चिन्ताले यस्ता समस्या निम्त्याउन सक्छ 



Download our app to get more features

काठमाडौं, २१ असार । प्रत्येक व्यक्तिमा कुनै न कुनै तनाव हुने गर्छ, जसलाई सामान्य मानिन्छ । तर, तनाव व्यवस्थापन गर्न नसक्दा ‘क्रोनिक एन्जाइटी’ हुन सक्छ, जसले मानसिक स्वास्थ्यमा असर पार्नुका साथै शरीरमा समस्या निम्त्याउने गर्छ । सामान्यतः चिन्ताले श्वासप्रश्वासको दर र मुटुको धड्कन बढाउँछ । जसले बिस्तारै दिमागमा हुने रक्तप्रवाहमा प्रभाव पार्न थाल्छ । तनाव बढ्दै जाँदा शारीरिक लक्षणहरू देखापर्न थाल्छन् । सामान्य खालको तनावले टाउको दुख्नेजस्ता लक्षण देखिन सक्छन्, तनावका असरहरू व्यक्तिपिच्छे फरक हुन सक्छन् । तनाव सबै उमेर समूहले भोगिरहेका हुन्छन्, तर युवा वयस्कमा तनावले बढी असर गरिरहेको पाइन्छ । 
डिप्रेसन निम्त्याउँछ

चिन्ता र तनाव कम गर्न अथवा व्यवस्थापन गर्न सकिएन भने यसले डिप्रेसन र साथै अन्य कडा खालका मानसिक रोग निम्त्याउँछ।

रोग लगाउँछ

चिन्ता र तनाव लिने व्यक्तिमा उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी रहेको विभिन्न अनुसन्धानले देखाएका छन्।

यौनजीवन बिगार्छ

तनाव र चिन्ताका कारण शरीरभित्र उत्पन्न हुने रसायनले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज गरिदिन्छ, जसले गर्दा व्यक्ति यौनप्रति कम इच्छुक हुँदै जान्छ। चिन्ता लिने व्यक्तिको शरीरमा सेक्स हार्मोन टेस्टोस्टेरोनको मात्रा कम हुन्छ।

कपाल झर्छ

चिन्ता लिँदा शरीरमा कोर्टिसोल नाम गरेको हार्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्छ।

दाँत बिगार्छ

चिन्ता बढी लिने व्यक्तिमा दाँत खिइने, गिजामा समस्या उत्पन्न हुने देखिएको छ।

मुटु कमजोर बनाउँछ

चिन्ता लिँदा मुटुका मांसपेशी कमजोर हुन्छन्। स्टेस हार्मोनले मुटुको धड्कन बढाउने र नसा संकुचित गरेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ। यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम बढी हुन्छ।

बूढो बनाउँछ

सधै चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुन्छ, जसले गर्दा व्यक्ति चाँडै बूढो देखिन्छ। छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुनेजस्ता बुढ्यौलीका संकेत चाँडै देखा पर्छन्।

रोगप्रतिरोधी क्षमता घटाउँछ

चिन्ता लिइरहने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता घट्न जान्छ, जसले गर्दा त्यस्ता व्यक्तिलाई रुघाखोकी, ज्वरोजस्ता रोग लागिरहन्छन्।

जिनमा असर गर्छ

चिन्ता लिनाले मानिसको जिनमै बदलाव आउँछ। शरीरमा कति बोसो लाग्ने, रोगप्रतिरोधी क्षमता कस्तो हुने, बुढ्यौली कहिले सुरु हुने, क्यान्सर लाग्ने कि नलाग्ने भन्ने कुरा जिनले धेरै हदसम्म निर्धारण गर्ने गर्छ। चिन्ता लिने व्यक्तिको जिन यी स्वास्थ्य समस्या निम्त्याउने किसिमले ‘मोडिफाइड’ हुँदै जान्छ।

दिमागमा असर गर्छ

चिन्ताले दिमागमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ। परिणामतः व्यक्तिको स्मरणशक्ति घट्छ।

शरीरमा विकार बढाउँछ

चिन्ता लिँदा बोसो र चिनीयुक्त खानाप्रति आसक्ति बढ्न जान्छ, जसले शरीरमा विकार निरन्तर सञ्चय गर्दै लान्छ र शरीर विभिन्न रोगको घर बन्न पुग्छ।

जीउ दुख्छ

चिन्ता र तनाव लिइरहने व्यक्तिको हड्डीमा खनिजकोे मात्रा घट्न जान्छ। निरन्तर चिन्ता लिने व्यक्ति जीउ दुख्ने समस्याबाट आक्रान्त हुँदै जान्छ।
 

Last modified on 2021-07-06 07:25:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts