कोरोना भाइरसको नयाँ प्रकार पुरानोभन्दा बढी संक्रामक कसरी ? यसो भन्छ अध्ययन



Download our app to get more features

एजेन्सी, १९ पुस । बेलायतमा फैलिएको कोरोना भाइरसको नयाँ प्रकार पुरानो भाइरसभन्दा बढी संक्रामक रहेको एक अध्ययनले देखाएको छ । 

हुन त जब बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार फेला परेको बताइएको थियो, त्यस बेला नै बेलायत सरकारले यो भाइरस पहिलेको भाइरसभन्दा बढी संक्रामक रहेको र तीव्र गतिमा संक्रमण फैलाउन थालेको बताएको थियो । त्यसैलाई आधार मानेर हालै गरिएको एक अध्ययनमा भाइरसको नयाँ रिप्रोडक्शन (प्रजनन) नम्बर वा आर नम्बरलाई शून्य शदमलव ४ देखि शून्य दशमलव ७ को बीच बढाउने गरेको बताइएको छ ।
 
अध्ययनका अनुसार बेलायतमा आर नम्बर १ दशमलव १ देखि १ दशमलव ३ को बीच रहेको अनुमान गरिएको छ । यदि बेलायतमा कोरोना भाइरसको संक्रमण दर कम गर्नु छ भने आर नम्बरलाई १ देखि १ दशमलव शून्यभन्दा कममा ल्याउनु पर्ने हुन्छ ।

के हो ''आर नम्बर'' ?
आर नम्बरको अर्थ हो की, एक जना संक्रमित व्यक्तिले औसतमा कति जनालाई संक्रमित बनाउन सक्छ । अर्थात् कुनै भाइरसमा फैलन सक्ने क्षमता कति छ । यदि यो एक नम्बरभन्दा बढी छ भने त्यसले महामारी झन् बढेर जान्छ ।
 
इम्युनिटी नभएका जनसंख्यालाई आधार मानि तयार गरिएको एक आँकलनका अनुसार आर नम्बर १५ देखिएको छ । यसको अर्थ एक संक्रमित व्यक्तिले औसतमा १५ जनालाई एकै पटकमा संक्रमित बनाउन सक्छ ।

कोरोना भाइरस आधिकारिक रुपमा सार्स कोभिड–२ को आर नम्बर तीन नजिक छ । जुन महामारीको रुपमा परिणत हुन बेर लाग्ने छैन ।

आर नम्बर निकाल्नका लागि कुनै पनि भाइरसबाट मृत्यु हुने व्यक्ति, अस्पतालमा भर्ना भएका वा भाइरस पोजेटिभ आएका व्यक्तिको संख्यालाई प्रयोग गर्ने गरिन्छ । यसले भाइरस फैलने क्षमताको अनुमान लगाइन्छ ।

यदि आर नम्बर एकभन्दा बढी हुन्छ भने यसको अर्थ संक्रमणको दर बढ्दै जान्छ । अर्थात् कुनैपनि संक्रमित व्यक्तिले कम्तिमा पनि एक जनालाई संक्रमित बनाउँछ नै । तर, यदि आर नम्बर एकभन्दा कम हुन्छ भने यसको प्रसार कम हुन्छ । किनकी त्यस अवस्थामा कुनैपनि व्यक्तिमा संक्रमण फैलिन पाउँदैन ।
 
लण्डनको इम्पेरियल कलेजका प्राध्यापक एक्सल ग्यान्डीका अनुसार भाइरसको दुबै प्रकारकाबीच निकै भिन्नता छ । उनी भन्छन्, “भाइरकासे नयाँ प्रकार कति सजिलो गरि फैलिन सक्छ यो नै ठूलो अन्तर हो । जुन बेला यो महामारीको शुरुआत भएको थियो त्यस समयको भन्दा अहिले गम्भीर परिवर्तन आएको छ ।”

इम्पेरियल कलेजको अध्ययन अनुसार बेलायतमा नोभेम्बरमा गरिएको लकडाउनमा नयाँ प्रकारको संक्रमण तीन गुणाले बढेको छ र पहिलो भेरिएन्छको संक्रमण घटेर एक तिहाईमा सिमित भएको थियो ।
 
दोस्रो चरणको लहरको क्रममा कोभिड–१९ को संक्रमण दर तीव्र गतिमा बढ्न थाल्यो र एक दिनमा थपिने नयाँ संक्रमितको दरले रेकर्ड कायम गर्न थाल्यो ।

सबै उमेर समूहमा संक्रमण 
शुरुवाती परिणाममा कोरोना भाइरसको नयाँ प्रकार सबै उमेर समूहमा फैलिरहेको पाइएको थियो । जसमा २० भन्दा कम उमेरका मानिसमा कोरोनाको नयाँ प्रकारवाला भाइरस बढी तीव्र गतिमा फैलिँदैछ । विशेषगरी माध्यमिक र उच्च माध्यमिक तहका बालबालिकामा जोखिम उच्च देखिएको छ ।

तर, अध्ययनमा सहभागि प्राध्यापक ग्यान्डीका अनुसार पछिल्लो नयाँ परिणाम अनुसार यस भाइरसले कुनै एक उमेर समूहभन्दा पनि सबै उमेर समूहका मानिसहरुलाई संक्रमित बनाइरहेको छ ।

बेलायतमा नोभेम्बर महिनामा लगाइएको लकडाउन र मानिसहरुमाथि कडाईं गरिएपनि कोरोना भाइरसको नयाँ प्रकारलाई रोक्नमा काम नलागेको विषयलाई अध्ययनमा खतरनाक पक्ष भनिएको छ । कारण, पहिलेको भाइरसलाई नियन्त्रण गर्न लगाइएको प्रतिबन्धले संक्रमण दर एक तिहाई घटेर गएको थियो भने नयाँ प्रकारको भाइरसको संक्रमण दर तीन गुणासम्म बढेर गएको छ । जसका कारण विभिन्न मुलुकहरुमा नयाँ प्रतिबन्ध लगाइएको छ ।

हालसम्म यो प्रस्ट छैन की, हालको प्रतिबन्धले नयाँ प्रकारको भाइरसको प्रसारलाई रोक्नमा काम लाग्न सक्छ की सक्दैन । किनभने पुरानो भाइरसलाई नियन्त्रण गर्नका लागि दुई प्रकारको प्रतिबन्ध लगाइएको थियो । विभिन्न वैज्ञानिकहरुले नयाँ प्रकारको भाइरस नियन्त्रणका लागि प्रतिबन्ध मात्रै हाइन कडाईका साथ नियम पालना गराउनु पर्ने आवश्यकता पर्न सक्ने बताएका छन् । 

पर्याप्त मानिसमा कोरोनाको खोप दिएको खण्डमा संक्रमणको स्तर कम हुन सुरु हुनेछ । तर, त्यस अगावै मानिसहरुले जनस्वास्थ्यका मापदण्डलाई लागू गरिरहनु आवश्यक छ । साथै सामाजीक तथा भौतिक दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, नियमित हात धनुे जस्ता कुरालाई जारी नै राख्नुपर्छ ।

Last modified on 2021-01-04 09:52:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts