दाँत सिरिङ–सिरिङ हुने कारण र बच्ने उपाय



Download our app to get more features

काठमाडौं, ६ मंसिर । चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ । यस रोग जन्माउने तथा बढाउने काम तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा, औषधि, रसायन, गुलियो पदार्थले गर्छ ।
कस्ता व्यक्तिलाई हुन्छ सिरिङ–सिरिङ ?

- धेरै कडा ब्रस, बलपूर्वक दाँत सफा गर्ने तथा गलत तरिकाले ब्रस गर्ने ।

- उमेर धेरै भएका । 

- गिजा तथा पेरियोडोन्सियमको उपचार गरिएका बिरामी ।

- अमिलो डकार्ने व्यक्ति ।

- थुक वा र्‍याल कम आउने ।

- धेरै मात्रामा तथा लामो समयसम्म मुखमा राखी अम्लीय खाद्य पदार्थ कागती, अंगुर खानेहरू ।

- अम्लीय पेय पदार्थ दिनभरि पिउनेहरू, जस्तै– कोल्ड ड्रिंक्स ।

- ब्याट्री, प्लेटिङ, दर्जी, सिकर्मी, जुत्ता बनाउने, धुलोमा रोजगारी तथा काम गर्ने ।

- दाह्रा किट्ने, पाइपबाट धूम्रपान गर्ने, बबी पिन दाँतले खोल्ने बानी, माटो खाने बानी भएका ।

यस्तै, ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्तब्रस र दन्तमञ्जन नमिल्दा दाँतका घाँटी क्षेत्रमा इनामेल, सिमेन्टम खिइएर डेन्टिन देखिने अवस्था एब्रेजन अमेरिकामा ८–३० प्रतिशतमा देखिएको छ ।

 इनामेल  खिइने कारण :

१. गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ। अनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछ।
२. एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ।
३. कसै–कसैको सुत्दाखेरि दाँत किट्ने बानी हुन्छ । यस्तो बानी नियमित गर्नाले इनामेल खिइन्छ। 
४. मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ–सिरिङको समस्या आउँछ।

५. यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ ।

६.अन्य कारणहरुः
–    दाँत कीराले खायो भने पनि सिरिङ–सिरिङ गर्ने समस्या आउँछ।
–    पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भनेपनि सिरिङ–सिरिङ हुन्छ।
–    एकपटक भरेको दाँतमा फेरि कीराले खान सुरु ग¥यो भने पनि यो समस्या आउन सक्छ।
–    कहिलेकाहीँ सिमेन्ट भरेपछि, ब्लिचिङ गरेपछि पनि दाँत सिरिङ–सिरिङ हुनसक्छ। तर त्यो केही समयपछि आफैँ सन्चो हुन्छ।
–    कहिलेकाहीँ एसिडयुक्त मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउनसक्छ।

सिरिङ–सिरिङबाट बच्ने उपाय :
१. सही तरिकाले ब्रस गर्नुपर्छ। ब्रस कडा छ भने नरम ब्रसको प्रयोग गर्नुपर्छ। 
२. एसिडभएको खानेकुरा सकेसम्म नखाने अथवा कम खाने, यदि सेवन गरेमा प्रशस्त मात्रामा पानी पिउने बानी बसाउने। 
३. ग्यास्ट्रिकसम्बन्धी समस्याको उपचार गराउने।
४ . सुत्दाखेरि दाँत किट्ने बानी छ भने दन्त चिकित्सकको तुरुन्तै परामर्श लिइहाल्ने र माउथगार्ड लगाउने। 
५.दिनको दुइपटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने बानी बसाउने, फ्लोराइड भएको माउथवास,  फ्लस प्रयोग गर्ने र दाँत, गिजा स्वस्थ राख्ने। 
६. यदि खैनी, चुरोट सेवन गर्ने बानी छ भने तुरुन्तै त्याग्ने।

उपचार :
यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारणअनुसार उपचार फरक पर्छ।
- संवेदनशीलतामा  प्रयोग गर्ने मन्जनहरु थुप्रै नाममा बजारमा उपलब्ध छन् जुन दुई हप्ताजति प्रयोग गरे सिरिङ–सिरिङको समस्या बिस्तारै कम भएर जान्छ।
- यदि गिजा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ। यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ।
- दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनु पर्छ।
- दाँत किराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ। 
- यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ। 
- सकेसम्म पेटको समस्याको उपचार छिट्टो गराइहाल्नुपर्छ। 
- नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ।
- यदि माथि उल्लेखित उपचार गर्दा पनि निको नभएमा रुट क्यानल उपचार गराउनु पर्ने हुन सक्छ।

(वीर अस्पतालमा कार्यरत दन्तचिकित्सक डाक्टर रितु श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)

Last modified on 2020-11-21 08:58:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts