अपडेट

भारतमा कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ३० हजार नजिक



Download our app to get more features

एजेन्सी, ८ साउन । भारतमा कोरोना संक्रमितको संख्या १२ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा थप ४५ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या १२ लाख ३९ हजार ६ सयभन्दा बढी भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ६ सय ४८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ८ सय ९० पुगेको छ ।
 
विश्व स्वास्थ्य संगठनले सन् २०२१ भन्दा पहिले कोरोना भाइरसको खोप बन्ने कुनै आशा नरहेको स्पष्ट पारेको छ । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइक र्यानले कोरोना भाइरसको खाप बनाउने विषयमा अध्ययन र अनुसन्धानकर्तालाई सकारात्मक नतिजा प्राप्त भएपनि २०२१ को सुरुवाति क्रममा मात्रै खोपको  बन्ने बताएका छन् । उनले कोरोना विरुद्धको खोपको सुरक्षा मापदण्डमा कुनै कमी नगरिने भन्दै खोप बन्ने गतिमा केही ढिलो भएपनि त्यसलाई सहन सकिने बताए । कोरोना भाइरस विरुद्धको खोप मानिसलाई दिनुभन्दा पहिले कति सुरक्षित र प्रभावकारी छ त्यो विषयमा विश्व स्वास्थ्य संगठनले पहिले नै सुनिश्चित गर्ने अनिमात्रै मानिसमा त्यो खोप दिने उनको भनाइ छ । डा. र्यानले अहिलेसम्म कोरोना विरुद्धको सम्भावित खोप आफ्नो तेस्रो चरणको परीक्षणको क्रममा रहेको र सुरक्षा मापदण्डमा कुनैपनि खोप फेल नभएकोले आशावादी रहेको बताए ।

कोरोनासँग लड्नका लागि पाकिस्तान २५ करोड डलर ऋण लिन लागेको छ । चीन समर्थित एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) ले बुधवार कोरोनासँग लड्नका लागि पाकिस्तानलाई २५ करोड डलर ऋण दिन लागेको जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार एआईआईबी बाहेक विश्व बैंकले पनि यो ऋणमा साझेदारी गर्नेछ । बैंकले दिएको जानकारी अनुसार पाकिस्तानले यो ऋण लिएर आफ्नो स्वास्थ्य सेवालाई राम्रो बनाउन सक्नेछ । एआईआईबीले यसअघि पनि पाकिस्तानलाई ५० करोड डलरको ऋण उपलब्ध गराएको थियो । पाकिस्तानमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ । पाकिस्तान स्वास्थ्य मन्त्रालयका अनुसार पाकिस्तानमा हालसम्म कोरोना भाइरसका कारण २ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ५ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोको दोस्रो रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ । उनको कार्यालयले बुधवार यसको पुष्टि गर्दै बोलसोनारो थप दुई साता क्वारेन्टाइनमा बस्ने बताएको छ । साथै उनको सबै यात्रा र कार्यक्रमहरु स्थगित गरिएको छ । ७ जुलाईमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको बोलसोनारो राष्ट्रपति भवनमै सेल्फÞ आइसोलेशनमा छन् । बुधवार दोस्रो पटक गरिएको कोरोना परीक्षणमा कोरोना दोहोरिएर पनि पोजेटिभ आएपछि उनले आफ्नो क्वारेन्टाइन समयलाई थप गरेका छन् । कोरोना पोजेटिभ देखिएपनि राष्ट्रपति बोलसोनारोले त्यसलाई सामान्य ज्वरो भन्दै आएको र सार्वजनिक कार्यक्रममा मास्क निकाल्दा उनको आलोचना भएको थियो । कोरोना संक्रमणका कारण ब्राजिलमा हालसम्म २२ लाख ३१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ८२ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

Last modified on 2020-07-23 10:14:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts