अपडेट

भारतमा एकैदिन ५२ हजारभन्दा बढी संक्रमित



Download our app to get more features

एजेन्सी, १५ साउन । विश्वकै तेस्रो कोरोना संक्रमणका कारण प्रभावित मुलुक भारतमा प्रत्येक दिन नयाँ रेकर्ड कायम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा भारतमा हालसम्मकै धेरै संक्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिन ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ लाख ८० हजार नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ७ सय ७५ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ हजार ९ सय नाघेको छ । यस्तै हालसम्म भारतमा १० लाखभन्दा बढी संक्रमित स्वस्थ भइसकेका छन् ।

अमेरिकाको प्रतिनिधि सभाले आफ्ना सबै सदस्य र कर्मचारीलाई अनिवार्य मास्क लगाउन आदेश जारी गरेको छ । सदनकी स्पीकर न्यान्सी पेलोसीले नियम तोड्ने सांसद र कर्मचारीलाई निस्कासन गर्ने चेतावनी समेत दिएकी छिन् । टेक्सास रिपब्लिकनका लुई गोमर्ट सांसदलाई कोरोना संक्रमण पुष्टि भएपछि पेलोसीले यस्तो आदेश जारी गरेकी हुन् । अमेरिकामा हालसम्म १० जना सांसद कोरोना संक्रमित भइसकेका छन् ।

अस्ट्रेलियाका भिक्टोरिया राज्यमा कोरोना संक्रमणका कारण एकैदिन मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घन्टामा १३ जनाको मृत्यु भएको छ भने ७ सय २३ जना नयाँ संक्रमित फेला परेका छन् । यो संख्या सोमवारको तुलनामा ३६ प्रतिशतले वृद्धि भएको मानिएको छ । अस्ट्रेलियाको दोस्रो धेरै जनसंख्या रहेको भिक्टोरिया राज्यमा कोरोना संक्रमणको दोस्रो चरणको सुरुवात भएको भन्दै चिन्ता बढेको छ । कोरोना संक्रमणको दर बढ्न थालेपछि त्यहाँको सरकारले नागरिकलाई घरबाट बाहिर ननिस्कन अपिल गरेको छ । साथै लक्षण देखिनासाथ तुरुन्त जाँच गराउन पनि आग्रह गरेको छ । यसैबीच कोरोना संक्रमणको प्रसार रोक्नका लागि आजदेखि केही क्षेत्रमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ ।

यूरोपका लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डाक्टर ह्यान्स क्लूजले युवाहरुमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय तीव्र गतिमा फैलिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले युवाहरुमाथि ध्यान दिनुपर्ने आवश्यक्ता रहेको भन्दै युवाहरुसँग संवादलाई अगाडी बढाएर उनीहरुको स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने बताए ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या एक करोड ७१ लाख ८९ हजार नाघेको छ । यस्तै हालसम्म संक्रमित भएकामध्ये १ करोड ७ लाख एक हजारभन्दा बढी स्वस्थ भएका छन् भने ६ लाख ७० हजार भन्दाबढीको हालसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Last modified on 2020-07-30 11:35:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts