अस्पताल भर्ना भएका कोभिडका बिरामीलाई प्लाज्मा उपचारविधिबाट लाभ हुँदैन, एनएचएस युके



Download our app to get more features

बीबीसी, ५ माघ । यूकेका अस्पतालहरूमा गरिएका परीक्षणहरूले कोभिडको सम्भावित उपचारविधिको रूपमा हेरिएको रगत प्लाज्माको उपयोगले बिरामीको मृत्यु हुने सम्भावना नघटाएको देखाएको छ।

कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका व्यक्तिबाट प्लाज्मा सङ्कलनको अभियान चलाएको यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस तथा अनुसन्धानकर्ताहरूका लागि यो नतिजाले आघात पुर्‍याएको छ।

यो परीक्षण रिकभरी ट्रायलु नाम दिइएको एउटा विस्तृत अध्ययन तथा परीक्षणको अङ्ग थियो। यो ट्रायलले कोभिड १९ विरुद्ध कस्ता औषधि र उपचार लाभदायक छन् भनेर हेरिरहेको छ। तर अब यो ट्रायलअन्तर्गतको प्लाज्मा परीक्षण बन्द गरिएको छ।
एनएचएसको ब्लड एन्ड ट्रान्सफ्यूजन केन्द्रले प्लाज्मा दानको कार्य अस्थायी स्थगन गरिएको बताएको छ।

कन्भलेसन्ट प्लाज्मा भनिने कोभिडबाट निको भएका मानिसहरूको रगतमा भएको एन्टिबडीले अन्य बिरामीलाई रोगविरुद्ध सङ्घर्ष गर्न सघाउन सक्छ भन्ने मान्यताले धेरैको ध्यानाकृष्ट भएको छ। यो विधिलाई कोभिड१९ विरुद्ध सम्भावित उपचारको रूपमा पनि हेरिएको थियो।
यो विधिमा रोगमुक्त भएका व्यक्तिको शरीरबाट निकालिएको रगतको प्लाज्मा अरू गम्भीर बिरामीको शरीरमा दिइन्छ। त्यसो गर्दा गम्भीर बिरामीको शरीरको प्रतिरोध प्रणाली भरथेग हुने आश गरिएको थियो।

यसैकारण एनएचएसले खासगरी धेरै एन्टिबडी उत्पादन भएको ठानिने पुरुषहरूलाई प्लाज्मा दान गर्न आह्वान गरेको थियो।
तर यूकेका १०,४०० बिरामीमा गरिएको अध्ययन तथा १,८७३ मृत्युको विश्लेषण गर्दा प्लाज्मा उपचारले कुनै उल्लेखनीय भिन्नता नपारेको भेटिएको छ।

कन्भलेसन्ट प्लाज्मा उपयोग गरिएको बिरामीको समूहमा कोभिड लागेको २८ दिनभित्र १८५ बिरामीको ज्यान गएको थियो। अरू बिरामीको हकमा पनि मृत्युको अनुपात उस्तै थियो। अध्ययनमा सहभागी बिरामीहरूको अवस्थाबारे अझै जानकारी बटुलिँदैछ र यसको अन्तिम परिणाम चाँडै नै प्रकाशित गरिने बताइएको छ।

Last modified on 2021-01-19 06:52:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts