विश्वका यी मुलुक जहाँ लकडाउनलाई दोहोर्याएर जारी गरियो

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, ३१ असार । विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण विश्वका लाखौं मानिसहरु प्रभावित हुने क्रम अझै जारी छ । विश्वका विभिन्न शहरहरुमा कोरोनाका कारण लगाइएको प्रतिबन्द खुकुलो बनाइएको छ भने कतिपय स्थानमा दोहोर्याएर लकडाउन जारी गरिएको छ ।
 
पछिल्लो केही दिनदेखि कोरोना संक्रमणको दर विश्वभर नै बढ्दै जाँदा भारतसहित अमेरिकाका विभिन्न राज्यहरुमा पनि खुकुलो बनाइएको लकडाउन दोहोर्याएर जारी गरिएको छ । 

भारतको विभिन्न राज्यमा लकडाउन दोहोर्याएर जारी
भारत विश्वकै तेस्रो कोरोना संक्रमित मुलुक हो । जहाँ हालसम्म ९ लाख भन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् । पछिल्लो समय भारतमा दिनकै २५ देखि २८ हजारका दरले कोरोना संक्रमित थपिँदै गएपछि केही राज्यहरुमा खुकुलो बनाइएको लकडाउन फेरि जारी गरिएको छ । भारतको बैंगलोरमा कोरोना संक्रमितको दर तीव्र गतिमा बढ्दै गएपछि मंगलवारदेखि दोहोर्याएर कडाईका साथ लकडाउन जारी गरिएको छ । यस्तै भारतको उत्तर प्रदेश राज्यमा पनि खुकुलो बनाइएको लकडाउनलाई कडा नियमका साथ लागू गर्न भन्दै लकडाउन जारी गरिएको छ ।

भेनेजुएलामा फेरि लकडाउन
भेनेजुएलामा सरकारले राजधानी कराकासमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि फेरि लकडाउन घोषणा गरेको छ । आजदेखि कराकासमा कडा नियमका साथ लकडाउन सुरु गरिएको छ । भेनेजुएलामा कोरोना भाइरस संक्रमणको पहिलो केश मार्च महिनाको सुरुवातमा देखा परेको थियो । त्यसपछि  भेनेजुएलाको प्रायः जसो भागमा लगाइएको लकडाउन १२ अगस्तसम्म जारी रहने छ । तर, राजधानी कराकसमा खुकुलो बनाइएको लकडाउनलाई फेरि कडाईंका साथ पालना गर्ने नियमसहित जारी गरिएको छ । हालसम्म भेनेजुएलामा कोरोनाका कारण १० हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ९३ जनाको मृत्यु भइसकेको छ । 

 

यसअघि विश्वकै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकाका विभिन्न राज्यमा पनि कोरोना महामारीलाई धयानमा राखि खुकलो बनाइएको लकडाउन दोहोर्याएर जारी गरिएको छ । क्यालिफोर्निया, टेक्सास, नेवाद सहितका राज्यमा लकडाउन दोहोर्याएर लागु गरिएको छ । यस्तै अस्ट्रेलियामा पनि मेलबर्न र क्विन्सल्याण्डमा कोरोना संक्रमणको दर बढ्न थालेपछि दोहोर्याएर लकडाउन जारी गरिएको छ ।

यस्तै चीन, दक्षिण अफ्रिकामा पनि कोरोना संक्रमणको दर बढ्दै गएपछि दोहोर्याएर लकडाउन जारी गरिएको छ । ईरानमा पनि ईदलाई लिएर खुकुलो बनाइएको लकडाउन अहिले कोरोना संक्रमणको दर बढ्दै गएपछि दोहोर्याएर जारी गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना महामारीलाई लिएर पटक पटक सचेत गराउँदै आएको छ । लकडाउनलाई हटाउन र खुकुलो बनाउन हतार नगर्न भन्दै विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै आएको छ । तर, विश्वका विभिन्न मुलुकले संगठनको कुरालाई वेवास्ता गर्दै लकडाउन खुकुलो बनाउँदै जाँदा कोरोना संक्रमणको दरमा तीव्रता आएको स्वयं लकडाउनु खुकुलो बनाएका मुलुकहरुले नै स्विकारेका छन् ।

फ्रान्समा मास्क लगाउन अनिवार्य 
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बेस्टिल डे को अवसरमा सबैलाई मास्क लगाउन अनिवार्य गरिएको बताएका छन् । एक अन्र्तवार्ताको क्रममा उनले आनउने केही हप्तासम्म सबै सार्वजनिक स्थान र बन्द स्थानमा मास्क लगाउन अनिवार्य गरिने बताए । फ्रान्समा हालसम्म कोरोनाका कारण १ लाख ७२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो समय फ्रान्समा एक गर्भवति महिलाको गर्भमै बच्चालाई कोरोना संक्रमण पुष्टि भएको छ । तर, हाल नवजात शिशुको स्वास्थ्य भने सुधार हुँदै गएको छ । 

रूसमा लकडाउनलाई खुकुलो बनाइयो 
रूसमा मास्क लगाउने नियममा छुट दिइएको छ । रूसमा कोरोना भाइरस संक्रमणका कारण ६ हजार मानिसहरु थप संक्रमित भएका छन् । रूसमा प्रतिदिन थपिने संख्यामा यो पछिल्लो समयको केही कम संख्या रहेको जनाइएको छ । गत मंगलवारदेखि सार्वजनिक स्थानमा मास्क लगाउने सम्बन्धी नियममा सरकारले छुट दिएको हो । रूसमा हालसम्म  कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७ लाख ३९ हजार नाघिसकेको छ भने ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

विश्वभर फैलिएको कोरोना महामारीका कारण हालसम्म संक्रमित हुनेको संख्या एक करोड ३४ लाख ६२ हजार नाघिसकेको छ भने ५ लाख ८१ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । यस्तै हालसम्म विश्वभर संक्रमित भएकामध्ये ७८ लाख ५१ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts