कोरोनाविरुद्धको लडाईंमा भारतलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग

लगातार पाँचौ दिन ३ लाखभन्दा बढीमा संक्रमण



Download our app to get more features

बीबीसी, १३ वैशाख । कोरोना महामारीका कारण गम्भीर अवस्थामा पुगेको भारतलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि अवस्था भयावह बन्दै गएको छ । अस्पतालमा अक्सिजन, बेड, जनशक्ति लगायत अभाव हुन थालेको र बिरामीहरुको उपचारमा समस्या हुन थालेपछि विभिन्न मुलुकहरुले सहयोग गर्ने भएको हो ।

भारतलाई कोरोना महामारीविरुद्धको लडाईमा सहयोग गर्नका लागि अमेरिकासहित बेलायत र अन्य युरोपेली मुलुकले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

यसै क्रममा अमेरिकाले भारतमा एस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध हटाइदिएको छ भने बेलायतले  भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई सहयोग पठाउन सुरु गरेको छ ।

अमेरिकामा ह्वाइटहाउसले भारतका खोप उत्पादकहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ तत्काल उपलब्ध गराउने भनेको छ ।

“जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी भारतलाई मद्दत गर्न दृढ छौँ,“ राष्ट्रपति जो बाइडनले भने ।

भारतीय अधिकारीहरू तथा सिरम इन्स्टिच्युट अफ इन्डियाले अमेरिकालाई उसले कच्चा पदार्थमा लगाएको निर्यात नियन्त्रण हटाइदिन भनेपछि अमेरिकाले यस्तो निर्णय गरेको हो । आफूकहाँ अधिक भएका खोप विदेश पठाउन ढिलाइ गरेकोमा पनि वाशिङ्टनको आलोचना भएको छ ।

अमेरिकाले भारतलाई मेडिकल तथा सुरक्षा उपकरण पनि पठाउँदैछ ।

बेलायतले पठाएको सहयोग सामग्रीको पहिलो खेप मङ्गलवार त्यहाँ पुग्दैछ । थप सहयोग यसै साता पुग्ने बताइएको छ ।

बेलायतले ४ सय ९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण – जसले हावाबाट अक्सिजन तान्नसक्छ – तथा १ सय २० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ ।

“यो निकै चिन्ताजनक समयमा हामी एक मित्र र साझेदारका रूपमा भारतसँगै खडा छौँ,“ बेलायतका प्रधानमन्धी बोरिस जोन्सनले भनेका छन् ।

सङ्क्रमण तेज भएका कारण जोन्सनको भारत भ्रमण रद्द गरिएको छ तथा भारतमाथि हाल यात्रा प्रतिबन्ध लगाइएको छ । यूएइ, क्यानडा, जर्मनी तथा नेदर्ल्यान्ड्सले पनि भारतबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन् ।

यसबीच फ्रान्सले भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ । साथै युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ ।

भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको जनाएका छन् ।

भारतमा स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ यूके भेरिअन्ट एवं भारतमै अक्टोबरमा भेटिएको अर्को भेरिअन्टका कारण अहिले तेज सङ्क्रमण फैलिरहेको छ ।

यसैबीच भारतमा लगातार पाँचौ दिन ३ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २८ सय भन्दा बढीको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गत २४ घन्टामा ३ लाख ५४ हजार ५ सय ३१ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार ३ सय पुगेको छ ।

यस्तै गत २४ घन्टामा २ हजार ८ सय ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९५ हजार १ सय १६ पुगेको छ ।
 

Last modified on 2021-04-26 12:38:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts