विश्व दृष्टि दिवस

बालबालिकामा किन बढ्दै छ अदूरदृष्टि ? यस्ता छन् कारण र जोगिने उपाय



Download our app to get more features

काठमाडौं, २२ असोज । आज विश्व दृष्टि दिवस, नेपालमा पनि मनाइँदै छ । दृष्टि प्रतिको आश भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । प्रत्येक वर्ष ८ अक्टुबरका दिन यो मनाइने गरिन्छ । तर, अन्य वर्षको तुलनामा यो वर्षको दृष्टि दिवस फरक हुने भएको छ । कारण कोरोना महामारीका कारण यस वर्ष कुनैपनि ठूलो कार्यक्रम वा र्यालीको आयोजना गरिने छैन ।

एक तथ्यांकका अनुसार विश्वमा परावर्तनीय दोष हुने मान्छेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । तीमध्ये अधिकांशमा अदूरदृष्टि (म्योपिया) छ । अस्ट्रेलियाका वैज्ञानिकहरुले गरेको आँकलन अनुसार सन् २०५० सम्ममा विश्वका ६० देखि ७५ प्रतिशत मानिसमा अदूरदृष्टि हुने सम्भावना छ ।

बढि मात्रामा चीन, सिंगापुर, ताइवान जस्ता एसियाली देशमा अदूरदृष्टिबाट प्रभावित हुनेहरु भेटिएका छन् । यी देशमा ८० देखि ९० प्रतिशत स्कुले विद्यार्थीमा अदूरदृष्टिको समस्या पाइएकोछ । नेपालमा अबको क्रममा स्कुले विद्यार्थीमा अदूरदृष्टिको समस्या ५० देखि ६० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । कारण इन्टरनेटको अधिकतम प्रयोग ।

के हो त अदूरदृष्टि ?
सामान्यतया एउटा स्वस्थ आँखामा जब प्रकाशका किरण प्रवेश गर्छन् ती किरण आँखाको विभिन्न भागबाट परावर्तित हुँदै आँखाको पर्दामा एकत्रित हुन्छन । प्रस्ट  देख्नका लागि ती किरण पर्दामै एकत्रित हुनुपर्छ, तर अदूरदृष्टि भएका आँखामा ती परिवर्तित किरण पर्दामा पुग्नु अगाडिनै एकत्रित हुन्छन । जसरी क्यामेरामा फोकस नमिल्दा फोटो धमिलो हुन्छ त्यसैगरी आँखामा पनि ती प्रकाशका किरण पर्दामा पुग्नु अगावै एकत्रित भएका कारणले अदूरदृष्टिमा आँखा धमिलो हुन्छ ।

कसरी हुन्छ अदूरदृष्टि ?
अदूरदृष्टि हुनुका कारण धेरै हुन्छन् । प्रायःजसो यो समस्या आमाबाबुबाट छोराछोरीमा जान्छ जसलाई वंशाणुगत भनिन्छ । तर, हालसालैको अनुसन्धानले अदूरदृष्टि हुनुमा वातावारणीय प्रभावहरुको भूमिका रहेको पाइएको छ । आँखाको धेरै नजिक हुनेगरी कुनै काममा लामो समय बिताउनु र घरभित्रै बस्ने बच्चाहरुमा यो समस्या धेरै देखिने गरेको छ । यसका साथै यो वर्ष अदुरदृष्टिको समस्या हुनेहरुको संख्या बढ्ने जोखिम छ । कारण अधिकांश बालबालिकाले इन्टरनेटको माध्यमबाट अध्ययन गरिरहेका छन् । जसले गर्दा उनीहरु घन्टौ मोबाइल र ल्यापटको अगाडी बस्नु परिरहेको छ ।

को छ त अदूरदृष्टि हुने जोखिममा ?
यो समस्या धेरैजसो बाल्य अवस्थामै देखिन्छ । यदि, आमा बुबामध्ये कसै एकजनालाई अथवा दुवै जनालाई अदूरदृष्टि छ भने बच्चामा यो समस्या देखिने सम्भावना प्रवल हुन्छ । त्यसैगरी, धेरै नजिकबाट मोबाइल, आइप्याड, टिभी हेर्ने , दिनभरि घरभित्रै बस्ने, बाहिरी घामको प्रकाशबाट वञ्चित हुने बालबालिका यो समस्याको जोखिममा पर्छन् ।

अदूरदृष्टि कसरी थाहा पाउने ?
आँखा चिम्सो पारेर हेर्ने, टिभी नजिकै बसेर हेर्ने, मोबाइल नजिक राखेर हेर्ने, आँखा धमिलो देखेँ भन्ने, पछिको बेन्चबाट ब्ल्याकबोर्डको अक्षर नदेख्रने जस्ता संकेत अदूरदृष्टिका लक्षण हुन् । यदि बच्चामा यीमध्ये कुनै लक्षण देखिएमा दृष्टि विशेषज्ञ (अप्टोमेट्रिस्ट), नेत्र विशेषज्ञ (अप्थाल्मोलोजिस्ट) सँग अथवा नजिकैको आँखा केन्द्रमा सम्पर्क गर्नुपर्छ ।

कसरी गर्ने उपचार ?
अदूरदृष्टिको उपचार भनेको चस्मा, कन्ट्याक्ट लेन्स र लेजर अप्रेसन हो । यी उपचारहरू उमेर, आँखाको पावर र आँखाको स्वास्थ्य अवस्था हेरेर अपनाउने गरिन्छ । सामान्यतया पहिलो उपचार भनेको ’माइनस पावर’को चस्मा लगाउनु नै हो । त्यसपछि आँखाको स्वास्थ्य, बाहिरी वातावरण आदिका आधारमा कन्ट्याक्ट लेन्स प्रयोग वा लेजर अप्रेसन गर्न सकिन्छ ।

यो समस्या बढ्दै गए आँखालाई कस्तो हानि गर्छ ? 
यदि, अदूरदृष्टिको समस्या सानो उमेरमा देखिएको हो भने, उमेर अनुसार यो बढ्दै जाने सम्भावना हुन्छ अर्थात् लगाउनुपर्ने माइनस पावर बढ्दै जान्छ । उमेर अनुसार छिटोछिटो पावर बढेमा यसले आँखाको पर्दामा असर ल्याउन सक्छ । जस्तैः आँखा तन्किँदै जाँदा पर्दा च्यातिनु, पर्दामा प्वाल पर्नु र पर्दाका विभिन्न भागमा दाग बस्नु आदि । पर्दामा असर परेमा आँखा धेरै धमिलो हुन्छ र अन्धोपन समेत हुन सक्छ । चस्मा लगाएर वा अरू कुनै उपायले पहिलाको जस्तो दृष्टि फर्काउन निकै कठिन पर्छ ।

पावर बढ्न नदिने उपाय:
विशेष किसिमले निर्माण गरिएका चस्मा, कन्ट्याक्ट लेन्स र आँखामा राख्ने थोपाले पावर बढ्ने क्रमलाई केही हदसम्म रोक्न सक्छ । तर, यी उपाय अनुसन्धानमै छन् र अहिलेसम्म कुनै उपायले पनि पावर बढ्ने क्रमलाई पूर्ण रूपले रोक्न भने सकेका छैनन् । यी उपाय उपलब्ध नभएको खण्डमा सकेसम्म नजिकको काम कम गर्ने, घर भित्रका मोबाइल, आइप्याडभन्दा बाहिरी खेलमा ध्यान दिने गर्नुपर्छ । सबैभन्दा राम्रो भनेको यस्तो समस्या आउनै नदिनु हो ।

अदूरदृष्टि आउन नदिन के छन् उपाय:
वैज्ञानिकहरुका अनुसार आँखामा घामको प्रकाशको सम्पर्कको कमी नै यो समस्याको प्रमुख कारण हो । त्यसकारण बाहिरी घामको प्रकाशसँग आफूलाई सम्पर्कमा राख्नु जरुरी छ । हालसालै गरेका अनुसन्धानका अनुसार दिनमा कम्तिमा पनि २ घन्टा (प्रत्येक हप्ता १४ घन्टा) बाहिरी प्रकाशको सम्पर्कमा आएमा अदूरदृष्टि हुने सम्भावना कम हुन्छ । 

Last modified on 2020-10-08 07:56:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts