२४ घन्टामा विश्वभर थपिए ३ लाख ७ हजारभन्दा बढी संक्रमित, संख्या २ करोड ९१ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, २९ भदौ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण एकैदिन संक्रमित हुनेको संख्या हालसम्मकै धेरै रहेको जनाएको छ ।

संगठनका अनुसार पछिल्लो २४ घन्टामा विश्वभर ३ लाख ७ हजार ९ सय ३० नयाँ संक्रमित थपिएका छन् । यो संख्या विश्वभर एकैदिन थपिने संक्रमितको हालसम्मकै धेरै रहेको पनि संगठनले जनाएको छ ।

यसअघि ६ सेप्टेम्बरमा विश्वभर ३ लाख ६ हजारभन्दा बढी कोरोना संक्रमित एकैदिन थपिएका थिए ।

विश्वभर एकैदिन ३ लाख ७ हजारभन्दा बढी संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या पनि २ करोड ९० लाख नाघेको छ । 

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ८२ हजार ६ सय नाघेको छ । यस्तै हालसम्म विश्वभर संक्रमित भएकामध्ये २ करोड २० लाख २७ हजारभन्दा बढी स्वस्थ भएका छन् । यसैगरी हालसम्म कोरोना संक्रमणका कारण विश्वभर ९ लाख २८ हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 

कोरोना महामारीका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । तर, पछिल्लो समय भारतमा संक्रमित थपिने नयाँ रेकर्ड कायम भएको छ । भारतमा विश्वभर नै सबैभन्दा बढी संक्रमित एकैदिन थपिँदै गएको र कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक बनेको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ४८ लाख नाघिसकेको छ भने ७९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

यस्तै विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ६७ लाखभन्दा बढी संक्रमित भएका छन् भने एक लाख ९८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकापछि ल्याटिन अमेरिकन मुलुक ब्राजिलमा सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म एक लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ४३ लाखभन्दा बढी संक्रमित भएका छन् ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts