कोरोना भाइरसको संक्रमण हावाबाट फैलिएको विषयमा डब्लूएचओले थाल्यो अध्ययन



Download our app to get more features

एजेन्सी, २३ असार । विश्व स्वास्थ्य संगठनले हावाको माध्यमबाट कोरोना संक्रमण फैलिरहेको विषयमा अध्ययन गरिरहेको बताएको छ ।

विश्वका ३२ मुलुकका २ सय ३९ जना वैज्ञानिकहरुको संगठनलाई लेखेको खुला पत्रमा कोरोना भाइरसको सामान्य कण पनि हावामा लामो समयसम्म जीवित रहने भएकाले पछिल्लो समय तीव्र गतिमा संक्रमण फैलिन थालेको भन्दै चेतावनी दिएको थियो ।

विश्व स्वास्थ्य संगठनको नियमित मिडिया ब्रिफिंगको क्रममा संगठनका प्रवक्ता तारिक जसारेभिकले यस विषयमा संगठन जानकार रहेको र यस विषयमा आफ्ना वैज्ञानिकहरुसँग अध्ययन गरिरहेको बताए । वैज्ञानिकहरुले कोरोना भाइरसको विषयमा पुनः विचार गर्नुपर्ने र यस सम्बन्धी निर्देशिकाहरु परिवर्तन गर्नुपर्ने भन्दै विश्व स्वास्थ्य संगठनलाई खुला पत्र लेखेको थियो ।

यस विषयमा संगठनका प्रवक्ता तारिकले आफ्ना प्राविधिक विशेषज्ञहरुसँग यस विषयमा समिक्षा गरिरहेको र भाइरस हावाको माध्यमबाट नै फैलिरहेको छ भन्ने अझै प्रष्ट हुन नसकेकाले अध्ययन जारी रहेको बताए । तर, यदि यस्तो भएको अवस्थामा कोरोना भाइरसबाट  जोगिने विषयमा संगठनले दिएको सुझावमा परिवर्तन गर्न सकिनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार, मानिसहरुमा कम्तिमा ३ फिटको दुरी कायम गर्न, मास्क अनिवार्य लगाउनुले संक्रमण रोक्न सकिन्छ । 

यसैबीच, विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका कारण एड्स रोगीहरुको जीवन रक्षा औषधिको आपुर्ति कम हुन थालेका भन्दै चिन्ता व्यक्त गरेको छ । संगठनको एक अध्ययन अनुसार ७३ मुलुकमा कोरोना महामारीका कारण एड्सको जीवनरक्षक औषधिको स्टक सकिन लागेको भन्दै चेतावनी दिइएको छ । यस्तै २४ देशमा एड्सको आवश्यक औषधि निकै कम भइसकेको र सप्लाई बन्द भइसकेको बताएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडहोनम गेब्रियेसुसले यो स्थिति निकै चिन्ताजनक रहेको बताएका छन् । उनले विश्वका अन्य मुलुक र उनका सहयोगीहरुलाई एचआईभी संक्रमित व्यक्तिको जीवनरक्षाका लागि औषधिको आपूर्तिका लागि पनि भनेका छन् । 

भारतले कोरोना संक्रमितको उपचारका लागि रेमडिसिभिर औषधि बजारमा सार्वजनिक गर्न लागेको छ । अमेरिकी औषधि उत्पादककर्ता गिलियड साइन्सेजको एन्टी भाइरल औषधि रेमडेसिभिरको जेनेरिक भर्जन भारतीय बाजारमा सार्वजनिक गर्न लागेको छ ।

भारतले सार्वजनिक गर्न लागेको औषधिको मूल्य ४ हजार ८ सय रुपैयाँ तय गरिएको छ । कोभिड १९ संक्रमितमाथि गरिएको परीक्षणमा एन्टी भाइरल औषधि रेमडेसिभिरले संक्रमित व्यक्तिहरु चाँडो निको भइरहेको र उनीहरुका लागि सहयोग रहेको डाक्टरहरुले पत्ता लगाएका थिए ।

बीबीसीका अनुसार अमेरिकी औषधि कम्पनी मायलिन एनभीले भारतीय बाजारका लागि रेमडेसिभिरको तय गरेको मूल्य अन्य धनि मुलुकहरुको तुलनामा करिब ८० प्रतिशत कम रहेको छ ।

क्यालिफोर्नियास्थित गिलिएड साइन्सेजले विभिन्न प्रकारका जेनेरिक औषधि उत्पादक कम्पनीसँग मिलेर सम्झौता गरेको छ । जसको माध्यमबाट रेमडेसिभिरलाई करिब १ सय २७ विकासशिल मुलुकलाई उपलब्ध गराउन सकिनेछ ।

पछिल्ला दुई महिनामा भारतीय औषधि कम्पनी सिप्ला र हेटेरो ल्याब्सले रेमडेसिभिरको जेनेरिक भर्जÞन भारतमा सार्वजनिक गरेको थियो । सिप्लाले आफ्नो औषधिको मूल्य ५ हजार भन्दा केहि कम तय गरेको थियो भने हेटेरो ल्याब्सले ५ हजार ४ सय मूल्य तय गरेको थियो । मायलिन एनभीका अनुसार यो मूल्य एक सय मिलीग्राम भायल (शीशी) को हो । तर, एक जना संक्रमितलाई यो कति भायल लाग्न सक्छ भन्ने प्रष्ट नभएकाले कित भायल बनाउने भन्ने यकिन हुन सकेको छैन ।

गिलिएड साइन्सेजका अनुसार, एक जना संक्रमितलाई यदि पाँच दिनको कोर्स दिइयो भने उसका लागि रेमडेसिभिरको छ भायल औषधि लाग्ने गरेको छ ।

भारत अहिले विश्वको तेस्रो कोरोना संक्रमित मुलुक हो । जहाँ ७ लाख भन्दा बढी संक्रमित भएका छन् । भारतले स्वदेशमै पनि कोरोना भाइरस विरुद्धको खोपको विकास गरिरहेको छ ।

Last modified on 2020-07-07 12:01:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts