भारतमा एकैदिन झन्डै २ लाखमा कोरोना सङ्क्रमण पुष्टि, १ हजार २६ जनाको मृत्यु

महाराष्ट्रमा आजदेखि रात्रीकालीन कर्फ्यू जारी हुने



Download our app to get more features

भारत, १ वैशाख । भारतमा एकैदिन झन्डै २ लाख नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । 

कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा स्थिति भयावह बन्दै गर्दा भारतमा दैनिक सङ्क्रमित थपिने दरले चिन्ता थपेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा भारतभर १ लाख ८५ हजार २ सय ४८ नयाँ सङ्क्रमित थपिएका छन् भने १ हजार २६ जनाको मृत्यु भएको छ ।

नयाँ सङ्क्रमित थपिएसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ३८ लाख ७१ हजार ३ सय २१ पुगेको छ । भारत कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना सङ्क्रमणका कारण १ लाख ७२ हजार १ सय १५ जनाको मृत्यु भइसकेको छ ।  

भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै जादा भारतका विभिन्न राज्य र शहरहरुमा प्रतिबन्ध लगाउन थालिएको छ । यसैक्रममा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा आज रातीदेखि क¥फ्यू जारी गरिने भएको छ । 

कोरोना सङ्क्रमणको बढ्दो दरलाई ध्यानमा राखी महाराष्ट्रमा आज रातीदेखि धारा १ सय ४४ लागू हुने महाराष्ट्र सरकारले बताएको छ । 

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले पुरै राज्यभरि नै रात्रीकालीन क¥फ्यू लागू भएपनि लकडाउन भने नहुने बताए । साथै उनले अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने र अनावश्यक घरभन्दा बाहिर ननिस्कन र भिडभाड नगर्न पनि सबैलाई आग्रह गरे ।

यस्तै राजधानी दिल्लीमा पनि विभिन्न कडाई गरिएको छ । दिल्ली सरकारले विभिन्न तहका परीक्षा तत्काल रोक्न अपिल गरेको छ भने सबैलाई सचेत र सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

यसैबीच, कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएपछि उत्तर प्रदेशका मुख्मन्त्री योगी आदित्यनाथ आइसोलेट भएका छन् । उनले आफ्नो ट्वीटर ह्यान्डलमा ट्वीट गर्दै आफू कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाले सेल्फ आइसोलेशनमा रहेको बताए ।

उनले ट्वीट गर्दै भनेका छन्, “मेरो कार्यालयका केही अधिकारी कोरोना सङ्क्रमित भएका छन् र म उनीहरुको  सम्पर्कमा आएको थिए । त्यसकारण सावधानी स्वरुप मैले आफूलाई आइसोलेट गरेको छु । साथै अबको केही समय सबै काम अनलाईनको माध्यमबाट गर्नेछु ।’

Last modified on 2021-04-17 13:31:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts