कालोपोतोको समस्याले हैरान हुनुहुन्छ भने यी आयुर्वेदिक उपाय अपनाउनुहोस्



Download our app to get more features

अनुहार सुन्दर र आकर्षक हुँदा हुँदै कहिलेकाहीँ कसैकसैलाई कालोपोतो आइदिन सक्छ । गर्मी या चिसो मौसमा मात्रै यस्तो समस्या आउन सक्छ भन्ने हुँदैन । कतिपय महिलालाई गर्भावस्थापनि कालोपोतो आउने र त्यो लामो समयसम्म नजान पनि सक्छ ।
 
अनुहारमा कालोपोतो आइदिँदा अनुहार नै नराम्रो देखिन सक्ने र त्यसले मानसिक समस्या पनि पर्न सक्छ । गाला, आँखाको छेउछाउमा देखिने कालो पोतो जसलाई कतिपयले (चायाँ)  भनेर पनि बुझ्ने गर्छन् त्यसले महिलाहरुको आत्मविश्वास पनि कमजोर बनाइदिन सक्छ । 

घरमै बसेको बेला वा सामान्य अवस्थामा पनि महिलाहरुले कालोपोतोबाट जोगिन अनेक उपाय अपनाउने गर्छन् । चिकित्सकीय पूर्जाबिनै पाइने, कालो पोतो हटाउने दावी गरिएका उत्पादनहरु मेडिकलमा गएर किनेर प्रयो गर्ने अनि पछिल्लो समय युट्यूबमा देखाइने उपायहरु पनि अपनाउने क्रम बढेको देखिन्छ । तर, अनुहारले पहिलेको चमक पाउनुको साटो समस्या झन् बढ्ने हुन्छ ।

विशेषज्ञहरुका अनुसार, कालो पोतो बाहिरी उपचारले मात्रै जाँदैन । प्रभावित छाला मात्र नभएर समस्या उत्पन्न गर्ने अन्य कारकको उपचारसमेत आवश्यक हुन्छ । कहिलेकाहीँ कुनै उपचार नगरे पनि आफैं हट्दैसमेत जान्छ । अनुहार आफैं सफा हुँदै आउँछ । ‘हाम्रो मुलुकमा यो समस्या देखिनेहरुमध्ये करिब तीन चौथाइ महिला र एक चौथाइ पुरुष छन,’ डा. रामदेव यादव भन्छन्, ‘यसमा अन्य छाला रोगमा जस्तो चिलाउने, पोल्ने, दुख्ने नगर्नाले सुरुसुरुमा त्यति वास्ता पनि हुँदैन ।’ 

आयुर्वेदका अनुसार, पित्त बढेर रगत दूषित भई अनुहारमा कालो पोतो देखिन्छ । पेटको समस्या, हार्मोनको असन्तुलन, कस्मेटिकको अत्याधिक उपयोग, खानपिनमा असन्तुलन, अमिलो पदार्थको अत्याधिक उपयोगले समेत यस्तो हुन सक्छ । अनिद्राको सिकार भएकाहरुमा समेत यो समस्या देखिन सक्छ । यति मात्र नभएर, कसैकसैलाई सूर्यको प्रकाशको एलर्जीका कारण पनि कालो पोतो हुने गरेको छ । कालो पोतोले शारीरिक रुपमा असर नपारे पनि मानसिक रुपमा अति दुःख दिने गर्छ ।

हटाउन के गर्ने ? 
कालो पोतो भएकाले घरमै जडिबुटीबाट औषधि बनाई अनुहारमा लगाउँदा फाइदा हुन्छ । छालाको विकृतिलाई बाहिरबाट हटाउने उपाय हो यो । यसअन्तर्गत लोध्र र मञ्जिष्ठा समान भाग तथा चन्दन एवं हरिद्रा एक चौथाई भाग मिलाई पाउडर बनाउनुपर्छ । डा. यादवका अनुसार, यो पाउडरलाई गुलाब जलमा मिसाएर पेस्ट बनाई अनुहारमा लगाउनुपर्छ । अनुहारमा कम्तीमा एक घन्टासम्म राखेपछि सफा पानीले धोए हुन्छ । 

यस्तै, कालो पोतो रगत दू्षित भएर हुने भएकाले आयुर्वेदले यसको उपचारमा रगत शुद्धिकरणलाई समेत विशेष महत्व दिन्छ । रगत शुद्धिकरणका लागि महामञ्जिष्ठारिष्ट १५ मिलिमिटरलाई १५ मिलिमिटर पानीमा मिसाएर बिहानबेलुका खाना खाएपछि खानुपर्ने डा. यादव बताउँछन् ।

रगत शुद्धिकरण र पित्तदोष दुवै शमन गर्नका लागि गन्धक रसायन पाँच सय मिलिग्राम, गिलोय सत्व पाँच सय मिलिग्राम, आरोग्यवर्धिनी वटी दुई सय पचास मिलिग्राम, लोध्र चूर्ण एक ग्रामको मिश्रण बनाई बिहानबेलुका खाना खानुअघि एकएक चम्चा मनतातो पानीसँग खानुपर्ने डा. यादवको सुझाव छ । 

Last modified on 2021-07-02 10:58:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts