निषेधाज्ञाको समय घरमै बसिरहनु भएको छ भने मुख र दाँतको ख्याल यसरी राख्नुहोस



Download our app to get more features

कोरोना भाइरसको दोस्रो चरणको लहरका कारण देशभरका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दैनिक संक्रमण दर बढ्दै गर्दा सरकारले जोखिमलाई ध्यानमा राखी निषेधाज्ञा लागू गर्न गराउन आदेश जारी गरेको छ । महामारी फैलिएसँगै चैत २०७६ को दोस्रो सातादेखि नेपालमा पहिलो चरणमा पूर्ण लकडाउन गरेको थियो भने दोस्रो चरणको महामारीमा लकडाउन भन्दा पनि आंशिक लकडाउन गरिएको छ । निषेधाज्ञाको क्रममा पनि अधिकांश कार्यालय, विद्यालय, विश्वविद्यालयदेखि आपतकालिन सेवा बाहेकका सबै सेवाहरु बन्द छन् । तसर्थ आपतकालिन अवस्थामा बाहेक घरमै बसेर समग्र शरीरको स्वास्थ्यसँगै दाँत तथा मुख स्वास्थ्यको ख्याल गर्नु बुद्धिमानी हो । 

सामान्य अवस्थामा पनि अस्पताल आउँदा भिडभाड बढी हुने र कोरानाको जोखिम पनि उच्च हुने गर्छ । अझ विशेषगरी दन्तरोग उपचारमा बिरामी र डाक्टरबीचको दूरी निकै कम हुने हुँदा कोरोना संक्रमणको जोखिम दुबै पक्षमा उच्च रहन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमण सर्नबाट कम्तिमा ६ फिटको दूरी कायम गर्नुपर्ने र सोही अनुसार उपचार गर्नु पर्छ भन्ने मान्यता राख्छ । तर दन्त उपचारका क्रममा त्यो सम्भव देखिदैन् । त्यसैले अहिले आकस्मिक अवस्थामा बाहेक घरमै बसेर मुख तथा दाँतको हेरचाह गर्नु महत्वपूर्ण देखिन्छ । 
 
दाँत तथा मुख स्वास्थ्य
दाँत तथा मुख स्वास्थ्य भन्ने वित्तिकै दाँत र मुखसँग जोडिएर आउने गिजा, जिब्रो, तालु, चिउडो, गालालगायत मुख वरिपरीको भागको स्वास्थ्य बुझ्नु पर्छ । मुख हाम्रो शरीरको प्रवेशद्वार मात्र नभई शरीरको प्रतिविम्बित ऐना पनि हो । मुखमा भएको संक्रमणले शरीरको अन्य अंगहरूमा संक्रमण गराउनुको साथै शरीरमा कुनै रोग भएमा, रोग लाग्न सुरु भएमा अथवा रोगको जटिलता भएमा त्यसको प्रतिविम्बको रुपमा मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत बग्ने, श्वास गन्हाउने जस्ता समस्या देखा पर्छन् । त्यसैले मुखले हाम्रो समग्र शरीरको स्वास्थ्यलाई झल्काउछ । मुख स्वस्थ रहे मात्रै शरीर स्वस्थ रहन्छ। तसर्थ घरमै बसेर लकडाउनको अवस्थामा दाँत र मुखको स्वास्थ्यलाई ख्याल गरौं ।

निषेधाज्ञाको बेला दाँत तथा मुख स्वस्थ राख्ने तरिकाः
१. दाँत तथा मुखको सरसफाईमा ध्यान दिने 

—हरेक दिन विहान र बेलुका खाना खाइसकेपछि कुल्ला गर्ने तथा नरम ब्रस र फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्ने । 
—दुई ओटा दाँतको बीचमा अड्केको खाना निकाल्न पिन, टुथपिक वा नङको प्रयोग नगरि डेन्टल फ्लस वा इन्टर डेन्टल ब्रस प्रयोग गर्ने ।
–सानो बाबुनानीहरूलाई पनि नियमित दाँत माझ्न लगाउने वा माँझ्न सहयोग गर्ने ।
–आरसीटि उपचार पूरा नभईसकेको वा पूरा भएको तर खोल्न लगाइएको दाँत भाँच्चिने सम्भावना भएको हुँदा सो दाँतले कडा बस्तुहरु नटोक्ने । 

२. अनावश्यक खानेकुरामा नियन्त्रण गर्ने 
–सन्तुलित भोजन जस्तैं रेसादार पौष्टिक आहार तथा हरियो सागसब्जी, दूध, दही प्रशस्त खाने ।
–धेरैबेरसम्म दाँतमा चप्किने, टाँसिने, साह्रो, गुलियो, अमिलो र प्रशोधित खानेकुरा नखाने ।
–मध्यपान तथा धुम्रपान नगर्ने ।

३. दन्त चिकित्सकसँग परामर्शमा रहने 
माथि उल्लेखित कुराहरू पालना गर्दागर्दै पनि समस्या आएमा लकडाउनको समयमा नजिकैको दन्त चिकित्सकसँग परामर्श लिने र सल्लाहअनुसार मात्र अस्पताल वा डेन्टल क्लिनिक जाने । 

अस्पताल जानुपर्ने अवस्था
नेपाल डेन्टल एसोसियसनले निम्न अवस्थालाई आपतकालिन अवस्था वा अस्पताल जानुपर्ने अवस्था भनेको छ ।
१. अत्याधिक मात्रामा मुख तथा दाँतमा सहन नसक्ने गरि दुखाई भएमा । 
२. कुनै कारणबस अत्याधिक रक्तस्राव भएमा र रगत बग्न नरोकिएमा ।
३. संक्रमण तथा चोटपटकले अनुहार, गाला, घाँटी वरिपरि सुन्निएर थुक्न निल्न वा श्वास फेर्ने गाह्रो भएमा । 
४. दुर्घटना अथवा अन्य कुनै कारणबस दाँत तथा मुखमा चोटपटक लागेमा र मुख तथा अनुहारको हड्डी भाँचिएमा ।

अन्तमा लकडाउनको समयमा घरमै बसी सरकारले जारी गरेको सन्देसलाई पालना गर्दै मुख तथा दाँतको स्वास्थ्यमा ध्यान दिउ । आपतकालिन अवस्थामा बाहेक अस्पताल नजाउ, कोरोना संक्रमण हुने जोखिमबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।

Last modified on 2021-05-09 10:01:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts