स्वास्थ्य बीमालाई बीमा संस्थानमा गाभ्न सकिँदैनः स्वास्थ्यमन्त्री त्रिपाठी 



Download our app to get more features

काठमाडौं, २५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य बीमा ऐन अनुसार सञ्चालन भैरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डकै मातहत चलाइने स्पष्ट पारेका छन् । 

अर्थ मन्त्रालयले बीमा कार्यक्रमलाई बीमा संस्थान मातहत लैजानुपर्ने प्रस्ताव गरेको भन्ने विषयमाथि टिप्पणी गर्दै मन्त्री त्रिपाठीले स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य बीमा बोर्ड अन्तर्गत नै चल्ने स्पष्ट पारेका हुन् । स्वास्थ्य बीमा बोर्डको पाँचौ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले बीमा कार्यक्रम कालान्तरमा व्यवसायिक दृष्टिकोणबाट सञ्चालन भएपनि हाल यसलाई सामाजिक सुरक्षाकै अंगका रुपमा हेरिनुपर्ने बताए । 'दीर्घकालमा बीमा कार्यक्रमलाई आर्थिक दृष्टिकोणबाट सम्बोधन गरिनुपर्ने भएपनि हाल यो राजनीतिक, सामाजिक कार्यक्रम नै हो । यसमा सबै स्पष्ट हुनुपर्छ । यो स्वास्थ्य बीमा बोर्डबाटै सञ्चालन हुनुपर्छ ।' उनले भने । 

साथै उनले बीमा कार्यक्रमलाई अस्पतालहरुले भारका रुपमा लिन नहुने भन्दै यसलाई अन्य नियमित सेवाकै रुपमा बुझ्नुपर्ने बताए । अस्पतालहरुले बीमा कार्यक्रम नभएका खण्डमा पनि आफ्नो सेवाको गुणस्तर समयानुकुल वृद्धि गर्नुपर्ने बताए । स्वास्थ्य बीमा बोर्डलाई तत्कालका लागि सरकारले आवश्यक सहयोग निरन्तर राख्ने भन्दै मन्त्री त्रिपाठीले दीर्घकालमा बोर्ड आत्मनिर्भर भएर अघि बढ्नुपर्ने बताए । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले सरकारका सबै अंग, प्रदेश तथा स्थानीय सरकारहरुले बीमाको कार्यक्रमलाई प्रवद्र्धन गर्नुपर्ने बताए । सो अवसरमा बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन बोर्ड क्रियाशिल रहेको बताए । हालसम्म पूरा जनसंख्याको १४ प्रतिशतमात्र बीमाको दायरामा आएको भन्दै उप्रेतीले बीमाको गति सुस्त भएपनि निराशाजनक नभएको दावी गरे । बीमा कार्यक्रम प्रभावकारी हुन सरकारी स्वास्थ्य संस्थाको गुणस्तर सुधार्नुपर्ने उनको भनाइ छ । 'बीमाको गुणस्तर नहुँदा ड्रपआउट बढ्यो भन्ने कुरा छ । यसको कारण सरकारी स्वास्थ्य संस्थाको सेवा प्रवाहको गुणस्तर हो । सरकारी सेवाको गुणस्तर बढे बीमाको प्रभावकारिता बढ्छ घटे बीमाको गुणस्तर पनि घट्छ ।' उप्रेतीले भने । 

२० प्रतिशत बीमितले नविकरण गरेनन् 
स्वास्थ्य बीमा बोर्डको पाँचौ वार्षिकोत्सवको अवसरमा करिब ३८ लाख नागरिक बीमाको दायरामा आएको जानकारी दिइएको छ । तथापी, बीमा नविकरण नगर्नेहरुको प्रतिशत पनि झण्डै २० प्रतिशत पुगेको छ । यसले गर्दा अझै नागरिकमा बीमाको विश्वस्नियता बढाउनुपर्ने देखिएको कार्यक्रममा सहभागीहरुले बताए । बीमा बोर्डका अध्यक्ष डा. उप्रेतीले सेवा प्रवाह गर्ने अस्पतालहरुलाई सहज बनाउन यसअघि तोकिएको सेवाका मूल्यहरु पुनरावलोकन गर्न कार्यदल बनाएर काम भैरहेको जानकारी दिए । उप्रेतीले बीमाको संगठन संरचना स्वीकृत गरि दरबन्दी थप गर्न सकेमात्र थप प्रभावकारी काम हुने बताए । 

थप ६ जिल्लामा बीमा कार्यक्रम सुरु, काठमाडौं र ललितपुर बाँकी 
बीमा बोर्डले वार्षिकोत्वसका अवसरमा थप पाँच जिल्लामा बीमा कार्यक्रम सुरु गरेको छ । बोर्डले बारा, सर्लाही, ताप्लेजुंग, दोलखा, मनांग र मुस्तांगमा पनि बीमा कार्यक्रम सुरु गरेको छ । यो सँगै स्वास्थ्य बीमा कार्यक्रम लागू हुने जिल्लाको संख्या ७५ पुगेको छ । त्यस्तै, यसै आर्थिकवर्ष भित्र काठमाडौं र ललितपुरमा पनि बीमा कार्यक्रम सुरु गर्ने बीमा बोर्डले जनाएको छ । साथै स्वास्थ्य बीमा कार्यक्रमलाई बोर्डले सरकारले ल्याएको नागरिक एपमा पनि जोडेको छ भने बीमितले आफ्नो स्वास्थ्य बीमा अन्तर्गत हुने खर्चका बारेमा पनि एसएमएसबाट अलर्ट पाउने व्यवस्था पनि सुरु गरेको छ । 

Last modified on 2021-04-08 06:48:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts