छ । दक्षिण अफ्रिकाको केपटाउनमा रहेको एक बस्तीमा कोरोना महामारी तीव्र गतिमा बढ्दै जाँदा उपचारमा समस्या हुने थालेको बताइएको छ । उपचारमा खटिएका एक जना एरिक ग्रोमेरे नामक डाक्टरले अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र अस्पतालको अवस्था नाजुक बन्दै गएको बताएका छन् । दक्षिण अफ्रिकामा हालसम्म एक लाख ७७ हजारभन्दा बढी संक्रमित भएका छन् भने २ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या एक करोड १० लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरसका कारण ५ लाख ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित भएकामध्ये ६३ लाख ४५ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।

Last modified on 2020-07-06 08:20:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts