‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ नाराका साथ यस वर्षको राष्ट्रिय योग दिवस मनाइँदै



Download our app to get more features

काठमाडौं, २८ पुस । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सप्ताहव्यापी राष्ट्रिय योग दिवस मनाउने भएको छ ।

माघ १ गते मनाइने राष्ट्रिय योग दिवसको अवसरमा मंगलवार विभागमा आयोजित पत्रकार सम्मेलनमा सप्ताहव्यापी योग दिवस कार्यक्रमका बारेमा जानकारी दिइएको हो ।

२०७२ सालदेखि मनाउन थालिएको योग दिवसको यस वर्षको नारा ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ तय गरिएको छ । 

पुस २८ देखि माघ ५ गतेसम्म मनाइने सप्ताहव्यापी योग दिवसको पहिलो दिन मंगलवार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

विभाग अन्तर्गतको आयुर्वेद मशाखाका प्रमुख डा. श्यामबाबु यादवले कोभिडका लागि योग निकै फाइदाजनक रहेको बताए । 

उनले आयुर्वेद विभाग, शिक्षा मन्त्रालय र अन्य संस्थासँग मिलेर योग दिवसको अवधारणा बनाइएको भन्दै योगले मानिसको स्वास्थ्य र जीवनशैलीलाई सँधै स्वस्थ बनाइराख्नमा मद्दत गर्ने बताए ।

यस्तै विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले पछिल्लो समय योग सबैमा लोकप्रिय हुँदै गएको र कार्यालयहरुमा योगासन गर्ने तथा तौल नियन्त्रण सम्बन्धी प्रतिस्पर्धा हुने गरेको बताए ।

उनले नसर्ने रोग नियन्त्रणका लागि योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै आयुर्वेदिक औषधिको भूमिका महत्त्वपूर्ण हुने गरेको उल्लेख गरे ।

डा. उपाध्यायले निरोगी नेपाल, समृद्ध नेपाल बनाउनका लागि योगले ठूलो भूमिका निर्वाह गर्न सक्ने भन्दै योगलाई अपनाउन आग्रह गरे । 

उनले भने, ‘योग जीवन जिउने पद्धति हो । आसन योगको एउटा पक्ष मात्र हो । योगसँगै स्वस्थकर जीवनशैली अपनाउन र खानपानमा अनुसासन अपनाउनु आवश्यक छ । यसले मानिसको स्वास्थ्यलाई सँधै चुस्त राख्छ ।’

Last modified on 2021-01-13 17:58:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts