डडेल्धुरामा कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन, गाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङ्ग



Download our app to get more features

डडेल्धुरा, ८ असोज । डडेल्धुरामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ । 

नवदुर्गा गाउँपालिका–२ का ४८ वर्षीय मृतक पुरुषको शव अमरगढी नगरपालिका–११ स्थित रडुवाखोलामा नेपाली सेनाले व्यवस्थापन गरेको हो ।
 
रणबम गणबाट खटिएको सेनाको टोलीले मृतक पुरुषको शव बिहिबार दिउँसो व्यवस्थापन गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले बताए । 

मृतकको गाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङ
भारतबाट दुई दिनअघि मात्रै आएका मृतकलाई भारतमै कोरोना संक्रमण पुष्टि भएको खुलेको छ । संक्रमण भएपछि उनी कञ्चनपुरको त्रिनगर नाका भएर सोझै नवदुर्गा गाउँपालिका–२ स्थित आफ्नो घर गएका थिए । 

तर २ दिनपछि श्वासप्रश्वासमा समस्या भएको भन्दै उनलाई उपचारको लागि डडेल्धुरा  अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल पुगेको केहि बेरमै मृत्यु भएका उनीमा डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको थियो । 

संक्रमितको मृत्युपश्चात गाउँ सिल गरेर उनको सम्पर्कमा आएकाहरुको खोजी गरिँदैछ । वडा नम्बर २ को कार्यायले सूचना जारी गर्दै आवतजावत नहुनेगरी वडा सिल गरिएको जनाएको छ । 

पूर्वमा बेडपानी खोला, पश्चिमको बुङडा गाड, उत्तरमा अशिग्राम देवस्थल र दक्षिणमा रडुवा खोला लामाखेत गाडसम्म सिल गरिएको वडाअध्यक्ष रघुनाथ भट्टले बताए । 

त्यस्तै उनको सम्पर्कमा आएकाहरुको लगभग खोजी भइसकेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले जानकारी दिए । ‘उनको सम्पर्कमा आएकाहरुको संख्या धेरै छैन । उनीहरुलाई ५ दिन क्वारेन्टाइन बसाएपछि स्वाब लिने प्रक्रिया हुनेछ’ उनले भने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts