ओम अस्पतालमा कोभिडपछि देखिने इम्युन–प्रतिक्रियात्मक इन्फ्लाम्मेटरी रोगको सफल उपचार

जानौं इम्युन–प्रतिक्रियात्मक इन्फ्लाम्मेटरी रोगबारे



Download our app to get more features

काठमाडौं, १३ पुस । काठमाडौं स्थित ओम अस्पतालमा ‘मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन’ अर्थात् एम.आई.एस.सी. नामक रोगको सफल उपचार गरिएको छ । 

कोरोना भाइरसको संक्रमण पश्चात इम्युन–प्रतिक्रियात्मक इन्फ्लाम्मेटरी (सुजन गराउने) रोग एम.आई.एस.सी हो ।

एक जना किशोर निरव पाण्डेमा यस रोगले आक्रमण गरेपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको थियो । बिग्रदो स्वासप्रस्वास र मुटुको समस्याका कारण उनलाई फिजिसियन डा. विश्वनाथ कोइराला, क्रिटिकल केयर चिकित्सक डा. प्रमेश श्रेष्ठको संयुक्त निगरानीमा  सघन उपचार कक्षमा राखी उपचार शुरु गरिएको थियो ।

उनको उपचारमा छाती रोग विशेषज्ञ डा. सुवोध सागर ढकाल, मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेल, डा. सुभाष साह, संक्रामक रोग विशेषज्ञ  डा. अनुप  सुवेदी, इन्टेन्सिभिष्ट डा. विपिन कार्की, ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. राहुल पाठक, इम्युनोलोजिस्ट एवं र्युमाटोलोजिष्ट  डा. साकेत झा,  साइकायट्रीस्ट डा. पुष्प प्रसाद शर्मा संलग्न थिए । पेडियाट्रिक इम्युनोलोजिस्ट एवं र्युमाटोलोजिष्ट डा. धर्मागत भट्टराईको परामर्शद्वारा लक्षण, बहु–प्रणालीगत असर र रिपोर्टका आधारमा रोग एम.आई.एस.सी. भएको पुष्टि भएको थियो । 

डा. भट्टराई ‘पेडियाट्रिक इम्युनोलोजी तथा र्युमाटोलोजि’ विषयमा ‘डक्टरेट अफ मेडिसिन– डी.एम.’ डिग्री हासिल गर्ने प्रथम र हालसम्म एकमात्र नेपाली चिकित्सक हुन् ।

डा. भट्टराई भन्छन् “बिरामीको सम्पूर्ण क्लिनिकल, ल्याबोरेटरी र प्रणालीगत प्रमाणका आधारमा एम.आई.एस.सी.निदान गरी उपचार सुरु भयो । यो कोभिड विरुद्धको इम्युन प्रतिक्रियासृजित समस्या हो । मुख्यतः ‘इन्ट्राभेनस इम्युनोग्लोब्युलिन र ‘इन्ट्राभेनस  मिथाइलप्रेडनिसोलोन’ को प्रयोग पश्चात मुटुको गम्भीर सुजनमा उत्साहजनक सुधार देखियो । एम.आई.एस.सी.जस्ता तमाम इम्युनोलोजी र र्युमाटोलोजिका बिमारी प्राय निदान नै नहुने, ढिलो निदान हुने र जटिलता भोग्नुपर्ने बाध्यता हुनसक्छ ।”   

के हो ‘मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन’ रोग ?
‘मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन’ अर्थात् एम.आई.एस.सी. (MIS-C) कोविड पश्चात इम्युन–प्रतिक्रियात्मक इन्फ्लाम्मेटरी (सुजन गराउने) रोग हो । २०२० अप्रिलमा पहिलोपटक युरोपमा पाइएको इम्युन गडबडीको यो रोगको पहिचान र नामकरण रोगको प्रकृतिअनुसार हाइपरइन्फ्लामेसन (अति सुजन) मुख्य देखिएको थियो । यस रोगमा कोविड पश्चातको इम्युन प्रतिक्रिया भएको पाइएको छ । यसर्थ, कोभिडले बच्चा र किशोरमा जटिलता नल्याउने कुरा असान्दर्भिक हो भन्ने बुझ्नु जरुरी छ ।

शरीरका थुप्रै अलग–अलग प्रणाली जस्तै रक्तसंचार, श्वाशप्रश्वाश, स्नायु, पाचन आदि प्रणालीमा गम्भीर असर पुर्याउने यो बिमारीका प्रारम्भिक संकेत छाला र नरम अंग (आखाँ, जिब्रो, ओठ) मा देखिन सक्छन् । जुनसुकै उमेरमा हुनसक्ने भएपनि बढीजसो ५ वर्षमाथिका बालबालिका र किशोरमा यो रोग देखिएको छ ।

“कोविड (कोरोना भाइरल डिजिज) ले प्रत्यक्षरुपमा बालबच्चा र किशोरमा कम असर पार्ने मानिएपनि कोविडको इम्युन-प्रतिक्रिया स्वरूप हुने बिमारी PMIS-TS अर्थात् MIS-C ले भने बाल तथा किशोरहरुमा गम्भीर समस्या ल्याउनसक्छ । यो रोग लाग्दा कोविड पिसिआर नेगेटिभ आएपनि कोविड एन्टीबडी पोजिटिभ देखिन्छ । एकातिर कोविडका सामान्य लक्षण देखिएका या लक्षण नै नदेखिएका बच्चामा पनि MIS-C हुनसक्छ भने अर्कोतिर कोविड भएका सबैमा MIS-C  हुने भने होइन । इम्युन–प्रतिक्रियात्मक यो रोगबाट कुनै बच्चा या किशोरलाई जटिलता ल्याउने अवस्थामा पुग्न नदिन अभिभावकले हालको परिवेशमा ज्वरोसँगै आउने अरु लक्षणलाई बिशेष ध्यान दिनुपर्छ । तीनमा उच्च ज्वरोसँगै डाबर आउने, आखाँ, जिब्रो या ओठ रातो हुने, पखाला लाग्ने, पेट या टाउको दुख्ने, चिडचिड़े आलस्य या सुस्त हुने, हृदयगति बढ्ने, हातखुट्टा सुन्निने, स्वासप्रस्वासमा कुनैपनि प्रकारको समस्या आउनेजस्ता लक्षण देखिएमा तुरुन्त परामर्श लिनुपर्छ ।

कोभिड १९ को महामारीको परिप्रेक्षमा जनचेतना जगाउन थप प्रयासको जरुरी छ । डा. भट्टराई भन्छन् “अहिले पनि नेपालमा ‘बच्चामा अटोइम्युन, सुजन (इन्फ्लामेसन), जस्ता  र्युमाटिक (बाथजन्य) रोग हुन्छन् र ?’ ‘इम्युनकमीको पनि रोग हुन्छ र ?’ भन्ने जिज्ञासा गरेको सुनिन्छ । तत्काल गम्भीर तथा दिर्घरोग दुवै प्रकृतिका हुने ‘इम्युनोलोजिकल र र्युमाटोलोजिकल’ बिमारी हाम्रा ओरिपरी नै हुन्छन् । तर, हामी त्यता पट्टिको सम्भावना सोच्दै सोचेनौं भने त्यो बिमार निदान नभई जटिलता आउने, अपांग हुने र ज्यान नै गुमाउने स्थिति आउन सक्छ । इम्युनोलोजिकल र ¥युमाटोलोजिकल रोग दीर्घरोग मात्र हुन्नन् । कावासाकी रोग, लुपस, MIS-C  जस्ता थुप्रै तत्काल असर छोड्ने गम्भीर रोग यसका जल्दाबल्दा उदाहरण हुन् ।”

‘पी.एम.आई.एस-टि.एस.’ (PMIS-TS) पनि भनिने यो रोग बच्चा र किशोरमा गम्भीर र ज्यानै लिन सक्ने बहुआंगिक बिमारी हो । तर, यो रोग धेरै कम बच्चाहरुमा मात्र देखिन्छ । नेपालमा पनि भर्खरै रिपोर्ट हुन थालेको यो बिमारीको हालसालै ओम अस्पतालमा पनि निदान र सफल उपचार गरिएको छ । 

Last modified on 2020-12-31 07:26:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts