भरतपुर अस्पतालले ५८ औँ वार्षिकोत्सव चैत २५ मा मनाउने

यस्ता छन् सप्ताहव्यापी कार्यक्रम



Download our app to get more features

चितवन, २० चैत । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो ५८ औँ वार्षिकोत्सव यही चैत २५ गते मनाउने भएको छ ।

कोरोना कहरकाबीच स्वास्थ्यका सबै मापदण्ड अपनाएर यस वर्षको वार्षिकोत्सव मनाउन लागिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए । वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आयोजन गरिने उनले बताए । 

वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम यस्तो छः
चैत १७ गतेदेखि २३ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिता राखिएको छ । प्रतियोगिता अस्पतालको नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थी तथा अस्पतालका कर्मचारी सहभागी भएका छन् । चैत २० र २१ गते राप्ती नगरपालिकामा रहेको दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य शिविर, २३ गते अस्पतालस्तरीय कविता प्रतियोगिता, २४ गते अस्पताल परिसरमा खुल्ला रक्तदान कार्यक्रम राखिएको डा. कृष्ण पौडेलले जानकारी दिए ।

त्यसैगरी चैत २५ गते बिहान ११ बजेसम्म निःशुल्क ओपिडी, विगत दुई वर्षयता अवकाश पाएका चिकित्सक तथा अन्य कर्मचारीहरूलाई सम्मान, वार्षिकोत्सव विशेष बुलेटिन विमोचन, निर्माणाधीन बिरामी कुरूवा भवन हस्तान्तरणलगाएतका कार्यक्रम रहेको उनले बताए । सोही दिन अस्पतालले आफ्नो ५८ औँ वार्षिकोत्सव मनाउँदै छ । यसरी सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि छुट्ट–छुट्टै संयोजक तोकेर उनीहरूलाई जिम्मेवारी समेत दिईएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण गतवर्ष अस्पतालले आफ्नो ५७ औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत मनाएको थियो ।

यस्तो छ अस्पतालको विकास योजना
यस अस्पतालले आफ्नो ३१ विगाहा जमिनमा व्यवस्थित पूर्वाधार निर्माण गरि नेपाल कै एक नमुना केन्द्रिय अस्पतालको रुपमा विकास गर्न सकिने सम्भावना बोकेको छ । 

अस्पतालको निर्माणाधिन ए र वि ब्लक भवन पुरागरि सि ब्लक भवन निर्माण शुरुवात गर्दै गुरुयोजनालाई पुरा गर्ने योजनामा रहेको अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले बताए । सिटि स्क्यान, एमआरआई, क्याथल्याव लगायतका आधुनिक उपकरणहरु जडान गरि सबै प्रकारका सेवाहरुलाई प्रभावकारी बनाउने, ढल, फोहरमैला आदीको वैज्ञानिक तरिकाले व्यवस्थापन गरि सफा अस्पताल बनाईने उनले जनाए । 

अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा बिकास गर्न तथा भविष्यमा अस्पतालको सम्भावनाको अध्ययन गरि रणनैतिक योजना बनाई आम नागरिकको लागि गुणस्तरीय सेवा प्रदान गर्दै भरपर्दो अस्पतालको रुपमा विकास गर्न अस्पताल विकास समिति लागि परेको अध्यक्ष डा. अधिकारीले बताए । वार्षिकोत्सवको दिन अस्पतालका समग्र विकास निर्माणका केही नयाँ योजना समेत सार्वजनिक गरिने उनले जानकारी दिए ।

आफ्नै कोरोना प्रयोगशाला
यसै अस्पताल मातहत रहेको कोरोना परीक्षण प्रयोगशाला गतवर्ष चैत २३ गतेदेखि भरतपुर–१० स्थित वाईपास रोडमा रहेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालनमा रहेको छ। भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

त्यसअघि चितवनबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ र हेटौंडा पठाउनु पर्ने बाध्यता थियो । जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो ।

स्वास्थ्य केन्द्रबाट शुरू भएर अहिले केन्द्रीय अस्पताल
यस अस्पतालको स्थापना २०१३ सालमा राप्ती दुन उपत्यका विकास समिति र अमेरीकी सरकारको संयुक्त प्रयासमा सामान्य स्वास्थ्य केन्द्रबाट शुरू भएको पाईन्छ ।

पछि गएर वि.स २०२० सालमा महेन्द्र आर्दश चिकित्सालयको रुपमा नामकरण भएको थियो । वि.स २०३९ सालमा अस्पताल विकास तथा सहयोग समिति गठनसंगै अस्पतालमा स्थानिय र समुदायको संलग्नता बढेको देखिन्छ ।

१५ शय्याबाट शुरु गरि ६  सय शय्या भन्दा बढी सञ्चालनमा
त्यस्तैगरी वि.स २०५९ सालमा अस्पताल विकास समिति स्थापना भएको थियो । १५ शय्याबाट शुरु भएको यो अस्पताल वि.स २०६७ सालमा ४ सय १५ शय्या हुँदै हाल करिब ६ सय शय्या भन्दा बढिमा सञ्चालन छ । यस अन्तर्गत नेपाल सरकारको ३ सय शय्या र अस्पताल विकास समिति अन्तर्गत ३ सय शय्या सञ्चालनमा छ । 

नेपालको मध्य भागमा रहेको चितवन जिल्लामा अवस्थित भरतपुर अस्पताल बिशिष्ट एवं अति विशिष्ट सेवाहरू प्रदान गर्ने नेपाल सरकारको यस क्षेत्रकै विश्वासिलो अस्पताल रही आएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५ चैत ३ गतेको निर्णयानुसार यस अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नती गरी संघीय सरकार अन्तर्गत राखिएको छ । यो अहिले केन्द्रीय अस्पताल बनेको छ ।

मध्य नेपालको आशाको केन्द्र भरतपुर अस्पताल
नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय  अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

Last modified on 2021-04-02 08:36:42

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts