दाँत सिरिङ–सिरिङ हुने कारण र बच्ने उपाय



Download our app to get more features
Spark_health_home Happy new year 2021

काठमाडौं, ६ मंसिर । चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ । यस रोग जन्माउने तथा बढाउने काम तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा, औषधि, रसायन, गुलियो पदार्थले गर्छ ।
कस्ता व्यक्तिलाई हुन्छ सिरिङ–सिरिङ ?

- धेरै कडा ब्रस, बलपूर्वक दाँत सफा गर्ने तथा गलत तरिकाले ब्रस गर्ने ।

- उमेर धेरै भएका । 

- गिजा तथा पेरियोडोन्सियमको उपचार गरिएका बिरामी ।

- अमिलो डकार्ने व्यक्ति ।

- थुक वा र्‍याल कम आउने ।

- धेरै मात्रामा तथा लामो समयसम्म मुखमा राखी अम्लीय खाद्य पदार्थ कागती, अंगुर खानेहरू ।

- अम्लीय पेय पदार्थ दिनभरि पिउनेहरू, जस्तै– कोल्ड ड्रिंक्स ।

- ब्याट्री, प्लेटिङ, दर्जी, सिकर्मी, जुत्ता बनाउने, धुलोमा रोजगारी तथा काम गर्ने ।

- दाह्रा किट्ने, पाइपबाट धूम्रपान गर्ने, बबी पिन दाँतले खोल्ने बानी, माटो खाने बानी भएका ।

यस्तै, ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्तब्रस र दन्तमञ्जन नमिल्दा दाँतका घाँटी क्षेत्रमा इनामेल, सिमेन्टम खिइएर डेन्टिन देखिने अवस्था एब्रेजन अमेरिकामा ८–३० प्रतिशतमा देखिएको छ ।

 इनामेल  खिइने कारण :

१. गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ। अनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछ।
२. एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ।
३. कसै–कसैको सुत्दाखेरि दाँत किट्ने बानी हुन्छ । यस्तो बानी नियमित गर्नाले इनामेल खिइन्छ। 
४. मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ–सिरिङको समस्या आउँछ।

५. यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ ।

६.अन्य कारणहरुः
–    दाँत कीराले खायो भने पनि सिरिङ–सिरिङ गर्ने समस्या आउँछ।
–    पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भनेपनि सिरिङ–सिरिङ हुन्छ।
–    एकपटक भरेको दाँतमा फेरि कीराले खान सुरु ग¥यो भने पनि यो समस्या आउन सक्छ।
–    कहिलेकाहीँ सिमेन्ट भरेपछि, ब्लिचिङ गरेपछि पनि दाँत सिरिङ–सिरिङ हुनसक्छ। तर त्यो केही समयपछि आफैँ सन्चो हुन्छ।
–    कहिलेकाहीँ एसिडयुक्त मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउनसक्छ।

सिरिङ–सिरिङबाट बच्ने उपाय :
१. सही तरिकाले ब्रस गर्नुपर्छ। ब्रस कडा छ भने नरम ब्रसको प्रयोग गर्नुपर्छ। 
२. एसिडभएको खानेकुरा सकेसम्म नखाने अथवा कम खाने, यदि सेवन गरेमा प्रशस्त मात्रामा पानी पिउने बानी बसाउने। 
३. ग्यास्ट्रिकसम्बन्धी समस्याको उपचार गराउने।
४ . सुत्दाखेरि दाँत किट्ने बानी छ भने दन्त चिकित्सकको तुरुन्तै परामर्श लिइहाल्ने र माउथगार्ड लगाउने। 
५.दिनको दुइपटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने बानी बसाउने, फ्लोराइड भएको माउथवास,  फ्लस प्रयोग गर्ने र दाँत, गिजा स्वस्थ राख्ने। 
६. यदि खैनी, चुरोट सेवन गर्ने बानी छ भने तुरुन्तै त्याग्ने।

उपचार :
यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारणअनुसार उपचार फरक पर्छ।
- संवेदनशीलतामा  प्रयोग गर्ने मन्जनहरु थुप्रै नाममा बजारमा उपलब्ध छन् जुन दुई हप्ताजति प्रयोग गरे सिरिङ–सिरिङको समस्या बिस्तारै कम भएर जान्छ।
- यदि गिजा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ। यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ।
- दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनु पर्छ।
- दाँत किराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ। 
- यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ। 
- सकेसम्म पेटको समस्याको उपचार छिट्टो गराइहाल्नुपर्छ। 
- नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ।
- यदि माथि उल्लेखित उपचार गर्दा पनि निको नभएमा रुट क्यानल उपचार गराउनु पर्ने हुन सक्छ।

(वीर अस्पतालमा कार्यरत दन्तचिकित्सक डाक्टर रितु श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)

Hamro Doctor
Last modified on 2020-11-21 08:58:40

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts