चीनले बनाएको कोरोना खोपले पायो ‘पेटेन्ट’, ३ महिनाभित्र बजारमा आउने

एजेन्सी,१ भदौ । चीनको खोप कम्पनी क्यानसिनो बायलजिक्स कर्पोरेशनको कोरोना खोप एडी५–एनसीओभीले पहिलो आविष्कार पेटेन्टु सर्वाधिकारका लागि मञ्जुरी पाएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले यसको जानकारी दिएको हो ।
चीनको बौद्धिक सम्पदा नियामक संस्थाले ११ अगस्ट तारिखमा क्यानसाइनको खोपको सर्वाधिकारका लागि मञ्जुरी दिएको हो । चीनले कुनै कोभिड–१९ को लागि कुनै पनि खोपलाई मञ्जुरी दिएको यो पहिलो पटक हो । यद्यपि यसलाई वैज्ञानिक उपलब्धि नभइ व्यावसायिक उपलब्धि मानिएको छ ।
वाल्टर एण्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्रोफेसर मार्क पेलेग्रिनीले द गार्जियनु अखबारसँग भने, यो सर्वाधिकारको कारण कसैले अब यो खोपको नक्कल गर्न पाउने छैन तर क्लिनिकल परीक्षणमा अघि बढ्नको लागि सर्वाधिकार हुनु कुनै अनिवार्य मापदण्ड होइन ।
पेलेग्रिनीले यो खोपको बारेमा केही हप्ताअघि मेडिकल जर्नल ल्यान्सेटमा खबर छापिएको पनि बताए । अक्सफोर्ड समूहले आफ्नो खोपको बारेमा जानकारी प्रकाशित गरेको बेला नै चिनियाँ खोपको बारेमा पनि खबर छापिएको पेलेग्रिनीले बताए ।
दुवै खोपमा कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउनको लागि एडेनोभाइरस (चिसोपना र सामान्य सङ्क्रमण निम्त्याउने भाइरस)को प्रयोग गरिएको छ ।
साउदी अरबले यही महिना क्यानसाइन कम्पनीको खोपको तेस्रो चरणको परीक्षण गर्ने योजना बनाइरहेको बताएको थियो । यता क्यानसाइनोले तेस्रो चरणको परीक्षणको लागि रुस, ब्राजिल र चिलीसँग कुरा गरिरहेको बताएको थियो ।
खोपले मञ्जुरी पाएको खबर आएपछि सोमबार बिहान क्यानसाइनोको हङकङको शेयरमा १४ प्रतिशत र दिउँसोसम्म शङ्घाई शेयरमा ६ दशमलव ६ प्रतिशतको बढोत्तरी भएको थियो ।