ईदमा परिकार बनाउँदा ध्यान दिनुस् यी कुरामा, बढ्नेछ रोग प्रतिरोधात्मक क्षमता



Download our app to get more features

आज मुश्लिम धर्माबलम्बीहरुको महान पर्व ईद–उल–फितर अर्थात् ईद मनाइँदैछ । आजको दिन मुश्लिम धर्माबलम्बीहरुका लागि निकै नै पवित्र मानिन्छ । इस्लामिक क्यालेन्डर अनुसार रमजानपछि शव्वालको पहिलो तारिखमा ईद–उल–फितर मनाइने गरिन्छ । 

एक महिनासम्म रोजा राखेपछि आजको दिन मस्जिद र इदगहमा गएर नमाज पढेर एक अर्कासँग खुशी साटासाट गरेर ईद मनाउने चलन रहेको छ । तर, पछिल्लो समय कोरोना महामारीका कारण यो पर्व घरमै मनाइँदै छ । कोरोना महामारी सुरु भएदेखि ईदमा देखिने चहलपहल कम भएको छ । 

ईदको समय मुश्लिम धर्माबलम्बीहरुले मिठो परिकार बनाएर खाने चलन पनि रहेको छ । विशेष गरि आजको दिन मासुका विभिन्न परिकार खाने र सेबईको खिर पनि खाने चलन छ । 

कोरोना महामारीका कारण विभिन्न मुलुकमा मस्जिद र इदगहमा गएर ईद मनाउन रोक लगाइएको छ भने कोरोना नियन्त्रण भएका स्थानमा सामान्य अवस्था झै ईद मनाइँदैछ । तर, भौतिक दूरी कायम र स्वास्थ्य मापदण्डलाई पालना गर्न भनिएको छ । नेपाल र भारतमा भने घरमै परिवारका साथ ईद मनाउन निर्देशन दिइएको छ ।

खानपानका लागि पनि महत्त्वपूर्ण मानिने ईदमा स्वास्थ्यको विशेष ख्याल गरेर खानेकुरा खाने र पकाउनु पर्छ । शरीरलाई आवश्यक पर्ने विविध किसिममा पौष्टिक तत्त्वहरुका लागि र रोगबाट लड्नका लागि स्वस्थकर खानेकुरा खानुपर्छ । 

स्वस्थकर र सन्तुलित भोजनको सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ भने शरीरलाई चाहिने पौष्टिक आहारले मानिस बिरामी हुनबाट जोगिन्छ । ईदको परिकार पकाउँदा धेरै चिल्लो, पिरो, मसालेदार खानेकुरा पकाउनु उचित हुँदैन । किनकी त्यसले फुड पोइजनिङ्ग गराउन सक्छ भने बिरामी भएपछि अस्पताल जाने अवस्था छैन । त्यसकारण सकेसम्म सादा, कम मसालायुक्त र स्वस्थकर खानेकुरा पकाउने र खानुपर्छ ।

ईदको परिकार बनाउदा कार्वोहाईड्रेटयुक्त खानेकुरा पकाउनुपर्छ । हामीले खाने खानाको मुख्य भाग कार्वोहाइड्रेटले ओगटीरहेको हुन्छ । यसबाट पाइने क्यालोरीले हामीले दैनिक श्रमयुक्त कार्य गर्न सकिरहेका हुन्छौं । भात, आलु रोटी, पास्ता आदि वस्तुहरु कार्वोहाइड्रेटको मुख्य श्रोतहरु हुन् । 

यस्तै प्रोटिनको मात्रा पनि खानेकुरामा समावेश गर्नुपर्छ । यसले हाम्रो शरीरलाई बलियो बनाउने काम गर्छ तथा विभिन्न रोगसँग लड्न प्रतिरोधात्मक शक्ति पनि प्रदान गरिरहेको हुन्छ । अण्डा, माछामासु, चिज, गेडागुडी आदि यसको मुख्य स्रोत हुन् । आजको दिनमा विशेषगरी मासु पकाउने हुँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ । 

त्यसैगरी फ्याटयुक्त खानालाई पनि ध्यान दिनुपर्छ । हाम्रो शरीरमा शक्ति सञ्चित भएर फ्याट अर्थात् बोसोको रुपमा रहन्छ । तेल, घ्यू लगायतका चिल्लो पदार्थ यसका मुख्य स्रोत हुन् । त्यसकारण सेबई पकाउदा यसको प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी भिटामिनलाई पनि समावेश गर्नु आवश्यक हुन्छ । यसले हाम्रो शरीरमा उर्जा उत्पादन गर्ने विभिन्न प्रक्रियाहरूमा सहयोगीको रुपमा काम गर्छ । साथै आँखा, हड्डी, रगत आदि अंगहरुको संचालनमा पनि यसले भूमिका खेलिरहेको हुन्छ । आजको दिन खानपान पकाउदा हरियो सागपात, फलफुललाई पनि प्राथमिकतामा राखेर खानुपर्छ । जस्तै फ्रुट सलाद वा ग्रिन भेजिटेबल सलाद खान सकिन्छ ।

यस्तै सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, जिंक लगायतका खनिज पदार्थहरु हाम्रो शरीरलाई विभिन्न क्रियाकलापको निम्ती आवश्यक पर्दछन् । त्यसकारण परिकारमा यी तत्त्वलाई पनि समावेश गर्नुपर्छ ।

त्यसैगरी अरु पौष्टिक आहार जस्तै पानी पनि हाम्रो शरीरलाई नभई नहुने महत्त्वपूर्ण तत्त्व हो । सन्तुलित भोजनमा यी सबै आहार उचित मात्रामा मिलाएर तयार पारिएको हुनुपर्छ ।  

सहि मात्रामा कसरी खाने ? 
हामीले खाने खाना शक्तिको रुपमा परिवर्तन हुँदा क्यालोरीमा मापन गरिन्छ । एक वयस्क पुरुषलाई दिनमा लगभग २५ सय क्यालोरी र महिलालाई लगबग २२ सय क्यालोरी आवश्यक पर्छ । हामीले गर्ने श्रमको आधारमा क्यालोरीको घटबढ हुनसक्छ । खासै श्रमयुक्त काम नगर्ने मानिसको निम्ती क्यालोरी कम चाहिन्छ भने कडा श्रम गर्ने मानिसलाई धेरै क्यालोरीको आवश्यकता पर्ने हुन्छ । हामीले खाने खानाको क्यालोरी हिसाव गरेर एक दिनमा कति खायौं भनेर थाहा पाउन सक्छौं । हामीले खाने क्यालोरी सबै शक्तिमा उपयोग भएन भने त्यो बोसोको रुपमा सञ्चित हुन जान्छ र त्यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

सन्तुलित भोजनको “प्लेट मोडल” के हो ?
सन्तुलित भोजनमा प्लेट मोडलको अवधारणा निकै चर्चित छ । हामीले खाना खाने प्लेटलाई पाँच भागमा विभाजन गर्न सकिन्छ । त्यसमा दुई भाग भात, रोटी, आलु जस्ता कार्वोहाइड्रेट युक्त खानाहरु, अर्को दुई भाग तरकारी र फलफुल र बाँकी एक भाग माछामासु, अण्डा वा चिजलाई राख्न सकिन्छ । यसरी “प्लेट मोडल” मा आधारित भएर दैनिक सन्तुलित भोजन गर्नाले हामीलाई चाहिने पौष्टिक आहारको सहि मात्रा मिल्न सक्छ ।

भोजन सन्तुलित नभए स्वास्थ्यमा के असर गर्छ ?
हाम्रो खानामा चाहिने भन्दा बढी मात्रामा कार्वोहाइड्रेट र फ्याट भए त्यो बोसोको रुपमा संचित हुन जान्छ । यसले मधुमेह, उच्च रक्ताचाप, हर्ट एट्याक, स्ट्रोक जस्ता गम्भीर रोगहरु निम्त्याउन सक्छ । साथै खानामा पौष्टिक तत्वको उचित मात्रा नपुगेमा कुपोषण लगायतका विभिन्न रोगहरुले सताउन सक्छ । झन् अहिलेको अवस्थामा खानपानमा ध्यान दिएनौं भने बिरामी हुँदा बिचल्लीमा पर्न सक्नुहुन्छ । यसै त कोरोनाका बिरामीले बेड पाइरहेको अवस्था छैन भने तपाईंको कसरी उपचार गर्न सक्छ ती अस्पतालले ? त्यसकारण सतर्क हुनुपर्छ ।

सन्तुलित भोजनको निम्ती विश्व स्वास्थ्य संगठनको ५ सुझावः
१.हामीले खाने क्यालोरी र खर्च गर्ने क्यालोरी दैनिक रुपमा समान हुन जरुरी छ । जति खान्छौ, त्यसलाई श्रम गरेर खर्च गर्नाले तौल नियन्त्रण गर्छ ।
२.फ्याटको मात्रालाई सकेसम्म कम सेवन गर्नुपर्छ । वनस्पती श्रोत फ्याट शरीरलाई लाभदायिक हुन्छ ।
३.फलफुल, तरकारी, गेडागुडी र फाइबर युक्त खाना सकेसम्म बढी सेवन गर्नुपर्छ ।
४.नुनको सेवन दैनिक ५ ग्राम भन्दा कम गर्नु फाइदाजनक हुन्छ । 
५.फोहोर र किटाणुले संक्रमण गरेको खानेकुरा सेवन गर्नुहुँदैन ।

Last modified on 2021-05-14 09:58:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts