शरीरलाई स्वस्थ र स्फूर्त राख्न अपनाउनुहोस् यस्ता बानी



Download our app to get more features

मानिसको शरीर तथा मस्तिष्क स्वस्थ र स्फूर्त राख्न जीवनशैलीको महत्वपूर्ण भूमिका हुन्छ । हामीले बच्चैदेखि अपनाउँदै आएका कतिपय बानीले शरीरलाई हानि पु¥याइरहेको हुन्छ । अन्जानमा गरिने कतिपय क्रियाकलाप तथा परिकार सेवनले स्वास्थ्यलाई असर पु¥याउन सक्छ । शरीरलाई स्वस्थ र सुन्दर बनाइराख्न हामीले जीवनशैलीमा धेरै सुधार गर्नुपर्ने हुन्छ । 

पछिल्लो डेढ वर्षभन्दा बढीदेखि कोरोना महामारीका कारण सबै जना घरमै छन् । यो समयमा मिठोमिठो पकाउने, चिल्लो, तारेको, भुटेको जस्ता अनेक परिकार बनाएर खाने क्रम बढेको देखिन्छ । घरमै बस्ने, मर्निंग वाकमा जाने अवस्था नरहेको हुँदा पनि यस्ता खानपानलाई नियन्त्रणमा राखेर व्यायामलाई विशेष जोड दिनुपर्छ ।

सुधार गर्नुपर्ने केही बानीबारे कन्सल्टेन्ट आयुर्वेदविज्ञ डा.सबरी साह यसो भन्छन् :

♦  शारीरिक व्यायाम या कडा परिश्रमलगत्तै खाना खाने बानी राम्रो होइन । यसले स्वास्थ्यमा असर पु¥याउन सक्छ । त्यसैले शरीरको सरसफाइ गरिसकेर मात्रै खाना खाने बानी गर्नुपर्छ ।

♦  खाना खाँदा जहिले पनि एक–अर्काको विरोधी परिकारबाट जोगिनुपर्छ । जस्तै ः दूधसँग माछा खानु हुँदैन । त्यस्तै दही, मही तताएर खानु हुँदैन । कालो दाल र चनाको तरकारी एकैपटक सेवन नगर्ने । चनाको दाल, पापड, परौठा पनि सँगै खाँदा स्वास्थ्यमा हानि हुन सक्छ ।

♦  बिहान उठेपछि न्यूनतम एक घण्टा शारीरिक व्यायाम गर्नुपर्छ । यसले मानिसको शरीरलाई चलायमान बनाउँछ । जसले गर्दा दिनभर शरिर स्वस्थ र स्फूर्त हुन्छ ।

♦  व्यस्त जीवनशैलीमा धेरै मानिस हरेक समय हतारमा हुने गर्छन् । तर, सकेसम्म हरेक दिन मानिसले शारीरिक व्यायाम गरिसकेपछि नुहाउनु राम्रो मानिन्छ । अहिलेको समयमा त अधिकांश कार्यालयहरु बन्द हुँदा र विद्यालयहरु बन्द हुँदा घरका सबैजना घरमै बसेको बेला योग गर्नुपर्छ ।

♦  समयसापेक्ष स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्छ । हल्का मनतातो पानीले शरीर नुहाएको खण्डमा शरीर सुन्दर बन्नुका साथै त्यहाँको फोहोर बाहिर निस्कन्छ ।

♦  हामी रातको समयमा दहीसँग खाना खाने गछौँ । यस्तो भूलेर पनि गर्नु हुँदैन । साँझको समयमा खाना खाएर कम्तीमा पनि दुई सय पाइला हिँड्ने बानी बसाल्नुपर्छ । घरमैपनि खाली ठाउँमा हिँड्ने बानी बसाल्नुपर्छ । कोरोनाको जोखिम हुँदा घर बाहिरै गएर हिँड्नु पर्छ भन्ने हुँदैन ।

♦  धेरैको बानी हुन्छ, रातमा ढिलो सुत्ने । अहिलेको समयमा ढिलोमा ९ बजे सुतिसक्नुपर्छ । यस्तो बानीले शरीर तथा दिमागलाई पनि स्फूर्त राख्छ ।

♦  हामी खानपानमा खासै वास्ता गर्दैनौँ । जे जस्तो पाएको खाएर काममा लाग्ने हाम्रो जीवनशैली नै बनिसकेको छ । आयुर्वेदिक पद्धतीमा खाना राम्ररी पाकेको, ओजनदार नभएका तथा सहज रुपमा पच्ने हुनुपर्छ । जीवनशैली राम्रो नभएकै कारण पनि विभिन्न रोगले आक्रमण गर्ने हुँदा त्यसलाई सुधार्नुपर्छ ।

♦ मौसमअनुसार खानेकुराको प्रयोग गर्न पनि जान्नुपर्छ । जाडो समयमा खाएको कुरा चाँडै पच्छ । गर्मीमा अलि ढिलो पच्ने गर्छ । त्यस्तै, खानाको प्रकृतिअनुसार ढिलो गरी पच्ने खानेकुरा छ भने हल्का खानुपर्छ । यदि पच्ने परिकार छ भने केही गाँस बढी खाएपनि स्वास्थ्यमा कुनै असर गर्दैन । झन् अहिलेको समयमा घरमै सबैजना बस्ने हुँदा र कोरोनाको जोखिमले घरभन्दा बाहिर जान पाउने अवस्था नरहेकाले पनि घरमै व्यायाम गर्नुपर्छ ।

♦  हामीले बिहान उठ्ने बेलादेखि सुत्ने बेलासम्म गतिविधिलाई ध्यान दिनुपर्ने हुन्छ । गर्मी मौसममा बिहान सूर्योदयभन्दा पहिले उठ्ने, व्यायाम गर्ने ध्यान गर्ने गर्नुपर्छ । आलसपनालाई हटाएर शरीरलाई स्वस्थ र फुर्तिलो बनाउनेमा ध्यान दिनुपर्छ । यस्तै जाडो मौसममा हामी सिरकभित्र बसिरहने, दिसा–पिसाब आएको खण्डमा पनि चिसो छ भनेर रोकेर राखिरहने गर्छौँ । यसले मानिसको तल्लो पेट दुख्ने, अण्डकोष दुख्ने, पाद आउनेजस्ता समस्या देखिन जान्छ । त्यसैले सूर्य उदाउनुभन्दा अगाडी उठ्ने बानीको विकास गर्नुपर्छ । 

♦  धेरै मानिसको बानी हुन्छ, खाना खानेवित्तिकै सुतने । खाना खाएपछि केही समय हिँड्नुपर्छ । अर्को मुख्य विषय भनेको खाना खानेबित्तिकै पानी खानु हुँदैन । कम्तीमा पनि खाना आएको ३० मिनेटपछि एक–एक गिलास गर्दै खानुपर्छ । एकै पटक धेरै पानी खानुले पनि शरीरका लागि हानिकारक हुन्छ ।

♦  रातिको खाना सूर्य अस्ताएको दुई घण्टाभित्रमा खानुपर्छ । बिहान र दिउँसोको भन्दा रातिको खाना हलुका भएमा शरीरलाई फाइदा गर्छ ।

Last modified on 2021-07-09 15:02:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts