नेपाल नेत्रज्योति संघले मनायो ४३ औँ स्थापना दिवस



Download our app to get more features

काठमाडौं, १४ चैत । नेपाल नेत्रज्योति संघले आफ्नो ४३औँ स्थापना दिवसका अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने भएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै सम्मानित हुने व्यक्तिहरूको सूची घोषणा गरेको हो ।
जसअनुसार गण्डकी प्रदेश, तुल्सीपुर उपमहानगरपालिका, समाजसेवी श्रीजङ शाह, क्रिस्टोफेल ब्लाइनडेन मिसन (सिबिएम) र भरतपुर आँखा अस्पताललाई सम्मान गरिँदै छ ।

कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्दले जनसंख्या वृद्धि, बदलिँदो जीवनशैली, प्रविधिको अधिक प्रयोग, औसत आयु वृद्धिका कारण मानिसमा आँखाका नयाँनयाँ रोग देखा पर्दै गएकाले अन्धोपन न्यूनीकरण अभियानमा चुनौती थपिँदै गएको बताए ।

उनले आगामी ५ वर्षभित्र नेपाल सरकारसँगको साझेदारी र समन्वयमा ६७७ वटा आँखा उपचार केन्द्रको स्थापना तथा २२ वटा आँखा उपचार केन्द्रलाई ‘सेकन्डरी लेभल’को आँखा अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य रहेको जनाए ।

संघका अध्यक्ष डा. चेतराज पन्तले कोभिडका कारण धेरै बिरामी अस्पताल आउन नसकेको भन्दै आगामी दिनमा सबै स्थानीय तहमा आँखा उपचार सेवा विस्तार गरिने बताए ।
यस्तै, 

यस्तै, सन् २०१९ मा संघले आफूमातहतका आँखा अस्पताल तथा उपचार केन्द्रबाट ३३ लाख २३ हजार ४४ जनाको आँखाको उपचार गर्नुका साथै २ लाख ६५ हजार ९७८ जनाको आँखाको शल्यक्रिया गरिएको जनाएको छ । त्यस्तै सन् २०२० मा १३ लाख १७ हजार ६३२ जनाको आँखाको उपचार गर्नुका साथै १ लाख २१ हजार ३६२ जनाको शल्यक्रिया गरिएको कार्यक्रममा बताइयो ।

२०३५ चैत १३ गते स्थापना भएको संघले हालसम्म २१ वटा आँखा अस्पताल, १२६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखामार्फत सेवा प्रदान गरिरहेको छ । विसं २०६९ देखि कानसम्बन्धी उपचार सेवा पनि थालेको छ । कार्यक्रममा श्री नारायण थापाद्वारा लिखित ‘आँखा स्वास्थ्य एक अध्ययन’ नामक पुस्तकको लोकार्पण गरिएको थियो ।

Last modified on 2021-03-26 14:43:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts