यूकेमा खोप परीक्षणका लागि स्वयंसेवकहरूलाई भाइरस दिन सक्ने



Download our app to get more features

बीबीसी, ९ असोज । कोभिड १९ विरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने बताइएको छ।

च्यालेन्ज ट्रायल भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने बताइएको छ। त्यस्ता स्वयंसेवकलाई कोरोनाभाइरसबाट जानाजान सङ्क्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता  खोजिने छ।

यस विषयमा द फाइनान्शल टाइम्सले पहिलो पटक समाचार प्रकाशन गरेको थियो। यूके सरकारले ह्यूमन च्यालेन्ज स्टडीज मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ।

तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरि नसकिएको बीबीसीले जनाएको छ ।  त्यस्तो किसिमको परीक्षण गर्नका लागि सहमति दिइएमा स्वयंसेवक बन्न १८ वर्षीय विद्यार्थी एलास्टेर फ्रेजर उरक्युहार्ट तयार छन्।

उनले बीबीसी रेडियो फोरुको टुडे कार्यक्रममा भने, मलाई लाग्छ यस्तो किसिमको परीक्षणबाट हजारौँको जीवन रक्षा गर्न सकिन्छ र साँच्चै विश्वलाई यो महामारीबाट बाहिर ल्याउन सकिन्छ। यो कुरा मलाई अर्थपूर्ण लाग्यो।

त्यसै कार्यक्रममा बोल्दै अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले त्यस्तो परीक्षणको विचार राम्रो रहेको र यसमा रोगको वास्तविकता बुझ्ने क्षमता रहेको बताए।
प्राध्यापक होर्बीका अनुसार यस्ता परीक्षणमा स्वयंसेवकहरूलाई नजिकबाट नियालिनेछ र उनीहरूले भाइरसप्रति कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने कुरा हेर्नका लागि उनीहरूको प्रतिरक्षा प्रणालीको अनुगमन गरिनेछ।

एक सरकारी प्रवक्ताले त्यस्तो परीक्षणबारे छलफल भइरहेको जानकारी दिए। कोरोनाभाइरसविरुद्ध खोप विकास गर्नका लागि विश्वभरि तीव्र गतिमा काम भइरहेको छ।

हालसम्म ३६ वटा खोपहरू क्लिनिकल परीक्षणको चरणमा छन्। त्यसमध्ये एक अक्सफर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षणको अन्तिम चरणनजिक पुगिसकेको छ।

सफल खोपले भाइरसविरुद्ध सुरक्षा प्रदान गर्नेछ। खोप उपलब्ध भएपछि लकडाउन र सामाजिक दूरी जस्ता विषयलाई बिस्तारै खुकुलो पार्दै लान सकिनेछ।
 

Last modified on 2020-09-25 11:32:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts