ओम समाजको कोभिड–१९ विरुद्ध मेची–महाकाली मनोसामाजिक परामर्श अभियान सम्पन्न



Download our app to get more features

काठमाडौं, ३१ जेठ । ओम समाज डेन्टल अस्पतालको रामेछाप–ओखलढुङ्गा–सोलुखुम्बु–सिन्धुली–महोत्तरी हुँदै सिराहासम्म कोभिड १९ विरुद्धको मनोसामाजीक परामर्श अभियान सम्पन्न गरेको छ ।

अस्पतालले एउटा एम्बुलेन्स मार्फत सुरु भएको कोभिड १९ विरुद्धको २४ सै घण्टा निःशुल्क एम्बुलेन्स) सेवा अभियानले विस्तारित रूप लिँदै हाल विभिन्न स्थानीय निकाय र संघ संस्थाको समन्वयमा १७ वटा निःशुल्क एम्बुलेन्स सेवा, विभिन्न ठाउँमा निःशुल्क बेड, खाना र अक्सिजन सहितको आइसोलेसन÷एकान्तवास सेन्टर निर्माण र सञ्चालनमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । 

काठमाडौँ उपत्यकाबाट सुरु भएको अभियानले मेची– महाकाली मनोसामाजिक परामर्श अभियान मार्फत राष्ट्रिय रूप लिएको छ । 

मेची–महाकाली मनोसामाजिक परामर्श अभियान २०७८ जेठ २१ गतेबाट सुरु २८ सम्म सञ्चालन भएको हो । 

कोभिड संक्रमित बिरामीले गर्नुपर्ने व्यवहार, परिवार वा छरछिमेकमा संक्रमित भएका व्यक्तिले गर्नुपर्ने व्यवहार, संक्रमित नभएका व्यक्तिले ध्यान पुर्याउनुपर्ने व्यवहार,जनप्रतिनिधि र स्वास्थ्यकर्मीले ध्यान दिनपर्ने व्यवहार तथा स्वास्थ्यकर्मीप्रति गरिनुपर्ने व्यवहारका बारेमा मनोसामाजिक परामर्श दिने उद्देश्यले अभियानको सरुवात गरिएको हो ।

अस्पतालका प्रमुख डा. सुवास घिमिरेको नेतृत्वमा शिक्षाविद् कर्णबहादुर शाही, अभिनेता निखिल उप्रेती, समाजसेवी दिनेशकुमार मगर, समाजसेवी शोभा गुरुङ सहितको पाँच सदस्यीय टोलीले रामेछाप, ओखलढुङ्गा, सिन्धुली, बर्दीबास (महोत्तरी), लाहान (सिराहा) आदि स्थानमा साताव्यापी मनोसामाजिक परामर्श अभियान सञ्चालन पूरा गर्न सफल भएको बताइएको छ ।  

परामर्श दिने क्रममा डा.सुवास घिमिरेले रोगको सम्बन्धमा गहन बुझाइ हुनुपर्ने, रोगको बारेमा राम्रोसँग बुझ्न सकिएमा आइसियू र भेन्टिलेटरमा राख्ने अवस्था सिर्जना नहुने भन्दै समयमा सजगता राख्ने तरिका र उपचार पद्धतिका बारेमा परामर्श दिएका थिए ।

यस्तै अभिनेता निखिल उप्रेतीले कोभिडको कारण सामाजिक दूरी कायम गर्ने क्रममा भावानात्मक दूरी टाढा नबनोस् भन्ने ख्याल गर्नु जरुरी रहेको बताए । 

यस्तै शिक्षाविद् कर्णबहादुर शाहीले विद्यार्थीको मनस्थितिमा परेको प्रभाव र त्यसमा अभिभावकले ध्यानदिन पर्ने विषयमा परामर्श दिएका थिए । उनले कोभिडले शैक्षिक संस्था, विद्यार्थी र  अभिभावकलाई कसरी असर परेको छ र त्यसको समाधान मिलेर कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि बताएका थिए ।
 
अभियानको अर्को चरणको ‘मेची–महाकाली मनोसामाजिक परामर्श कार्यक्रम’ असारको पहिलो हप्ताबाट डा.सुवास घिमिरेको नेतृत्वमा गाईघाट (कटारी) बाट मेची हुँदै महाकालीतर्फ लाग्ने बताइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts