ऐन विपरित बी एण्ड सीलाई सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

प्रधानमन्त्रीको राजीनामा माग



Download our app to get more features
Spark_health_home

काठमाडौं, ३ चैत । प्राध्यापक डाक्टर गोविन्द केसीले काठमाडौं विश्वविद्यालयबाट झापाको बी एण्ड सी कलेजलाई सम्बन्धन दिए तत्काल सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी डा.केसीले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर चिकित्सा शिक्षा आयोगको बैठक बोलाउन लागेको र बी एण्ड सी कलेजलाई सम्बन्धन दिन दवाव दिन लगाउने तयारी गरेको बताए ।

डा. केसीका अनुसार आयोगका पदाधिकारीलाई सम्बन्धन दिन नमाने अख्तियारमा मुद्दा हाल्ने धम्की प्रधानमन्त्रीको तर्फबाट आएकाले यदि ऐन विपरित जबरजस्ती सम्बन्धन दिइएको अवस्थामा प्रधानमन्त्रीको समेत राजीनामा माग गरी तत्काल अनसन सुरु गर्ने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीकै संरक्षणमा नेपालमा मेडिकल माफियाहरुले मनपरी गरिरहेको भन्दै डा. केसीले यदि मेडिकल माफियालाई रोक्न सकिएन भने त्यसले नेपालको चिकित्सा क्षेत्रलाई ठूलो क्षति हुने चेतावनी दिए ।

उनले, प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दुषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दूरुपयोग गर्ने कार्य गर्दै आएको आरोप लगाए । 

आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक पनि प्रधानमन्त्री ओली नै रहेको भन्दै डा. केसीले आफ्ना अर्थ–राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापा स्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउनका लागि ओली मन्त्रीमण्डलका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, धुलिखेल स्थित काठमाडौ विश्वविद्यालय तथा धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका नैतिकताहीन स्वार्थी पदाधिकारी तथा अन्य आसेपासेलाई  परिचालन गरी रहेको दावी गरे ।

डा. केसीले प्रधानमन्त्री ओली र शिक्षा मन्त्री श्रेष्ठको निर्देशन बमोजिम चिकित्सा शिक्षा ऐन र नियमावलीको समेत ठाडो उल्लंघन गरी मेडिकल कलेजलाई सम्बन्धन दिलाउनका लागि अनैतिक हर्कत गरिनु कुनै पनि हालतमा क्षम्य नहुने उल्लेख गरे ।

उनले सरकारले आफूसँग गरेका विभिन्न सम्झौता कार्यान्यवयनमा प्रधानमन्त्री नै बाधक रहेको र ऐन नियम विपरित आफ्नो स्वार्थ पुर्तिका लागि अनावश्यक रुपले मेडिकल कलेजलाई सम्बन्धन दिन लागेकाले विरोधको गरे दिए ।

सरकारको मनपरी चल्न नदिने भन्दै डा. केसीले यदि गैर कानूनी रुपमा सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने हो र मेडिकल माफियालाई बढावा दिने हो भने त्यसको जवाफ दिनका लागि आफू तयार रहेको पनि उल्लेख गरे ।

Hamro Doctor
Last modified on 2021-03-16 18:31:49

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts